0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस र एकीकृत माओवादीले प्रदेश सीमाकंन र नागरिकताको विषयलाई निश्चित समय सीमाभित्र टुंगो लगाउने गरी संविधान संशोधनको प्रस्ताव पारितका लागि सहयोग गर्न गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको छ । महाराजगञ्जस्थित कांग्रेस सभापति सुशिल कोइरालाको निवासमा शनिवार साँझ बसेको तीन दलको वैठकमा कांग्रेस र एमाओवादीका नेताहरुले मधेसको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको भन्दै सीमाकंनको विषयलाई निश्चित समय सीमाभित्र टुंग्याउने गरी संविधान संशोधनको प्रस्ताव पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
तर बैठकमा मधेसी मोर्चाका नेताहरुले भने सबै विषयलाई प्याकेजमै सम्बोधन गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाउनु पर्ने अडान राखेका थिए । बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको सीमाकंनको विषयलाई तत्काल टुंग्याउनु पर्ने अडान राखेको स्रोतले बतायो ।
वैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता सकारात्मक भएको वताए । उनले  सवै विषयमा मोर्चाका नेताहरुसँग छलफल भएको र मुद्दाको टु)गो लगाउन वार्तालाई कसरी अघि बढाउने भन्ने विषयमा प्रमुख तीन दल आइतवार विहान बसेर छलफल गर्ने बताए ।
यसैगरी कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मधेसको समस्या समाधानका विषयमा छलफल भएको वताए । उनले बैठकमा आफूहरुले सीमांकनको विषयलाई निश्चित समयसीमा भित्र टुंग्याउने गरी संविधान संशोधनको लागि प्रस्ताव गरेको तर मोर्चाका नेताहरुले अस्विकार गरेको बताए । आचार्यले भने–‘हामीहरुले आन्दोलनलाई विश्राम लिने बाटोमा लैजाऊँ । सवै विषयमा समझदारी गर्ने बाटोमा जाऔँ भनेका छौँ । यो विषयमा उहाँहरु सकारात्मक नै हुनुहुन्छ । तर प्याकेजमै सहमति गर्नु पर्ने अडान मधेसवादी दलको छ ।’
बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै यादवले चार घण्टा चलेको छलफलमा कुराकानी गर्दै जाने सहमति भएको प्रतिक्रिया दिए ।  यादवले मधेश आन्दोलनले उठाएका मुद्दालाई ठोसरुपमा पूरा नगरेसम्म आफूहरुलाई मान्य नहुने वताए । उनले मुद्दाको ठोस रुपमा सम्बोधन भएपछि मात्रै आन्दोलन रोक्ने वताए ।
यादवले आफूहरुका मुद्दालाई सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले आइतवार बस्ने संसद बैठक समेत अबरुद्ध गर्ने स्पष्ट पारे । कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले मधेसमा जारी समस्या समाधान गर्ने विषयमा छलफल भएको र वार्ता सकारात्मक भएको बताए । केसीले मधेसी मोर्चाले प्रदेशको सीमाकंन, नागरिकताको मुद्दा प्याकेजमा सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्तावलाई अघि बढाउनु पर्ने अडान राखेको वताए ।
सेटोपाटीसँग कुराकानी गर्दै केसीले भने–‘वार्ता र सहमति गर्दा केही चिज लिने र दिने हुन्छ । त्यसैले हामीले प्रदेशको सीमाकंन, नागरिकताको सवाल लगायतका विषयलाई निश्चित समयसीमाभित्र टुंग्याउने गरी अघि बढौँ भन्यौ । तर उहाँहरुले सवै विषयलाई प्याकेजमै टुंग्याउनु पर्ने अडान राख्नु भएको छ ।’ मधेसवादी दलले उठाएका मुद्दा सम्बोधन, अबरुद्ध संसद सुचारु गर्ने तथा संविधान संशोधनको प्रस्तावलाई पारित कसरी गर्ने भन्ने विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक आइतवार बस्ने छ ।
यसैबीच विराटनगरको सीमानाका रानी भन्सारमा धर्ना बस्न गएका सद्रुभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित १० जना कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई प्रहरीले हटाउने क्रममा जबरजस्ती गरेपछि हस्तक्षेप गर्दा महतो घाइते भएको मोरङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। ‘नाकामा नबस्न भनेर हामीले भनेका थियौं। जबरजस्ती गरेकाले हामीले हस्तक्षेप गरेका हौ,’ उनले भने,‘नाका अवरोध हुने गरी धर्ना दिने बस्न दिँदैनौ।’ धर्नामा बस्नबाट प्रहरीले रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ। लाठी प्रहारबाट अध्यक्ष महतो, केन्द्रीय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहतासहित १० जना कार्यकर्ता घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। महतोको टाउको र खुट्टामा चोट लागेको छ।
प्रहरीसँगको झडपमा घाइते भएपछि सिमापारि गएका महतोलाई एम्बुलेन्समा विराटनगर ल्याइएको थियो। महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्ना दिन आएका थिए। मोर्चाका कार्यकर्ताले भारतीय क्षेत्रबाट नेपाली प्रहरी टोलीलाई ढुंगा प्रहार गरेका थिए प्रतिकारमा प्रहरीले अश्रु ग्यास र लाठी प्रहार गरेको थियो।











Post a Comment

 
Top