0
गोल्डेन न्यूज संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगले जनताको अपेक्षा अनुसार राजनीतिक व्यक्ति र उच्च प्रशासकहरुमाथि अनुसन्धान सुरु गरेको भन्दै कुनै पनि हालतमा अनुसन्धान नरोक्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोगले बुधबार आफ्नै परिसरमा गरेको कार्यक्रममा प्रमुख आयुक्त कार्कीले आयोग कसैको दवाबसामु नझुक्ने पनि बताए। आयोगले केही दिन पहिले एकीकृत नेकपा माओवादीका महासचिव कृष्ण बहादुर महरादेखि नेकपा एमालेका राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे लगायतका नेता तथा बहालवाला तीन जना सचिवसहित २९ जना भीआइपीलाई बयानका लागि पत्र काटेको थियो। त्यो पत्रको विषयलाई लिएर एमाले र एमाओवादीका नेताहरुले अख्तियारको आलोचना गर्दै आएका छन्। तर आयोगका प्रमुख आयुक्त कार्कीले भने आयोगले नेता तथा प्रशासकहरुले बुझाएको सम्पति विवरणलाई आधार मानेर विधिसम्मत रुपमा पत्र काटेको भन्दै आफूले जस्तोसुकै  चुनौतीको सामना गर्ने तर अनुसन्धान नरोक्ने बताए। उनले अख्तियारले ठूला माछालाई समाएन भनेर आलोचना गर्ने अनि राजनीतिक र उच्च प्रशासनिक तहको तस्विर हेर्न खोज्दा पनि आपत्ति जनाउने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रणमा सहयोग नपुग्ने बताए। उनले राजनीतिक र उच्च प्रशासकमाथिको छानविन अघि बढाउनका लागि  आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। उनले पद गुम्ला भनेर आफूले छानविन नरोक्ने बताए।

अख्तियारका प्रमुख आयुक्त कार्कीले राज्यकोषबाट सुविधा लिने र लिएका राजनीतिक व्यक्ति अख्तियारको क्षेत्राधिकारभित्र पर्ने भन्दै आयोगले राजनीतिक व्यक्तिलाई कानूनभन्दा माथिको ठानेर उन्मुक्ति नदिने बताए। उनले आयोगले पत्र काटेका सबैसँग बयान लिइ छानविन अगाडि बढाउने र भ्रष्टाचार गरेको देखिए मुद्दा चलाउने बताए। उनले आयोगले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने क्षेत्रमा भइरहेको भ्रष्टाचारलाई समेत सम्बद्ध निकायसँग समन्वय गरेर अनुगमन गर्ने बताए। निजी क्षेत्र तथा गैरसरकारी संस्थामा हुने भ्रष्टाचार अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन। प्रमुख आयुक्त कार्कीले कर र भ्याट छलीमा संलग्नहरूमाथि आयोगले निगरानी गरिरहेको भन्दै नेपाल राष्ट्र बैंक र अन्य सरोकारवाला निकायमार्फत छली र भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने बताए।
प्रमुख आयुक्त कार्कीले माओवादी  लडाकुका शिविरमा भएको भ्रष्टाचारलाई आयोगले अनुसन्धानको दायरामा ल्याउनेमा निश्चिन्त हुन पनि आग्रह गरे।

Post a Comment

 
Top