0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालयको १६औं साधरण सभाको बैठक प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षता प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७२÷७३ को प्रस्तावित कार्यक्रम र बजेटलाई स्वीकृत गरेको छ । सभाले आर्थिक वर्ष २०७२÷७३ को लागि कुल ४९ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ । पारित बजेटमध्ये पूँजीगततर्फ १४ करोड १६ लाख ३८ हजार रुपैयाँ र साधारणतर्फ ३५ करोड ६३ लाख ६२ हजार रुपैयाँ छ । सभाको बैठकलाई सम्बोधन प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले शिक्षाका घोषित उद्देश्यलाई परिपूर्ति गर्ने गरी वर्तमान शिक्षा प्रणाली, पाठ्यक्रम, परीक्षाप्रणाली र व्यवस्थापनलाई नयाँ ढंगले लैजानुपर्नेमा जोड दिए ।
उनले शिक्षामा संचरनागत समस्या र पूर्वाधारका समस्यालाई व्यवस्थित गर्ने कार्यमा सरकारको पूर्ण समर्थन रहने बताए । तालाबन्दी लगाएर समस्या सुल्झिने होइन बल्झिन्छ भन्दै प्रधानमन्त्री ओलीले शिक्षण संस्थामा शैक्षिक गतिविधि बाहेक विपरित गतिविधि र व्यवधान हुने क्रियाकलाप रोक्नुपर्ने बताए । उनले विश्वविद्यालयलाई चलाउने स्टेकहोल्डरले नै हो भन्दै यसका लागि सबैको सामूहिक संकल्प र प्रतिबद्धता आवश्यक रहेको औल्याए ।
शिक्षामन्त्री तथा पोखरा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षामा युगान्तकारी परिवर्तन हुने किसिमले शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए। उनले शिक्षाको कार्यप्रणालीमा ध्यान दिंदै पठन–पाठनलाई अनुसन्धानमूलक बनाउनुपर्ने, अन्तर्राष्ट्रिय समकक्षता लैजानुपर्ने र उच्च शिक्षामा उठेका कुराहरूलाई सामान्यीकरण गरी देखिएका चुनौति र सम्भावनालाई यथेष्ट ढंगले विचार गर्नुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top