0
गोल्डेन न्यूज संवाददाता
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाका ६० प्रतिशत जग्गाधनीहरुले मुआब्जा बुझिसकेका छन् । विमानस्थल निर्माण समितिले निकालेको तीनपटक सम्मको सूचनामा करिब ४ सय जनाले मुआब्जा बुझेका हुन् । मुआब्जा सबैले नबुझेपनि सुरुमा देखिएका विवाद भने नरहेको आयोजनाका प्रमुख ईन्जिनियर प्रदिप अधिकारीले बताए । मुआब्जामा कुनै विवाद छैन, अधिकारी भन्छन्–अन्य विभिन्न कारणले रोकिएको हो, यो बर्ष्भित्र बुझाईसक्छौं । अधिकांश विदेशमा रहेकाले र केही जग्गाधनीहरुको बैंकमा देखिएको समस्याका कारण मुआब्जा बुझेका छैनन् । यस्तै केही जग्गाधनी भने अझै नावालक छन् । हाम्रो तर्फबाट कसैलाई पनि रोकेका छैनौं, उनले भने–जग्गाधनीकै कारण रोकिएको हो । अहिलेसम्म मुआब्जाका लागि मात्रै करिब १ अर्व ५० करोड रुपैयाँ बितरण भैसकेको छ ।
 
मुआब्जा रोकिएपनि अधिग्रहणमा परेको जग्गा भने नेपाल सरकारको नाममा नामसारी भैसकेको उनको भनाई छ । हामीले सूचना निकालेको १५ दिनसम्म कसैले लिखित असहमति सहितको निवेदन आए त्यसमा छलफल हुन्थ्यो, ईन्जिनियर अधिकारीले भने–तर कसैले विवाद गरेनन्, अब सबै जग्गा सरकारको स्वामित्वमा गैसक्यो । विमानस्थललाई जग्गा उपलब्ध गराएका जग्गाधनीहरुलाई मर्का नपर्ने गरी मुआब्जा उपलब्ध गराएको विमानस्थल निर्माण समितिले जनाएको छ । केही जग्गाधनीहरुले अहिलेसम्म मुआब्जाका लागि निवेदन समेत नदिएका पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाका ईञ्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।
 
मुआब्जाको रकम नबढ्ने भएकाले जतिसक्दो छिटो निवेदन दिन उनले आग्रह गरे । मुआब्जाका लागि निवेदन पेश नगरेकाको रकम भने नेपाल सरकारको सञ्चित कोषमा फिर्ता जाने उनले जानकारी दिए । अधिग्रहण गरिएको मध्ये ८० रोपनीको मुआब्जा बुझ्नका लागि मुआब्जा वितरण समितिले गत बर्षको मंसिर १५ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो । त्यसपछि बाँकी रहेका ५४८ रोपनी जग्गाको मुआब्जाका लागि लगातार २ पटकसम्म सूचना जारी गरिएको थियो । अब जतिसक्दो छिटो मुआब्जा वितरणको काम सक्ने र यसका लागि सबैले सहयोग गर्नका लागि मुआब्जा बितरण समितिले आग्रह समेत गरेको छ । सरकारले २०३१ सालमा विमानस्थल निर्माणका लागि ३१०६ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
तर अहिले जग्गा अपुग हुने भएपछि पुनः ६२९ रोपनी जग्गा अधिग्रहण गरेको हो ।
 
यसैबीच, पोखरा विमानस्थल निर्माणका बिषयमा सरकारले यही महिना चीनको एक्जिम बैंकसँग ऋणसम्झौता गर्ने तयारी गरेको श्रोतले जनाएको छ । निर्माण कम्पनी चीनको सिएएमसी कम्पनी र प्राधिकरणबीच गत जेठ ८ गते दुईपक्षीय सम्झौता भएपनि ऋणसम्झौता नभएका कारण अहिलेसम्म निर्माणको काम सुरु हुन सकेको छैन । विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । सरकारले पनि मुआब्जा वितरणका लागि चालू बर्षको बजेट भाषणमै समेटेको थियो । बिमानस्थल आगामी सन् २०१९ सम्म निर्माण गरिसक्ने तयारी गरिएको छ । तर विभिन्न समयमा हुँदै आएको अवरोधले विमानस्थल निर्माणमा अन्यौलता भने बढ्दै गएको एलए नेपाल डटकमले उल्लेख गरेको छ ।



Post a Comment

 
Top