0
गोल्डेन न्यूज संवाददाता
स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल, नेपालको पोखरामा शनिबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले तारामाया थापा मगरको संयोजकत्वमा नयाँ नेतृत्व चयन गरेको छ । सञ्जालको पहिलो साधारणसभाले नै सर्वसम्मत रुपमा महिलालाई नेतृत्व प्रदान गर्दै अन्य सदस्य चयन गरेको हो । सहसंयोजकमा धिरज थापा, प्रवक्तामा सम्मरबहादुर श्रेष्ठ, सह–प्रवक्तामा रञ्जन अधिकारी क्षत्री र अर्थ संयोजकमा पवित्रा जिसीलाई चयन गरेको छ ।
 
अन्य सदस्यहरु संयोजकले आवश्यकता अनुसार चयन गर्ने सञ्जालले बताएको छ । सञ्जालले तराई मधेशमा एक सय दिन बढि समयदेखि चलेको आन्दोलन हिंसात्मक बन्दै गएको ठहर गर्दै तत्काल आन्दोलनरत पक्षलाई वार्तामा आउन र सरकारले पनि वार्ता संवादमार्फत नै समस्या हल गर्नुपर्ने ठहर गरेको छ । मधेशीका मागको नाममा भारतले गरेको अघोषित नाकाबन्दीले नागरिक खान पाउने अधिकारबाट समेत वञ्चित हुने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सञ्जालले औषधि, ईन्धन जस्तो अत्यावश्यक वस्तुमा अवरोध नगर्न पनि आग्रह गरेको छ । मानवअधिकार पक्षको समेत ख्याल राख्दै नाकामा अवरोध गर्नुजस्तो कानुनतः दण्डनीय क्रियाकलाप नगर्न पनि अनुरोध गरेको छ । साधारणसभाको अवसरमा बोल्ने वक्ताहरुले विपन्न, अल्पसंख्यक, दलितहरुको समग्र पक्षको उन्नतिका लागि नेपाल पक्ष रहेका मानवअधिकार सम्बन्धी अभिसन्धीहरुको कार्यान्वयन गर्नुपर्ने सबैको जिम्मेवारी रहेको बताउँदै अधिकारकर्मीको झनै ठूलो भूमिका रहने बताए । संक्रमणकाल लम्बिएको, विधिको शासन कागजी रुपमा सीमित र दण्डहिनता मौलाईरहेको हाम्रो जस्तो समाजमा मानवअधिकार रक्षा गर्नु आफैंमा चुनौतिपूर्ण कार्य रहेकाले मानवअधिकार उल्लंघनका घटनामा पनि खासै कमी आउन नसकेको उनीहरुको भनाई छ ।
 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराकी निमित्त निर्देशक सम्झना शर्माले तराई मधेशमा जारी आन्दोलन र त्यसपछि भएको नाकाबन्दीले नागरिकहरु मानव अधिकारको सामान्य सिद्धान्तबाट समेत बञ्चित हुनुपरेको उल्लेख गरिन् । मानवअधिकारको रक्षाका सवालमा चुनौति खडा हुँदै गएको उल्लेख गर्दै उनले नागरिकको आधारभुत आवश्यकता पुरा हुनुपर्ने अधिकार, बाल अधिकार, महिला अधिकार लगायतका सवालमा सबै एकजुट भएर अघि बढ्नुपर्ने खाँचो समेत औंल्याईन् । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले मानव अधिकारवादीको खोल ओढेर राजनीति गर्ने परिपाटी समेत रहेको गुनासो सुनिदैं आएकाले यसतर्फ सचेत बन्दै मानवअधिकारको सिद्धान्त अवलम्बन गरी अघि बढ्न सुझाव दिए । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, कास्कीका संस्थापक लेखबहादुर थापाले वर्षौंअघि मानवअधिकार सम्बन्धमा बोल्न समेत मान्छे नपाउने अवस्थामा अहिले यस विषयमा सबै गम्भीर भएकोमा खुशी व्यक्त गरे ।
 
नेपाल मानवअधिकार संगठन पश्चिमाञ्चल संयोजक नरेन्द्र बास्तोलाले मधेशी मोर्चाको आन्दोलन मुलुक नै असफल पार्न तबरले भईरहेको टिप्पणी गर्दै नाकामा बसेर एम्बुलेन्स जलाउने, यात्रुबाहक बसमा ढुंगा प्रहार गर्ने, औषधि गाडीमा आगजनी गर्ने जस्तो मानवअधिकार विरुद्धको हर्कतको जति आलोचना गरेपनि कम हुने बताए । संविधान सूचना केन्द्र पोखराकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष सरिता थापा, कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल समूह ५४ का संयोजक नवीन बराल, सञ्चारिका समूह पश्चिमाञ्चल संयोजक जमुना शर्मा वर्षा, मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष पार्वती पौडेल लगायतले आन्दोलन गर्दा मानवअधिकार पक्षमा ख्याल गर्न सचेत गराएका थिए । यस्तै, सञ्जालमा महिला नेतृत्व स्थापित गरेर लैंगिक समानताको पक्षमा उभिएकोमा समेत उनीहरुले आभार व्यक्त गरे ।
 
कार्यक्रमको अध्यक्षता सञ्जालका संयोजक रामबहादुर पौडेलले गरेका थिए । सहभागीलाई स्वागत गर्दै उनले विदेशी पैसा कहिल्यै नलिने गरी सञ्जालले स्वखर्चमा कार्यक्रमहरु सञ्चालन गर्ने र मानवअधिकारको पक्षमा सधैं लागिरहने बताए । कार्यक्रमको सञ्चालन प्रवक्ता धिरज थापाले गरेका थिए । अर्थ संयोजक सम्मरबहादुर श्रेष्ठले वार्षिक आर्थिक हिसाबकिताव सार्वजनिक गरे ।


Post a Comment

 
Top