0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरी गाउँ विकास समितिले चालु बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । युवा आवाज नामक संस्थाको समन्वयमा गाविस र मातहतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सेवा प्रवाह, पारदर्शिता र जवाफदेहिता सम्बन्धी छलफल गर्नका लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा गाविसले चालू आर्थिक बर्ष २०७२÷०७३ मा संचालन गरेका विकास निर्माण र प्रदान गरिएका सेवा प्रवाह, विभिन्न सरकारी तथा गैर सरकारी निकायका काम कारबाहीका बिषयमा छलफल गरिएको थियो । 
कार्यक्रमका सहभागीहरुले गाउँ विकास समितिले स्थानीयसँग छलफल नगरी योजना छनौट गर्ने गरेको र छनौट भएका योजना तथा बिनियोजित बजेटका विषयमा जानकारी दिन नसकेको गुनासो गरेका छन् । यस्तै गैसस सँग समन्वय नभएको तथा महिला तर्फको बजेटमा टाठाबाठाले मात्रै बाँडफाँड गर्ने गरेको उनीहरुको गुनासो छ । गाविसमा कुन कुन गैससले काम गरिरहेका छन् हामीलाई जानकारी नै छैन, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष केदारनाथ अधिकारी भन्छन्–कार्यक्रम सकिएपछि अतिथि भनेर बोलाउँछन्, गाविससँग समन्वय नै छैन । गैससहरुको अनुगमन नहुँदा आफुँखुशी काम गर्ने गरेको उनको भनाई छ । परिषदका बेला कसैले योजना र कार्यक्रम पेश गर्दैनन्, एमाओबादी अध्यक्ष गाविन्द प्रसाद अधिकारीले भने–त्यसैले योजनामा समेत दोहोरोपनाको समस्या आईरहेको छ ।
अर्का स्थानीय महेश्वर पौडेलले भने राजनीतिक दलको एकपक्षिय निर्णयले योजनामा समस्या भएको बताए । दलका नेताहरुले हामीलाई पनि जानकारी नदिईकन योजना बनाउँछन्, उनले भने–काम सकिन लाग्दा मात्रै हामीले थाहा पाउँछौं । गाविस सचिव स्थानेश्वर ढुंगानाले आगामी दिनदेखि बस्तीस्तरबाट आएका योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । आगामी बर्षका लागि परिषद् हुने संघारमा छौं, ढुंगाना भन्छन्–लक्षित समुदायबाटै माग भएका योजनाहरु समेटिनेछन्, पहुँचका आधारमा योजना पार्ने काम हुँदैन । पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरुले सम्बन्धित सरकारी निकायका कर्मचारीहरुबाट सहज सेवा पाउन नसकेको, परिषद्का योजनाहरु रकमान्तर गरिएको, योजनाको प्रभावकारी अनुगमन नभएको लगाएतका गुनासो समेत गरेका थिए । गुनासोको सुनुवाई गर्दै गाविस सचिव ढुंगानाले तत्काल अनुगमन समिति गठन गरी अनुगमन कार्यलाई तीब्रता दिने बताए ।
कार्यक्रममा गाविस स्तरीय राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले पनि गाविसले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका लागि आ–आफ्नो पार्टीले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । गाविस पारदशी हुनुपर्छ, उनीहरुले भने–त्यसमा हाम्रो भूमिका महत्वपूर्ण हुन्छ, आफ्नो भूमिका पूरा गर्न हामी तत्पर छौं । योजना छनौटका बिषयमा पनि आँफुहरुले कुनै दवाव नदिने उनीहरुको प्रतिबद्धता छ ।









Post a Comment

 
Top