0
गोल्डेन न्यूज संवाददाता
१४ वर्षीया अन्तिमा केसीले ‘क्रिशमस डे’को अवसर पारेर पोखराका २५ जना सडक बालकहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । परिवारसहित अमेरिकामा बस्दै आएकी केसीले उनीहरुसँगै खानपिन समेत गरिन् । जाडोको बेलामा सडक बालबालिकालाई निकै सास्ती हुने देखेपछि उनले उनीहरुलाई न्यानो कपडा बाँडेकी हुन् । ‘हामी न्यानो कपडा लाएर घरमा बस्दा त जाडोले सताउँछ भने सडक बालकालिकाको हालत त झन् कस्तो होला ?’ अन्तिमाले भनिन्–‘त्यसैले मैले उनीहरुप्रति सहयोगी हात बढाएकी हुँ ।’ कपडा वितरणको क्रममा उनलाई उनको आमा सुनिता केसीले विशेष सहयोग गरिन् । २ वर्षको सानो उमेरमा परिवारसहित अमेरिका पुगेकी अन्तिमा हाल ९ कक्षामा पढ्छिन् । अमेरिका गएपछि उनी नेपाल आएको यो दोस्रोपटक हो । उनले यस अगाडि पनि धेरैपटक सहयोगी हात बढाईसकेकी छन् । पछिल्लो पटक मात्रै उनले आफ्नो बुवाको जन्मस्थान प्यूठानको विद्यालयलाई सहयोग गरेकी थिईन् । अमेरिकामा पनि उनले नेपालमा सहयोग पठाउनका लागि विभिन्न च्यारिटीहरु गरिरहन्छिन् । ‘बुवा आमाले पनि मलाई सहयोग गर्नका लागि सँधै उत्प्ररित गरिरहनुहुन्छ ।’ उनले भनिन्–‘त्यसैले म झन् उत्साहित छु । भविष्यमा म समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।’ उनका बुवा तिलक केसी पनि समाजसेवी हुन् । पछिल्लो पटक अमेरिकामा उनको बुवाले संचालन गरिरहेको संस्थाले भूकम्प पीडितहरुका लागि ठूलै रकम नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।
उनले आफू पनि बुवाको कामबाट प्रभावित भएकोले संकटमा परेकाहरुलाई सहयोग गर्ने गरेको बताईन् । अमेरिकामा उनी नेपाली स्कुलमै पढ्छिन् । उनका बुवाले अमेरिकामा रहेका नेपालीहरुको बालबालिकालाई नेपाली भाषा र सँस्कार सिकाउनका लागि अमेरिकाको ‘विस्कोन्सिन’मा ‘नेपाल स्कुल’ संचालनमा ल्याएका छन् ।





Post a Comment

 
Top