0
गोल्डेन न्यूज संवाददाता
४२औं राष्ट्रिय क्षयरोग दिवस आइतबार विविध कार्यक्रमका साथ देशभर मनाइँदै छ । यसैक्रममा नेपाल क्षयरोग निवारण संस्था कास्कीले पनि पोखराको सभागृहचोकमा क्षयरोग सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । विश्वमा क्षयरोगीहरुको संख्या वृद्धिसंगै यसबाट मर्नेहरुको संख्या समेत बढ्दै गएको छ । क्षयरोग निवारण संस्था कास्कीका अध्यक्ष केशव भण्डारीका अनुसार नेपालमा वर्षेनी करिब ७ हजार र पोखरामा करिब ६ सय क्षयरोगीको संख्या थपिंदै गएको तथ्याङ्कले देखाएको छ । क्षयरोग निवारणका लागि २०१० सालदेखि संस्थाले नियमित रुपमा विभिन्न कार्यक्रम गर्दै आएको र सरकारले पनि क्षयरोग निवारणका लागि अभियान संचालन गर्दै आएको उनले बताए । क्षेत्रीय क्षयरोग केन्द्र पश्चिमाञ्चलका निर्देशक डा. मुकुन्द आचार्यका अनुसार नियमित रुपमा औषधि सेवन गरेमा क्षयरोग पूर्ण निको हुने भएपनि बिरामीहरु मध्ये कतिपयले औषधि सेवन नगर्ने तथा गरेपनि अनियमित ढङ्गले सेवन गर्दा क्षयरोग निको हुन नसकेको हो । समयमा आफूलाई क्षयरोगीको रुपमा चिनाइने डरले कतिपयले क्षयरोगको उपचार समेत नगर्ने र रोग समेत लुकाउने प्रवृत्ति कायम रहेकाले पनि क्षयरोगको निवारणमा चुनौती देखिएको उनले बताए । मुलुकमा केही महिनादेखि विद्यामान नाकावन्दीका कारण सबैजसो सामान र औषधिको अभाव हुने गरेको भएपनि क्षयरोगको औषधिको अभाव नभएको संस्थाका कास्की शाखा सचिव गणेश ढकालले जानकारी  दिए । यूरोपबाट जहाजमा औषधि ल्याउने भएकाले पनि नाकाबन्दीको प्रभाव क्षयरोगको औषधिमा नदेखिएको उनले बताए । पोखराको सुनौलो एफएमसंग कुरा गर्दै डा. मुकुन्द आचार्य, क्षयरोग निवारण संस्थाका अध्यक्ष केशव भण्डारी र सचिव गणेश ढकाल लगायतले क्षयरोग निवारणमा आमसर्वसाधारणको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।


Post a Comment

 
Top