0
गोल्डेन न्यूज संवाददाता
कास्कीका तमुहरुले यस वर्ष तमु जातिको महान पर्व तमु प्र ल्होसार–२०७२ एकै थलोमा सामुहिक मनाउने भएका छन् । कास्की जिल्लामा अस्तित्वमा रहेका तमु संघ–संस्थाहरुको सोमबार बसेको सयुक्त बैठकले पौष  १६ गते सामुहिक ल्होसार मनाउने निर्णय गरेको हो । ल्होसार मनाउनका लागि यस वर्ष संयोजकत्व पाएको तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीको अगुवाईमा बसेको बैठकले पौष १६ गते १ दिन सामुहिक प्र ल्होसार मनाउने निर्णय गरेको हो । यस वर्षको ल्होसार मनाउनका लागि तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दल बहादुर तमुको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको छ । बैठकले यस वर्षको सामुहिक ल्होसार मनाउनका लागि तमु समुदायका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । सम्मानित हुनेमा तमुहरुको सामाजिक संस्था तमुृ ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद, तमु धीं नेपाल, तमु प्ये ल्हुं संघ, तमु बौद्ध अर्घौ सदन संस्थाहरुले सिफारिस गरेको चार जना र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङ, गायक अमृत गुरुङ, लोक गायिका शर्मिला गुरुङ रहेका छन । त्यसैगरी कार्यक्रमको अवसरमा पछि छनोट गरेर एक जना क्रियाशिल तमु संचारकर्मीलाई पनि सम्मान गरिने बताएको छ ।

कार्यक्रममा तमु सँस्कृतिमा आधारित संस्थागत नृत्य प्रतियोगिता, आदिवासी जनजाति बीचको झाँकी प्रतियोगिता, तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने मूल आयोजक समितिले बताएको छ । गठित सम्मान कार्यक्रम व्यवस्थापन उप–मितिका लागि तमु प्ये ल्हुं संघका कार्यवाहक अध्यक्ष हितकाजी तमुको संयोजकत्वमा गिरी प्रसाद तमु, केवी तमु, आशबहादुर तमु, भुपाल तमु सदस्य रहेको उपसमिति गठन गरिएको छ । कार्यक्रम तयारी गर्नका लागि तमुृ ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका सचिव चेतबहादुर तमुको संयोजकत्वमा सम्पूर्ण संस्थाका सचिव पदेन सदस्य रहने गरि सचिवलय गठन भएको छ ।
त्यसैगरी तमु मुक्ति मोर्चा कास्कीका अध्यक्ष धर्म तमुको संयोजकत्वमा सबै संस्थाका कोषाध्यक्ष पदेन सदस्य रहने गरि अर्थ संकलन उपसमिति, सांस्कृतिक कार्यक्रम व्यवस्थापन गुरुङ फिल्म एशोसिएशन जिफान, मञ्च व्यवस्थापन तमु विद्यार्थी छोँज धीं कास्की र तमु विद्यार्थी समिति, स्वयंसेवक परिचालनमा सन्देश तमु, प्रचार–प्रसारमा तमु संचारकर्मी संघ कास्की, झाँकी व्यवस्थापन संयोजक तमु धिं नेपाल सचिव गिरी प्रसाद तमुलाई जिम्मा दिइएको छ ।



Post a Comment

 
Top