0
गोल्डेन न्यूज संवाददाता
 पर्यटक बोकेर पोखरा आएको भारतीय बसमा आईतवार राति आगलागी भएको छ । मध्यरात साढे एक बजे एक्कासी आगलागी हुदा बस क्षतिग्रस्त भएको छ । लेकसाइडस्थित डिहिकोपाटनमा पार्किङ गरी राखिएको चौधरी टुरिस्ट बस सर्भिसको युपी ५१ टी ८३११ नम्बरको बसमा आगलागी भएको हो । बसमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । बसका चालक र सहचालकले तीन जना मानिसहरु आएर बसमा आगो लगाई भागेको बताएपनि आगलागीको जिम्मेवारी कसैले लिएको छैन । बसमा आगलागी रहस्यमय देखिएपनि बाहिरबाट अन्यले आगो लगाएको कुनै संकेत नभेटिएकाले बस भित्रै सुतेका चालक र सहचालकको लापरबाहीको आशंका गरिएको छ । अनुसन्धानको लागि चालक ३५ बर्षिय निखिलेश शर्मा र १६ बर्षिय सहचालक राजन यादवलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक बिरेन्द्र गोदारले बताए । प्रहरीले कसैले आगो लगाएको वा आफैं लागेको भन्ने टुंगो नभएको बताएको छ । गाडीको भित्रि भाग जलेर पुरै ध्वस्त भएको छ । बाहिरी भाग र टायर केही भएको छैन ।
 
डिक्कीमा राखेको एक ग्यालिन डिजेल समेत केही नभएको अवस्थामा निकालिएको छ । आगो लाग्नुअघि चालक र सहचालक बस भित्रै थिए । उनीहरुले मदिरा सेवन गरेर राति अबेर सम्म बस भित्र होहल्ला गरी बसेको स्थानीयले बताए । चालकले मदिरा सेवनसमेत गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका उनिहरुमाथि अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।  चालक र सह–चालकले बसको झ्यालबाट तीन जना भित्र प्रबेश गरेको र आगो सल्काएर पुनः झ्यालबाटै निस्केर भागेको प्रहरी समक्ष बयान दिएका छन् । भित्रैबाट झ्याल ढोका बन्द गरी बसेकाले बाहिरबाट कोहि प्रबेश गर्ने र आगो लगाएर भाग्ने आधार देखिन्न । ‘९० प्रतिशत आशंका चालक र सहचालक माथिनै छ’, प्रहरीले भन्यो–‘बाहिरबाट आगो लगाएर भागेको देखिन्न ।

बस भित्रको भाग पूर्ण रुपमा जल्नु, बाहिरी भागमा केहि नहुनु, टायर जस्ताको तस्तै हुनु, डिक्कीमा रहेको तेल समेत केहि नहुनुले भित्रैबाटै बिस्तारै आगो सल्केको प्रशस्त आधार भेटिन्छ ।’–प्रहरीले भन्यो । सहचालक यादवको हातमा आगोले सामान्य पोलेको छ । चालक निदाएको र सहचालकले राति बसभित्रै चुरोट सल्काउने क्रममा आगो लागेको हुनसक्ने प्रहरीको आशंका छ । आगो लागेपछि बस करिब २५ मिटर पछाडि गुडेर सडकमा आएको थियो । दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको थियो । प्रहरीको स्कर्टिङमा काठमाडौंबाट चालक सहित ४९ जना भारतीय पर्यटक लिएर बस आइतबार राति ९ बजेमात्र पोखरा आएको थियो । भारतीय पर्यटकहरु डिहिकोपाटनको रोयल पोखरा प्रिन्स होटलमा बसेका थिए । घटनापछि उनीहरुलाई सोमबार बिहानै सुनौली पठाइएको छ ।


Post a Comment

 
Top