0
बाग्लुङको एक गाउँका माओवादी पूर्व लडाकुहरूले गाउँ छोडेका छन् । शान्ति प्रक्रियाताका स्वेच्छिक अवकाश रोजेका र बहिर्गमनमा परेका पूर्व लडाकु विदेशिएका हुन् । जिल्लाको मल्म–६ बागलुङ सिरवारेबाट तत्कालीन नेकपा (माओवादी)ले थालेको सशस्त्र सङ्घर्षमा होमिएका एक दर्जन बढी लडाकु सक्रिय राजनीतिबाट अलग भएका छन्् । राजनीतिक निराशा र आर्थिक(सामाजिक कारणले उनीहरू विदेश पलायन भएका हुन् । त्यसरी विदेशिनेमा खिमबहादुर भित्रीकोटी, विष्णु दर्जी, कृष्णबहादुर दर्जी, तिलबहादुर दर्जी, दानबहादुर दर्जी, जीवन दर्जी, लक्ष्मण दर्जी, दीपक दर्जीलगायत छन् । घरको आर्थिक समस्याले छोरा विदेश गएको पूर्वलडाकु कृष्णबहादुर दर्जीका बुबा जीतबहादुर दर्जीले बताए । उनका कृष्णबहादुर र तिलबहादुर दुवै छोरा मलेसियामा छन् । अधिकांश रोजगारीका लागि मलेसिया पुगेको दर्जीको भनाइ छ । स्वेच्छिक अवकाश रोजेकाले पाएको नगद रु पाँच लाख पनि विदेश जाँदा खर्चेको पाइएको छ । आधाजति लडाकु भने बहिर्गमनमा परेकाले घर फर्कंदा रित्तै हात फर्केका थिए । बहिर्गमनमा पर्नेमा अधिकांश महिला छन् । लक्ष्मी दर्जी, गुमा दर्जी (क), गुमा दर्जी (ख), सुनिता दर्जीलगायत बहिर्गमित लडाकुको परिचय लिएर घर फर्केका थिए । दुःखी गरिबको सुदिन ल्याउन र समाजको मुहार फेर्न भनी माओवादी युद्धमा सामेल भएका उनीहरूमा राजनीतिप्रति कुनै भरोसा छैन । पूर्व लडाकु खिमबहादुर भित्रिकोटीकी श्रीमती सुनिता दर्जीले लडाइँमा जाँदाको आफूहरूको लक्ष्य पूरा नभएको उल्लेख गरिन् । दर्जी पनि माओवादी लडाकु थिइन । सङ्घर्षकै चरणमा दाङकी सुनिताको खिमबहादुरसँग प्रगतिशील विवाह भएको थियो । “हामीलाई ठूला सपना देखाइएको थियो, त्यतिबेला साँच्चिकै परिवर्तन हुन्छ भन्ने लाग्थ्यो” उनले भनिन–“अहिले सबै भताभुङ्गको अवस्थामा पुगियो, राजनीति स्वार्थ र नाफाघाटामा अल्झिएको छ ।” श्रीमान् विदेशीए पछि काखका बच्चाको रेखदेख र घरायसी धन्दामै दर्जीको दैनिकी बित्ने गरेको छ ।






Post a Comment

 
Top