0
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले साना दलहरूसँगको वचन पूरा गर्दा मन्त्रीमण्डल ठूलो भएको बताएका छन् । प्रेस चौतारी, बागलुङ शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले मन्त्रीमण्डल विस्तार परिस्थितिको उपज भएको बताए । “प्रधानमन्त्रीको चुनावअघि नै दलहरूलाई दिइएको वचन पूरा गर्दा अहिले मन्त्रीमण्डल ठूलो भएको हो, सङ्क्रमणकालीन परिस्थितिका कारण यस्तो अवस्था आयो”–नेता न्यौपानेले भने ।

उनले प्रधानमन्त्रीलगायत सत्तापक्षको नेतृत्वले सुरुमै साना दलहरूलाई सरकारमा ल्याउने वचन दिएको उल्लेख गरे । संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार अहिलेको मन्त्रीमण्डल विस्तार गरिएको उनको तर्क छ । मुलुकको विषम परिस्थितिका कारण सरकारलाई पनि टिकाइराख्नुपर्ने भएकाले अधिकतम् दलहरूको समर्थन ल्याउनुपरेको उनले बताए । “सरकारको नेतृत्व गरेको दल एमालेसँग आफँैमा बहुमत छैन, त्यसकारण पनि सबैलाई समेट्नुपर्ने अवस्था छ, सरकार टिकाउनुपर्ने पनि छ” –उनले भने । भारतले गरेको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै उनले भारत पछि हट्दै गएको उल्लेख गरे । संसद्को प्रक्रियामा गएको संविधान संशोधनले मधेस आन्दोलनको मागलाई पूरा गर्ने उनको भनाइ छ । नेपालको अर्थतन्त्र उत्पादन मुखी नहुँदा छिमेकी देशसँग परिनिर्भर हुनुपरेको नेता न्यौपानेले बताए । “अहिलेको नाकाबन्दी र मुलुकको परिस्थितिले हामीलाई नयाँ पाठ सिकाएको छ, अब हामी आत्मनिर्भर अर्थतन्त्रको विकासमा लाग्नुपर्छ”, उनले भने–“भारत र चीन दुवै मुलुकसँग समदुरीको सम्बन्ध कायम गरी अघि बढ्न आवश्यक छ ।” रासस






Post a Comment

 
Top