0
गोल्डेन न्यूज संवाददाता
गण्डकी ट्रक यातायात व्यवसायी संघको विवाद चुलिँदै गएपछि अध्यक्ष लिलाधर बरालले राजीनामा दिएका छन् । संघको मंगलबार पोखरामा भएको ३८औँ साधारणसभा तथा ३५औँ बार्षिकोत्सव सम्पन्न भइसकेपछि बरालले आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै साधारणसभाको बन्दसत्रमा राजीनामा पेश गरेका हुन् । सो संस्थामा बिगत लामो समययता व्यवसायी र समितिबीच विवाद पर्दै आएको थियो । केही महिनाअघि व्यवसायीले संघको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । समिति र व्यवसायीबीच पटक–पटक विवाद हुँदै आएको र सहमति हुने वातावरण नबनेकोले अध्यक्ष बरालले राजीनामा दिएको बुझिएको छ । स्रोतका अनुसार समितिका पदाधिकारीले आर्थिक अनियमितता र विधान विपरीत कार्य गर्दै आएकोप्रति व्यवसायीले पत्रकार सम्मेलन गरेरै भण्डाफोर गर्न लागेपछि समितिका पदाधिकारी र व्यवसायीबीच साधारण सभा सम्पन्न गरेपछि राजीनामा दिने लिखित सहमति भएको थियो । सोही सहमति अनुरुप नै अध्यक्ष बरालले साधारणसभाको समापन मन्तव्यकै क्रममा राजीनामा दिएको एक व्यवसायीले बताए । उनले भने–‘साधारण सभा पनि सम्पन्न भयो र अध्यक्ष ज्यूले राजीनामा पनि दिनुभो ।’

साधारणसभाले महासचिव कृष्ण कोइरालाद्वारा प्रस्तुत प्रतिवेदन संशोधन सहित पारित गरेको छ । जसअनुसार, विस्थापन ट्रकलाई रु. दुईलाख ५० हजार दिने र मिनिट्रकको दर्ता शुल्क रु. ६० हजारलाई यथावत राख्ने बताइएको छ । साधारणसभाले माइन्युट कमिटिमा भानुभक्त अधिकारी र रामचन्द्र बराललाई चयन गरेको छ । कार्यक्रमको उद्घाटन केन्द्रीय महासंघका अध्यक्ष अर्जुन रानाभाटले गरेका थिए ।







Post a Comment

 
Top