0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बिरामीको सुविधालाई मध्यनजर गर्दै पेईङ क्लिनिक अर्थात विस्तारित अस्पताल सेवा सञ्चालनमा ल्याएको छ । यसअघि स्वास्थ्य उपचारका लागि पोखरा र छिमेकी जिल्लाबाट आउने नागरिकले बिहान सवेरै डाक्टरसंग जाँच गर्ने टिकट लिनका लागि समयमै लाईन बस्न नपुग्दा सेवाबाट बञ्चित हुदै आएका थिए । अस्पतालले टाढाबाट आउने बिरामीको समस्यालाई मध्यनजर गरि गत साउनदेखि नै यो सेवा संचालनमा ल्याएको हो । ओपिडीको समयपछि दिउसो २ बजे देखि ४ बजेसम्म ४ सय रुपैयाँ शुल्क लिएर रोग अनुसारको विशेषज्ञको ब्यवस्था गरि पेईङ क्लिनिक सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहतको अनुभूति गरेका छन् । टाढाबाट आउदा टिकट लिन लाइनमा वस्न नसकेका कारण तीन पटकसम्म अस्पतालको गेटसम्म पुगेर फर्केको पुम्दीका गुरुदत्त बरालले बताए । ‘ढाडको समस्याले थालापरे पछि तीन–तीन पटक अस्पताल पुग्दा समेत डाक्टरलाई देखाउन पाईएको थिईन, पैसा तिरेर भएपनि अनुभवी विशेषज्ञलाई देखाए’–बरालले भने ।
 
विगतमा अस्पतालले पेईङ क्लिनिक संचालन नगर्दा सर्वसाधारणहरु पोखरामा रहेका बिभिन्न निजी अस्पतालहरुमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य थिए । अत्याधुनिक उपकरण र भौतिक पूर्वाधारयुक्त पक्षे अस्पतालको २०१२ सालमा स्थापना गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले हरेक दिन दिउसो २ बजेदेखि ४ बजेसम्म निश्चित शुल्क लिएर चेकजाँच गर्ने ब्यवस्था मिलाएको छ । बिहानको जनरल ओपिडीमा टिकट काटेका बिरामीको जाँच सकेपछि दिउँसोबाट पेइङ क्लिनिक सञ्चालन हुने गरेको छ । बिहान टिकट लिन नसकेको वा लिन नभ्याएकाहरु लाई पेइङ क्लिनिक सेवातर्फ आकर्षित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए । पश्चिमाञ्चल क्षेत्रकै ठूलो अस्पताल भएरपनि देशका बिभिन्न अस्पतालले बिरामीको आवश्यकता र चाहना अनुसार सेवा सञ्चालन गरिसक्दा समेत पक्षे अस्पतालमा सेवाग्राहीहरु को चाहना अनुसार विस्तारित अस्पताल सेवा सञ्चालन गर्न सकेको थिएन । मेडिकल सुपरिटेण्डेन्ट डा. श्रेष्ठले भने–‘सेवाग्राहीको आवस्यकता र चाहनालाई पुरागरि गुणस्तरीय सेवा प्रदान गर्न यो सेवा प्रदान गरिएकाले क्रमिक रुपमा सेवाग्राहीको आकर्षण बढ्दै जाने छ ।’
 
सरकारी चिकित्सकलाई बाहिरका क्लिनिकमा काम गर्न जाने कुरामा निरुत्साहित गर्न कार्यरत अस्पतालमै ‘पेइङ क्लिनिक’ खोल्ने सरकारको योजनो थियो । अस्पतालमा संचालिन क्लिनिकबाट चिकिसत्सककले टिकट शुल्कको ५० प्रतिशत रकम लिन पाउनेछन् भने २० प्रतिशत अस्पताल बिकास समिति र बाँकी ३० प्रतिशत कर्मचारी तथ प्रशासनलाई उपलब्ध गराईने ब्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको अस्पताल विस्तारित सेवासम्बन्धी कार्यविधिमा अस्पतालले बिहानको जनरल ओपिडीमा टिकट काटेका बिरामीको जाँच सकेपछि दिउँसोबाट पेइङ क्लिनिक सञ्चालन गर्ने व्यवस्था रहेको छ । क्लिनिकमा जाँच गर्न चाहनेबाट अस्पताललाई सरकारले तोकिदिएको शुल्क नबढ्ने गरी लिन सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ । सरकारले डाक्टरको अनुभव र योग्यताका आधारमा दुई सय ५० रुपैयाँदेखि चार सय ७५ रुपैयाँसम्म शुल्क लिन सक्ने व्यवस्था गरिदिएको छ ।








Post a Comment

 
Top