0
गोल्डेन न्यूज संवाददाता
साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्ट स्थल मानिएको पोखरामा संचालित प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा र नेपाल हवाई खेलकुद संस्था (एनएए) बीच उडान अनुमति शुल्कको बिषयमा विवाद  उत्कर्षमा पुगेपछि नेपाल हवाई खेलकुद संस्थाले अनिश्चितकालका लागि प्याराग्लाइडिङ बन्द गराएको हो । पाइलटले उडान अनुमति शुल्क नबुझाएको भन्दै आइतबार क्यानका कर्मचारीले उडानका लागि सराङकोट पुगेका करिब एक सय जना पाइलट तथा त्यत्ति नै संख्याका पर्यटकलाई फर्काएपछि प्याराग्लाइडिङ व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले नियमनको नाममा १५÷१५ दिनमा उडान अनुमति शुल्क उठाउने तर व्यवसायलाई व्यस्थित बनाउन कुनै पनि काम नगरेको व्यवसायीको आरोप छ । नेपाल हवाई खेलकुद संस्था (एनएए) का उपाध्यक्ष सोबित बानियाँले प्राधिकरणको नीतिका कारण २० बर्षदेखि पोखरामा संचालनमा आएको यो व्यवसाय धरासायी बन्न पुगेको बताए । ‘शुल्क तिर्ने कुरामा हाम्रो विवाद होईन नियमनका नाममा रकम मात्र अशुल्ने कि व्यवासायलाई पनि व्यवस्थित गर्ने ?–‘बाँनियाले भने । ‘हामीले शुल्क तिर्न आनकानी गरेको होईनौं उडानका लागि गएका पर्यटकलाई फर्काएर प्राधिकरणले पर्यटकलाई दुःख दिएकोमा हाम्रो गुनासो हो’–उनले भने । आइतबार भएको व्यवसायीको छलफलले संघर्ष समिति गठन गरेको छ । क्यानको मौनताको विरोधमा अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडान बन्द गरिएको र पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार ज्ञापनपत्र बुझाउने निर्णय छलफलले गरेको उनले जानकारी दिए । उडान अनुमति बापत पाइलटले क्यानलाई प्रतिमहिना ९ हजार ४५ रुपैयाँ प्रति पाइलटका दरले शुल्क बुझाउनुपर्छ । प्याराग्लाइडिङका पाइलटहरुले शुल्क महंगो भयो भन्दै विगतदेखि असन्तुष्टि जनाउँदै आएका थिए । क्यानको केन्द्रीय कार्यालयमा आएरसमेत उनीहरुले शुल्क घटाउन तत्कालिन महानिर्देशक लाई आग्रह गरेका थिए । 
क्यानको नियमावलीमा प्याराग्लाडिङ पाइलटले फ्लाइट प्रमिसन शुल्क बझाएर मात्र उडान गर्नुपर्ने व्यवस्था  रहेको क्यान पोखराले जनाएको छ । क्यान कार्यालयका अनुप जोशीले गोल्डेन न्यूजसंग भने,–‘उहाँहरुले शुल्क बुझाउन आनकानी गरिरहनुभएको छ, हामीले शुल्क नबुझाउनेलाई रोकेका हौं, शुल्क बुझाउनेलाई रोकेका छैनौं ।’ करिब डेढ दशकअघि पोखराको सराङकोटबाट प्याराग्लाइडिङ सुरु भएको थियो । पोखरामामात्र पाँच दर्जन कम्पनीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर प्याराग्लाइडिङ सेवा प्रदान गर्दै आएका छन् । मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्छ।
नेपाल आएका विदेशी पर्यटकले प्राकृतिक दृश्यावलोकनको आनन्दसँगै मनोरञ्जन पनि लिन प्याराग्लाइडिङ रोज्ने गरेका छन्। पछिल्लो सयम नेपालीले पनि प्याराग्लाइडिङ रोज्न थालेकाले यस व्यवसायप्रति व्यावसायिक आकर्षण बढ्दै गएको छ । तर पछिल्लो समयमा भूकम्प र नाकाबन्दीको असर समेत यो व्यवसायमा देखिएको छ । मन्त्रालयले प्याराग्लाइडिङ सञ्चालन गर्न एक करोड चुक्ता पुँजी, निवदेन दस्तुर पाँच हजार, बैंक ग्यारेन्टी पाँच लाख, इजाजत दस्तुर ५० हजार रुपैयाँ लिएर नयाँ कम्पनी सञ्चालनको अनुमति दिने गरेको छ । कम लगानी र छोटो समयमा धेरै मुनाफा हुने भएकाले यस व्यवसायप्रति आर्कषण बढ्दै गएको छ । पर्यटकीय मौसमका बेला महिनामा करिब ४ हजार जनाले पोखराको आकाशमा प्याराग्लाइडिङ को मज्जा लिन्छन् । अहिले पोखरामा स्वदेशी र विदेशी गरि २ सय भन्दा धेरै पाइलट छन् । लाइसेन्स प्राप्त नेपाली पाइलटको संख्या मात्र १०७ पुगिसकेको छ । पाइलट ट्रेनिङका लागि दुईदेखि तीन बर्षको समय र १४ देखि २० लाख रुपैयाँ खर्च लाग्ने पाइलट सुरेश थापाले बताए । यो उद्योगमा मात्र झण्डै डेढ अर्ब बराबरको लगानी रहेको व्यवसायीको अनुमान छ ।
यसैबीच नेपाल हवाई खेलकुद संस्थाले विज्ञप्ति जारी गरी उडान अनुमति पत्र वाहक प्याराग्लाइडिङ पाइलटहरुको पटके अनुमति शुल्कः खारेज नभएसम्म कुनैपनि उडान नगर्ने जनाएको छ । नागरिक उड्डयन कार्यालयका अनुसार उडान अवरुद्ध भएको आरोप लगाउदै संस्थाले पोखराको सिंगो पर्यटन क्षेत्रमा अबसर परेको स्पष्ट पारेको छ । ‘पोखराको पर्यटनको मुख्य आकर्षणको केन्द्र बन्दै आएको साहासिक खेल प्याराग्लाइडिङ एकाएक अबरुद्ध हँुदा यस क्षेत्रमा प्याराग्लाइडिङ गर्न आएका पाहुनाहरुलाई प्याराग्लाइडिङ गराउन नपाउदा यसले पोखरा क्षेत्रकै सिंगो पर्यटन उद्योगलाई असर पर्ने गएको व्यहोरा समेत जानकारी गराउदछौं’–विज्ञप्तिमा भनिएको छ । हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश बहादुर भट्टराईको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले प्याराग्लाइडिङ उडान अनिश्चित कालका लागि बन्द गर्दै समग्र समस्याहरुको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समाधान नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । 
क्यानले एक्कासी अनुगमनको नाममा पाइलट र पर्यटकलाई फर्काएको प्याराग्लाइडिङ व्यवसायी बसन्त दवाडीले बताए । ‘संस्थागत जानकारी नै नगराई एक्कासी पाइलटहरुलाई फर्काउने काम भयो,’ उनले भने–‘यसले पोखराको पर्यटनमा थप धक्का लागेको छ ।’ प्याराग्लाइडिङका लागि स्वदेशी विदेशी पाइलटका साथ पर्यटकहरु पोखरा पुगेका थिए । पोखरा पुगेर प्याराग्लाइडिङको मज्जा लिएर फर्किने पर्यटकको धोको हुन्छ । महाभूकम्पका कारण पोखराको पर्यटन सुस्ताएको बेलामा अलिअलि भएका पर्यटकलाई पनि उडाउन नपाउँदा खिन्न भएको पाइलट गुरुङले बताए । ‘आज पर्यटक प्याराग्लाइडिङ गर्न आएका छन्, आजको दिन उडाउन दिनुस् भोलिदेखि बन्द गर्छौं भन्दा पनि क्यानका कर्मचारीले मानेनन्,’ पाइलट गुरुङले भने ।

Post a Comment

 
Top