0
गोल्डेन न्यूज संवाददाता
लामो समयदेखि अवरुद्ध रहेको व्यवस्थापिका–संसद्को बैठक खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा लामो समयदेखि सदनमा जारी अवरोध खुलाउने विषयमा छलफल केन्द्रित रहेको थियो । तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण सदन अवरुद्ध हुँदै आएको छ । संयुक्त मधेसी मोर्चालाई पनि विश्वासमा लिएर सदन खुलाउने विषयमा छलफल भएको बताइएको छ । सभामुखका निजी सचिव सुरजकुमार दुराले प्रमुख दलका शीर्षनेताहरूबीच सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट नेता महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी थिए । काँग्रेस सभापति कोइराला राजधानीबाहिर रहनुभएकाले छलफलमा सहभागी हुन सकेनन् । अहिले प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चामा आवद्ध दलका नेताहरूबीच संसद भवन नयाँ बानेश्वरमा छलफल चलिरहेको छ । सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि छलफल जारी रहेका कारण सदनको कारवाही सुरु हुन सकेको छैन ।


Post a Comment

 
Top