0
यतिबेला बजारमा नयाँ शक्तिको बहस चर्चाको शिखरमा छ । पुराना शक्तिको अकर्मण्यताका कारण नयाँ शक्तिको अपरिहार्य आवश्यकता बन्दै गएको सन्दर्भमा शुरु शुरुमा नया शक्तिको कटु आलोचक रहेका भए पनि विस्तारै पुराना शक्तिहरु पनि नया शक्तिको खाँचो तर पुरानैलाई नयाँ बनाउन सकिने अभिव्यक्तिसहित देखिन थालेका छन् । यसै शिलशिलामा नयाँ शक्तिको बहस र यसको औचित्यबारे संक्षेपमा चर्चा गर्ने जमर्को गरिएको छ ।

नेपाली राजनीतिको एउटा चक्र संविधानसभाबाट संविधान जारी भएपछि पूरा भयो, अब नयाँ यात्रा र गन्तव्यका लागि प्रारम्भ गर्नैपर्छ पुरानैमा टाँसिइरहने कुराले कसैको पनि हित गर्दैन । पुरानैमा टाँसिइहने भनेको या त आफैलाई ठग्नु हो या त फेरि पछाडि नै र्फकने हो । सार्वजनिक यातायात चढेर बसपार्क पुगिसेकपछि पनि त्यही बसिरहनु भनेको या त गाडीसँगै ग्यारेजमा जाने हो या त गाडी फेरि फर्केर पुरानै ठाउँमा पुग्ने हो ।नयाँ शक्ति भनेको अगाडि बढ्ने हो । नयाँ शक्तिले भनेझैं अगाडि नबढ्ने हो भने पछि र्फकने नै हो वा ग्यारेजमा नै थन्कने हो ।यतिबेलाका पुराना शक्तिहरु संविधान जारी भएपछि वा गन्तव्यमा पुगिसकेपछि पुनः नयाँ यात्रा प्रारम्भ गर्नुपर्नेमा त्यसो गर्न नसकी फेरि पञ्चायत र ज्ञानेन्द्र शासनका मुख्य सारथी कमल थापाजीको नेतृत्वमा फेरि ज्ञानेन्द्रकाल हुँदै पञ्चायततर्फ नै र्फकने जो हर्कत देखाएका छन्, त्यो प्रतिगमनको यात्रा हो भने नयाँ शक्ति भनेको अग्रगमनको यात्रा हो । यतिवेला विना कुनै हिच्चकिचाहट अग्रगमनको यात्राका लागि नयाँ शक्तिको आरम्भ गर्नुको कुनै विकल्प छैन । पुराना पार्टीहरु जे उद्देश्यका लागि गठन भएका थिए, मूलतः संविधानसभावाट संविधान भन्ने कुरा जसले गणतन्त्र संघीयता धर्म्निरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र सैद्धान्तिक रुपमा भए पनि प्राप्त भैसकेपछि अब ती उद्देश्य प्राप्त भए । अब नयाँ उद्देश्य प्राप्तिका लागि यात्रा तय गर्ने र तदनुकुलको पार्टी संगठन र संगठनको शैली निर्माण गर्ने यतिबेलाको खाँचो हो ।

पुराना पार्टी संगठन संरचना र नेतृत्वले गरेको कामलाई स्यालुट गर्दै आगामी कामका लागि नयाँ यात्राको थालनी आजको आवश्यकता बनेको हो । आजसम्मको आन्दोलनले राज्यका उपरीसंरचनामा प्राप्त गर्नुपर्ने विषयहरु प्राप्त भएका छन् राजनैतिक उपलब्धिहरु हासिल भएका छन् । अब प्राप्त राजनैतिक उपलब्धिलाई बचाउनका लागि आर्थिक उपलब्धी हासिल गर्नु अनिवार्यजस्तै बनेको छ । त्यसैले अबको क्रान्ति आर्थिक विकास र सुशासन हुनै पर्दछ । यसो गर्न सकिएन भने न त राजनैतिक उपलब्धि जागिने न त राजनैतिक उपलब्धि हासिल गर्न आन्दोनलनमा लाग्ने जनताको पंक्तिले आफ्नो जीवनमा परिवर्तन नआएसम्म त्यसको स्वामित्व ग्रहण गर्ने यो खतरावाट मुक्त हुनका लागि पनि आर्थिक उपलब्धीको यात्रा तय गर्नै पर्छ । यसको अगुवाइ पनि नयाँ शक्तिले नै गर्न सम्भव छ । पुराना शक्तिवाट सम्भव छैन ।
नेपाली राष्ट्रियताको पनि पुनः परिभाषा जरुरी भएको छ । हिजो पञ्चायतकालमा लोकतन्त्रका कुरा गर्दा भारतले देश खान्छ लोकतन्त्रका कुरै गर्न हुँदैन भनिन्थ्यो । पञ्चायत ढलेपछि पनि गणतन्त्रको कुरा गर्दा हैन, भारतले देश खान्छ त्यसैले गणतन्त्रका कुरा गर्न हुँदैन भनियो । आखिर पञ्चायत गयो, देश कहिँ गएन । राजतन्त्र पनि गयो देश कहिँ गएन । ठीक त्यसै गरी आज पनि आन्तरिक राष्ट्रियता र जनताको अधिकारका कुरा गर्दा देश भारतले खान्छ, विरोध गर्न हुँदैन भनेर फेरि पनि सत्ताधारी पार्टी र तिनका नेताहरु फलाकिरहेका छन् । तस्करी कालोवजारी पुरै सत्ता संरक्षित छ, तैपनि मानिस बोल्ने आँट गर्दैनन् । बोले भारतपरस्तको आरोप वा राष्ट्रियता खतरामा छ भनेर ढाकछोप गर्ने वाहनामा व्यस्त छन् मानिसहरु । पुरानै आदतको पुनरावृत्ति मात्रै भएको छ, नयाँ ढंगले सोच्ने तरिकामा बदलाव आएकै छैन । त्यसकारण पनि नयाँ शक्तिको खाँचो अपरिहार्य बन्न पुगेको छ । विद्यमान संरचनाका र पुराना संरचनाका गल्ती कमजोरी नदोहो¥याउने प्रतिवद्धताको मूर्त रुप पनि हो नयाँ शक्ति त्यसैले नयाँ शक्ति आशाको किरण र विद्यमान समाजमा रहेका समस्याको समाधान बन्नपर्छ । आन्तरिक राष्ट्रियता र वाह्य राष्ट्रियताको यथोचित सन्तुलन विना नेपालको राष्ट्रियताको संरक्षण र संवर्धन गर्न सम्भव छैन भन्ने कुरामा सहमत हुने र तदनुकूलको कार्यक्रम तय गर्न नसक्दासम्म नेपाली राष्ट्रियताको संरक्षण सम्भव छैन भन्ने निष्कर्षमा नयाँ शक्ति पुगेर आफ्नो यात्रा आरम्भ गरेता पनि पुराना शक्तिहरुको पुरानै मानसिकता र नयाँ कुरा गर्नेहरुलाई राष्ट्रियताको पुरानै परिभाषामा जोड्दै यो वा त्यो आरोप लगाउने गल्ती गरिरहेको सन्दर्भ छ । यसको सच्चाइ पनि बाहिर आउन जरुरी छ । त्यसैले नेपालको बनोट मुलभूत रुपमा खस आर्य आदिवासी जनजाति र मधेसी, थारु समुदायको तीनथरि समूहको संयोग नै नेपाली राष्ट्रियता हो ।

तीन समूहको आपसी सदभाव र समन्वयविना आन्तरिक राष्ट्रियता मजवुद बनाउन सकिँदैन, त्यसैगरी चीन र भारत दुई उदीयमान अर्थतन्त्र भएका नाताले एकका विरुद्ध अर्को उभ्याएर वा प्रयोग गरेर राष्ट्रवादी बन्ने पुरानो मान्यता अब काम लाग्दैन । त्यसैले दुबै देशको सम्वृद्धिलाई सदुपयोग गर्दै नेपालको सम्वृद्धिमा उपयोग गर्न सक्ने विदेश नीतिको प्रतिपादन गर्नुपर्ने भएको छ । यसो गरेपछि मात्रै वाहृय राष्ट्रियताको पनि प्रवर्धन र संरक्षण हुनेछ ।यो आन्तरिक राष्ट्रियता र वाहय राष्ट्रियताको यथोचित सन्तुलन विना पुरानै र मण्डले प्रकृतिको राष्ट्रियताको चर्चा गरेर दुनियाँलाई बेवकुफ बनाउने र आफ्नो सत्ता स्वार्थ सिद्ध गर्ने वाहेक अर्को कुनै धेय पुरा हुने छैन । यसका लागि पनि नयाँ शक्तिको खाँचो छ । नयाँ शक्ति, नयाँ विचार, नयाँ संस्कार, नयाँ प्रवृत्ति र आचार व्यवहारको कसी हुनुपर्दछ । विद्यमान संरचनावाट आजित परेको र निराश भएको पुस्तालाई आशा जगाउने अभियान पनि हो यो नयाँ शक्ति । त्यसैले नयाँ शक्ति एक समुन्नत वैकल्पिक विचारको धार बन्नुपर्दछ । विद्यमान संरचनाका र पुराना संरचनाका गल्ती कमजोरी नदोहो¥याउने प्रतिवद्धताको मूर्त रुप पनि हो नयाँ शक्ति त्यसैले नयाँ शक्ति आशाको किरण र विद्यमान समाजमा रहेका समस्याको समाधान बन्नपर्छ । अन्तमा, नयाँ शक्तिका विविध पाटा पक्षमा चर्चा परिचर्चा भैरहँदा कम्तिमा त्यसले आशावादितालाई प्रवर्धन गरोस् । निराशामा आशा जगाउन सकोस् नेपाली समाजलाई उज्जल भविश्यमा डोर्याउने कडि बन्न सकोस् यसैको सेरोफेरोमा रहेर चल्ने बहस र त्यही बहसको निष्कर्षका रुपमा बन्ने शक्ति नयाँ शक्ति हुनेछ । जो सबै समस्याहरु को वैकल्पिक समाधानको शुत्र बन्नेछ । यसै तथ्यलाई मनन गर्दै नयाँ शक्तिको बहसमा सहभागी बनौं । स्वाधीन सम्वृद्ध र समावेशी समाज निर्माण गर्ने दिशामा अगाडि बढौं यही नयाँ शक्तिको कामना पनि छ ।
(साभार ः अनलाइन खबर)

Post a Comment

 
Top