0
गोल्डेन न्यूज संवाददाता
नेपाली कविताको मानक कविका रुपमा परिचित भूपी शेरचनको ८०औं जन्मजयन्ती मुलुकभर मनाउनेक्रम जारी छ । उनको सम्झना गर्न शनिवार पोखरामा पनि विशेष कार्यक्रम आयोजना भयो । उनको सम्झना गर्न आगामी पौष १० गते पनि विशेष कार्यक्रम गर्ने बताइन्छ । उनको सम्झना गर्न शनिबार पोखरेली युवा सांस्कृतिक परिवारले विशेष कवि गोष्ठी एवं कविता वाचन कार्यक्रम आयोजना गरेको थियो । गोष्ठीमा भूपीद्वारा रचित कविता पोखरामा क्रियाशील ६ जना कविहरुले वाचन गरे । उनको कविता सुन्न पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षामा दर्शक र श्रोताहरु खचाखच थिए । त्यस अवसरमा  कवि प्रकाश घिमिरे, ईश्वरमणि अधिकारी, जीवन सागर भण्डारी, सरस्वती प्रतिक्षा, मन क्षेत्री र दिनेश श्रेष्ठले कविता वाचन गरेका थिए । त्यस अवसरमा करिब २० जना कवि एवं कवयत्रीहरुले समय सान्दर्भिक कविता प्रस्तुत गरेका थिए । कविता प्रस्तुत गर्नेहरुमा सुमन लम्साल, सौगात पोखरेल, सुरज उपाध्याय, अमृत सुवेदी ‘गुराँस’, कल्पना चिलवाल, ऋतु अधिकारी, अल्पज्ञानी, शरण आँशु, लक्ष्मी थापा, कपिल अञ्जान, दुर्गाबहादुर शाह बाबा, इन्द्र राना, दीपक समिप, निष्प्रभ, सूर्य खड्का विखर्ची, रुपिन्द्र प्रभावी कटु, डा. वसन्त गौतम, डा. चैतन्य अधिकारी, प्रकट पगेनी शिव र तेजनाथ घिमिरे लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । 
वि.सं. १९९३ सालमा मुस्ताङ जिल्लामा जन्मिएका कवि शेरचनको ‘घुम्ने मेच माथि अन्धो मान्छे’, ‘नयाँ झयाउरे’, ‘निर्झर र भूपि शेरचनका कविता’ लगायतका कृतिहरु प्रकाशित छन् ।
भूपीको सम्झना गर्दै कवि तीर्थ श्रेष्ठले भूपि कवि मात्र होइनन्, शिक्षासेवी, खेलकूदकर्मी पनि रहेको बताए । उनले भूपीसंग आफूले भोगेका र विताएका पलहरु सम्झिए । उनले भने–‘भूपी पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलका संस्थापक सदस्य सचिव तथा क्रिकेटर समेत हुन् साथै उनी सर्बैभन्दा राम्रा पियक्कड पनि हुन् ।’ भूपीको धेरै कुरा उत्खनन गर्न बाँकी रहेको  भन्दै उनले राज्यले भूपीलाई जुन सम्मान दिनु पर्ने हो सो नदिएकोमा गुनासो गरे ।
कार्यक्रममा बोल्दै पाखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारको पोखरालाई साहित्यिक राजधानीको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने बताए । उनले आफू साहित्यकार नभएपनि साहित्यमा राम्रो रुचि रहेको स्पष्ट पारे । आगामी नगर परिषदमा साहित्य सम्बन्धी विशेष प्रस्ताव समेत लिएर आउने उनले स्पष्ट पारे ।  पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा  कार्यक्रम संयोजक एवं साहित्य संयोजक प्रकाश ज्ञवाली, सचिव अर्जुन अधिकारीले पनि बोलेका थिए ।


Post a Comment

 
Top