0
जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको भ्रमण र त्यसमा उत्पन्न भएको परिस्थितिले मधेसी मोर्चाका नेताहरुमा रहेको विकृत चिन्तन बाहिर आएको छ । नेपाको पहिलो महिला राष्ट्रपति भण्डारीले पराम्परागत संस्कृतिको संरक्षण गर्न गरिएको रामजानकी मन्दिर भ्रमणमा एउटा नराम्रो र दुःखद् प्रसंग जन्माएको छ । रामजानकी विवाह महोत्सव र त्यसमा नेपाल भारतसहित अन्य इच्छुक तथा आस्थावान व्यक्तिहरूको सहभागिता त्यो महोत्सव जत्तिकै पुरानो प्रथा हो । रामजानकी महोत्सवले मर्यादा र आदर्शका प्रतिकका रूपमा पुजिएका राम र समर्पण, सेना र मातृत्वकी प्रतीकका रूपमा स्थापित सीतासँग वर्तमानलाई जोड्ने र नेपाल र भारत दुई मुलुकमा बस्ने एकै संस्कृतिका अनुयायीहरूको एकतालाई निरन्तरता दिँदै आएको छ । तर यस सन्दर्भमा भएको भ्रमणपछिका परिदृष्यले विकृत मानसिकतालाई नै उजागर गरेको छ भन्नु पर्ने अवस्था सिर्जना भएको छ । जुन कुरा कुनै पनि धर्मालम्बीले समेत कल्पना गर्न सक्दैन । समयको परिवर्तनसंगै हाम्रा सामाजिक र धार्मिक मान्यता फेरिएका छन । त्यसलाई सोही रुपमा वुझ्न सक्नु पर्दछ । जनकपुरमा प्रकरणपछि अहिले रामले सीतालाई त्याग्दा पत्नी र नारीमाथि भएको अन्यायलाई प्रतिकार नगर्नु सीताको कमजोरीका रूपमा प्रस्तुत गर्ने कोशिस गरिएको छ । विश्लेषण गर्दा धर्मग्रन्थहरूलाई विवेक, विश्लेषण र आधुनिक परिवेशमा हेर्ने र प्रश्न गर्ने स्वतन्त्रता सबैलाई छ, तर द्वापर युगका मूल्य, संस्कृति, पद्धति र राजकीय दायित्वको परिवेशलाई समेत ध्यानमा राखिनुपर्छ । रामजानकी विवाह महोत्सव समस्त हिन्दुहरूको आस्थामा केन्द्रित पर्व हो । राष्ट्रपतिको त्यसमा सहभागिता स्वागतयोग्य विषय हो । यस्तै अन्य धर्मालम्बीहरुको पर्वमा पनि राष्ट्रपतिको सहभागिताको अपेक्षा गरिनु स्वभाविक छ । महोत्सवमा सहभागिताका अवसरमा दिईएको राष्ट्रपति भण्डारीको मन्तब्य विशुद्ध साँस्कृतिक र धार्मिक सभ्यतासँग जोडिएको विषय हो । यसलाई राजनीतिकरण गर्न मिल्दैन, धार्मिक केन्द्रहरूमा दलीय राजनीति, द्वन्द्व र अविश्वासले प्रवेश पाउनु पनि हुदैन । राष्ट्रपति भण्डारी त्यहाँ पुग्दा मधेशी मोर्चा सम्वद्ध प्रदर्शनकारीहरूको जुन विरोध गरे र विवाह महोत्सवको कार्यक्रम प्रभावित गर्न जुन रवैया देखाए, त्यो सभ्य समाजको लागि सुहाउने विषय होईन । त्यसले एउटा सभ्यता र संस्कृतिको मञ्चनका लागि निरन्तरतामा ब्रेक लगाउने दुस्साहस गरेको छ । त्यत्रि मात्र हैन, मन्दिर परिसरमा पेट्रोल बम प्रहार र ढुंगामुढा गरी मन्दिरकै मर्यादा र पवित्रतामा प्रहार गरेका छन । यसले रामको मर्यादा र सीताको सहिष्णुता दुवैलाई अपमानित मात्रै गरेको छैन, उनीहरुको दरिद्रता चिन्तन पनि सवैका लागि चूनौती बनेर उभिएको छ । अहिले संयोगले राष्ट्रपति एक नारी छिन् । उनीमाथिको संगठित आक्रमण अत्यन्त निन्दनीय छ । त्यस कारण पनि मिथिलाको हक, संस्कृति र दायित्वलाई यदि कुनै अर्थमा मधेसी आन्दोलकारीहरूले प्रतिनिधित्व गर्छन् भने त्यसका लागि उनीहरुले निःशर्त क्षमायाचना गर्नुपर्दछ । नत्र मधेसी मोर्चाको विकृत चिन्तनले निरन्तरता पाउने छ, जुन सभ्य समाजका लागि सधंै घातक हुनेछ ।

Post a Comment

 
Top