0
गोल्डेन न्यूज संवाददाता
यतिबेला पोखराको विभिन्न स्थानको सडक किनारामा विभिन्न सामान विक्री गर्न डोको र झोला बोक्नेहरु प्रशस्त भेटिन्छन् । सडक किनारामा झोले र डोके व्यापारीका कारण सर्वसाधारणलाई भने समस्या परेको छ । सडकमा सवारी साधन चल्ने र सडक किनारामा व्यापारीहरु ले व्यापार गरिदिंदा सर्वसाधारणले यस्तो समस्या भोग्नु परेको हो ।
 
डोके र झोले व्यापारीका कारण आम सर्वसाधराणले समस्या भोग्नु परेपनि ती व्यापारीहरु पनि आफै सुरक्षित छैनन् । नगर प्रहरी र ट्राफिक प्रहरीको आँखा छलेर व्यापार गर्नुपर्ने बाध्यताका कारण आफूहरु समस्यामा परेको गुनासो उनीहरुको छ । जब ट्राफिक प्रहरी र नगर प्रहरी आउँछन् त्यतिबेलाको दृश्य अचम्मको हुन्छ । सडक किनारमा सामान लिएर बसेका व्यापारीहरु जब प्रहरीलाई देख्छन् तब उनीहरु समान बोकेर तछाड–मछाड गर्र्दै  भाग्छन् भने प्रहरीहरु पछिपछि दौडेर उनीहरुको डोको, नाम्लोका साथै सामानहरु खोस्छन् । सामान खोसाखोस हुँदा खसेका फलफूलहरु सडक बालबालिकाले टिप्दै जम्मा गर्दै अलि पर पुगेर कपाकप खान थाल्छन् । व्यापारीहरु भाग्नेक्रममा सडकपेटीमा हिंडेका सर्वसाधारणको ख्याल समेत गर्दैछन् । त्यतिबेला कतिपय सर्वसाधारण घाइते समेत हुने गरेका छन् । प्रहरीहरु आउँदा व्यापारीहरु गल्ली–गल्लीतिर पस्छन्, जब प्रहरीहरु आफ्नो गन्तव्यतिर लाग्छन् त्यसपछि फटाफट सडकमा आएर व्यापार गर्न थाल्छन्् । हिजोआज पोखराका विभिन्न ठाउँमा यस्ता घटना नियमित जस्तै भइरहेका छन् ।
 
पोखरालाई फुटपाथ निषेधित क्षेत्र घोषणा गरिएको भएपनि  पछिल्लो समय फुटपाथमा ब्यापार गर्नेहरुको संख्या क्रमशः बढ्दो छन् । फुटपाथ निषेधित क्षेत्र घोषणा गरिएको करिब तीन बर्ष वितिसक्दा पनि यो समस्या पूर्ण नियन्त्रणमा आउन सकेको छैन । फुटपाथ नियन्त्रण गर्न कपडा व्यवसायी एशोसिएशन पोखरा लगायतका संघसंस्थाले नगरपालिकालाई ध्यानाकर्षण गराउँदै दवाव दिएको भएपनि नगरपालिकाले प्रभावकारी कदम अघि बढाउन सकेको छैन । नगरपालिकाले अनुगमनमा कडाई नगरेका कारण नियन्त्रण हुन नसकेको हो । नगरपालिकाले कहिले काहीँ अनुगमन गरेर फुटपाथ ब्यापारीका सामानहरु जफत गरेपनि दैनिक अनुगमन नभएका कारण फुटपाथ अतिक्रमण गरेर ब्यापार गर्नेहरु अझै घटेका छैनन् । नगरपालिकाले कहिलेकाहीँ अनुगमन गरेर जफत गरिएका सामान समेत शुल्क लिँदै पुनः फिर्ता दिन्छ । यसले गर्दा फुटपाथे ब्यापारीहरुलाई झनै प्रोत्साहन मिलेको सरोकारवालाहरुले बताएका छन् । जफत भएको सामान फिर्ता गर्ने गरेकाले पनि ब्यापारीहरु घटेका छैनन्, उपमहानगरपालिकाका निरीक्षण शाखा प्रमुख बसन्त चालिसेले भने–‘सबैको सहयोगबाट अब सामान फिर्ता नदिने परिपाटी बसाउनुपर्छ अनि मात्रै फुटपाथ नियन्त्रण गर्न सकिन्छ ।’ नगरपालिकाका कार्यकारी अधिकृतले सामानको मूल्याकंन गरेर शुल्क निर्धारण गरिदिने र त्यसपछि सामान फिर्ता गर्ने गरिएको चालिसेले बताए । नगरपालिकाले अहिलेसम्म जफत भएका सामानबाट न्यूनतम २ सयदेखि अधिकतम ३ हजार रुपैयाँसम्म जरिवाना लिएको छ । सडक ब्यापार प्रतिबन्ध लगाएको भनिएपनि अहिले पोखराका मुख्य चोकहरुमा पहिलेजस्तै फुटपाथमा बसेर ब्यापार गर्न सुरु भैसकेको छ । खासगरी शनिवारको दिन फुटपाथ ब्यापारीहरु बढी देखिने गरेका छन् । तत्कालिन समयमा नगरपालिकाले पृथ्वीचोक, चिप्लेढुङ्गा र बसपार्कमा गरी तीन ठाउँमा १ हजार ४६ जना फुटपाथ पसलेहरुलाई ब्यवस्थित गरेको थियो । तर अहिलेपनि २ सयभन्दा बढीले फुटपाथमा ब्यापार गर्न थालिसकेका छन् । नगरपालिकामा आवश्यक कर्मचारी, सवारी साधन र उचित पारिश्रमिक पाउन नसक्दा फुटपाथ अनुगमन प्रभावकारी हुन नसकेको अनुगमनमा काम गर्ने कर्मचारीहरुले बताएका छन् । अहिले नगरपालिकाको निरीक्षण शाखामा ११ जना कर्मचारी मात्रै कार्यरत छन् । तर नगरक्षेत्रको अनुगमन र प्रभावकारी काम गर्नका लागि कम्तिमा पनि ६५ जना नगरप्रहरीहरु आवश्यक पर्ने नगरपालिकाका निरीक्षण शाखा प्रमुख बसन्त चालिसेले बताए । नगरप्रहरी र सवारी साधन थप गर्न कार्यकारी प्रमुखलाई पटक–पटक अनुरोध गर्दापनि अहिलेसम्म सुनुवाई नभएको चालिसेले गुनासो गरे । सडक किनाराको फुटपाथमा जथाभावी तरकारी बजार राख्न थालेपछि त्यसलाई रोक लगाउन अन्य व्यवसायीले स्थानीय प्रशासनसँग माग गरेका छन् । सडक किनारमा तरकारी पसल राख्दा बजारको सौन्दर्य बिग्रनुका साथै सवारी र पैदल आवागमनमा समेत बाधा पर्ने भएकाले तत्काल यस्तो काममा रोक लगाउन उनीहरुले माग गरेका हुन् ।
 
पृथ्वीचोकमा रहेको कृषि उपज बजार सञ्चालक समितिका व्यवसायीले फुटपाथमा जथाभावी तरकारी पसल राख्न दिँदा मूल्यमा एकरुपता नहुनुका साथै प्रदूषण समेत बढ्दै गएको गुनासो गरेका छन् । समितिमा आवद्ध व्यवसायीले फुटपाथ व्यवसायलाई तत्काल हटाउन समेत माग गरेका छन् । तरकारी बजार व्यवस्थित गर्ने भन्दै कृषि मन्त्रालयले २०५३ सालमा कृषि उपज बजार संचालन सम्बन्धी निर्देशिका ल्याएको थियो । निर्देशिकाकै आधारमा देशका २४ ठाउँमा कृषि उपज बजार समेत खुलेका थिए । पोखराको कृषि उपज बजार २०५७ देखि सुरु भएको समितिले जनाएको छ । पोखरा उपत्यका नगर विकास समितिको ४६ रोपनी जमिनमा १ सय २६ वटा सटर निर्माण गरेर ब्यवसायीहरुले अहिले ब्यवसाय गर्दै आएका छन् । व्यवस्थित बजारबाट मात्र तरकारी व्यवसाय गर्नुपर्ने प्रावधान भएपनि फुटपाथमा बसेर अरु व्यवसायीले व्यापार गर्दा लथालिंग भएको उनीहरुको गुनासो छ । फुटपाथ व्यवसायलाई ब्यवस्थित गर्नका लागि २०६९ चैतमा पोखरा उपमहानगरपालिका र समितिले थोक बजारको एक किलोमिटर परिधिभित्र अरु कसैले तरकारी बजार राख्न नपाउने गरी सम्झौता समेत गरेको थियो ।


Post a Comment

 
Top