0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले छिमेकीको कुरा नसुनी संविधान जारी गरेर नेपालले दक्षिणलाई चिढ्याएको स्वीकारेका छन् । नेपाली काँग्रेस कास्कीले ‘कस्तो बन्यो संविधान, एकताको अभियान’ मूलनाराका साथ बिहीबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संविधान जारी गर्दा पहिलो पटक चिढ्याएको स्वीकार गर्दै अब फेरि चिढ्याउन नहुने बताए । उनले भने,–‘हो, हामीले संविधान जारी गर्दा भारतलाई पहिलोपटक चिढ्याएकै हो, तर अब मधेसको माग सम्बोधन गर्दा दोस्रोपटक चिढ्याउनु हुन्न ।’ उपसभापति पौडेलले कांग्रेसले ल्याएको संशोधन प्रस्ताव नै समस्याको समाधानको आधार हुने बताए ।
आन्दोलनरत मधेसी दलहरुले कांग्रेसको प्रस्तावबाट सन्तुष्ट नरहेको बताए पनि केही यताउता गरेरै भएपनि अन्ततः यहि प्रस्ताव नै समाधानको आधार हुने उनको दाबी थियो । व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गरेका छन् ।
उनले संविधान संशोधन प्रस्तावमा केही परिमार्जन गरेर अघि बढाएमा सहमति हुने सङ्केत मधेसी मोर्चाबाट आएकाले त्यसलाई संसद्बाट छिटो पास गराई मोर्चाको आन्दोलन र भारतको नाकाबन्दी अन्त्य गर्नुपर्ने बताए । “नयाँ संविधान लोकतन्त्र र समाजवाद लाई चरितार्थ गर्नसक्ने सन्तुलित र समावेशी खालको छ”, उनले भने–“संविधानले मधेसी, उत्पीडित, दलित र महिलालाई अधिकार सम्पन्न बनाएको सन्देश जनता माझ प्रचार गर्न नसक्दा असन्तुष्टिका आवाज निस्केका हुन् ।” उपसभापति पौडेलले नेपालमा अरू कसैले मान्छे मार्दा पनि चर्चा नहुने तर नेपाली काँग्रेस आँ गर्दा पनि हल्लाखल्ला हुने विचित्रको राजनीति हुने गरेको टिप्पणी गरे । पार्टीको आसन्न महाधिवेशनमा समयसापेक्ष चुनौतीलाई आत्मसात् गर्ने खालको नेतृत्वलाई निर्वाचित गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्ता तहबाट नेतृत्वको मूल्याङ्कन गर्ने अवस्था आएको बताए । नेपाली काँग्रेस र नेकपा (एमाले) दुई समदूरीका पार्टी भएको चर्चा गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धी पार्टीबीच एकापसमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गरे ।
अर्को प्रसङ्गमा नेता पौडेलले आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका पौडेलले कार्यकर्तालाई नेताको मूल्याङ्कन गर्न आग्रह गरे । उनले भने,–‘नेताले कार्यकर्ताको उचित मूल्याङ्कन गर्नुपर्छ, तर कांग्रेसमा त्यो हुनै छाडेको छ । त्यसैले कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्नुपर्छ, अनिमात्र सक्षम नेता नेतृत्वमा आएपछि कार्यकर्ताको पनि उचित मूल्याङ्कन हुन्छ ।’ उनले आफूलाई कुन कार्यकर्ता कस्तो हो भन्नेबारेमा सम्पूर्ण जानकारी भएको बताउँदै आफूले त्यसको मूल्याङ्कन गर्ने बताए । पौडेलले पार्टीमा विभाजनको रेखा अहिलेसम्म पनि कायम रहेको भन्दै यसलाई मेटाउन भागवण्डा अन्त्य गर्नुपर्नेमा जोड दिए । पार्टीलाई एकाकार गर्न सभापति पदमा आफ्नो उम्मेद्वारी आवश्यक रहेको घुमाउरो पारामा संकेत गर्दै उनले भने, ‘संस्थापन र देउवा पक्षलाई मिलाएर लैजान मेरो आवश्यक्ता छ ।’ नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले नेपालको नयाँ संविधान सामावेशिता लगायतका दृष्टिबाट उत्कृष्ट भएको बताए । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले जनजाति तथा युवाहरुलाई समेटेर अघि बढ्नुनै कांग्रेसको आगामी बाटो भएको बताए । कार्यक्रममा सोभियतबहादुर अधिकारी, सभासद्द्वय शारदा पौडेल र वृन्दादेवी राना, काँग्रेस पर्वतका सभापति लालाकाजी गुरुङ, भोजप्रसाद गुरुङलगायतले देशको जारी सङ्कटको समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए ।
यता, नेपाली काँग्रेसका पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव पारित भएमात्रै मुलुकभित्रको सङ्कट समाधान हुने दाबी गरेका छन् । नेका तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता बडूले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सोही प्रक्रियाबाट वर्तमान सरकार अगाडि बढ्न सक्नुपर्ने सुझाव पनि दिए ।  सरकारमा जानु काँग्रेसको प्राथमिकता नभएकाले आफूहरूले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बडूले बताए । उनले तमाम कार्यकर्तालाई संविधानका अन्तर्वस्तुबारे गाउँगाउँका जनतालाई जागरुक गराउनुपर्नेमा जोड दिए । नेका तनहुँका सभापति धु्रव वाग्लेले मुलुकभित्र देखिएको समस्या समाधान गर्न प्रतिपक्षमा रहेर पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।



Post a Comment

 
Top