0
गोल्डेन न्यूज संवाददाता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पोखरामा जारी छ । यस अभियान अन्तर्गत लैंगिक हिंसा न्युनिकरणका लागि संचारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सोमबार पोखरामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालयकी प्रमुख लक्ष्मी जिसीले सरकारले लैंगिक हिंसा अन्त्य गर्न धेरै पहल गरेको भएपनि सबैको सहयोग नहुँदा लैंगिक हिंसाका घटनामा कमि आउन नसकेको बताइन । उनले पीडितको समस्यालाई सुल्झाउँदै अघि बढ्न र हिंसा कम गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको स्पष्ट पारिन् । विगतदेखि वर्तमानसम्ममा करिब ३ हजार २ सय लैंगिक हिंसाको घटना भएको उनले बताइन । न्यायमा पहुँच पु¥याउन पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै जिसीले समाचारमा पीडितलाई समस्या हुने गरि सम्प्रेषण गर्न नहुने बताइन । सबै हिंसा कमजोर व्यक्तिमाथि हुने भएकाले पीीडतलाई न्याय र पीडिकलाई सजाय दिलाउन संचारकर्मीको अहंम भूमिका हुने उनले स्पष्ट पारिन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले अन्जान र अशिक्षाका कारण लैंगिक हिंसा हुने गरेको भएपनि त्यसलाई अन्त्य गर्न हामी सबैको कर्तव्य भएको बताए । उनले लंैगिक हिंसा न्युनिकरणका लागि महिला पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले महिला पत्रकारहरुलाई सहयोग गर्न पत्रकार महासंघ र आफू सदैव तयार रहेको स्पष्ट पारे । वरिष्ठ मानवअधिकारवादी नेता टेकनाथ बरालले धार्मिक, सांस्कृति, आर्थिक कुनै पनि हिंसा गर्न नपाइने भन्दै बाबुले अंश लगाउँदा छोरीलाई पनि लगाउनुपर्ने र विवाहमा कन्यादान गर्ने प्रचलनलाई रोक्नुपर्नेमा जोड दिए । ईन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले महिला तथा बालबालिका माथि हुने हिंसा अन्त्य गर्न पत्रकारको भूमिका विशेष हुने भएकाले सत्य र तथ्य समाचारका साथ अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य शुष्मा पौडेल, नागरिक समाज पोखरामा संयोजक रामबहादुर पौडेल, स्वयंसेवी तारामाया थापा, प्रेम भट्टराई, पोखराका अग्रज पत्रकार नारायण कार्की, संचारकर्मी विमला भण्डारी लगायतले लैंगिक हिंसा विरुद्ध सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
संचारिका समूह पश्चिमाञ्चल की अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



Post a Comment

 
Top