0
यो वर्ष पनि सुन्दर पर्यटकीय नगरी पोखरामा सडक महोत्सवको नाममा सार्वजनिक सडक अवरुद्ध पारेर रक्सी उत्सव गरिने भएको छ । पोखराको लेकसाइडमा रेष्टुरेन्ट व्यवसाय गर्नेहरुको संस्था रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सडक महोत्सव गर्ने तयारी गरिरहेको हो । शहिद चोक देखि हल्लनचोक खहरे र जरेबरदेखि हल्लनचोक सम्मको झण्डै ४ किमी सडक ५ दिन ५ रातको लागि रेवानले कव्जा गरेर महोत्सवका नाममा सडकमा भट्टी पसल संचालन गर्दै आएको छ। विगत १६ वर्ष देखि सञ्चालन गर्दै आएको सडकको भट्टी र सेकुवा पसल लाई उनिहरुले सडक महोत्सवको नाम दिने गरेका छन्। जुन काम यसपाली पनि पुष १३ देखि १७ गते सम्म गर्ने चाजो पांचो गरिरहेका छन्।

रेष्टुरेन्ट व्यवसायीहरुको पेशागत संस्था रेवानले महोत्सवका नाममा चर्को सिण्डिकेट लादेर उपभोक्ताहरुलाई महंगोमा खानेकुरा वेच्दै आएको छ। सडकमै नै मासु पोलेर सडकमै टेण्ट हालेर टेवुल कुर्सी झारेर व्यापार गर्ने गरिदा सडक प्रयोगकर्ताहरुले चरम सास्ती वेहोर्न परिरहेको छ। अत्यावस्यकीय सेवाका सवारी साधनहरु समेतलाई वन्देज लगाएर सडकमा गरिने रक्सी र मासुको व्यापारलाई निषेध रेवानको अवैध महोत्सवलाई नियमानुसार गर्ने तर्फ कुनै सोच विचार नै नगरिरहेको अवस्था छ। यसले रेवानको संस्थागत अराजकतालाई उजागर गराएको छ। रेवानले आयोजना गर्ने महोत्सवले जताततैवाट कानून मिचेको छ। ५ दिन सम्म सार्वजनिक वाटो व्लक गरेर सडकमै व्यापार गर्नु गैह्रकानूनी मात्र हैन स्वास्थ्यको दृष्टिले पनि हानिकारक रहेको विज्ञहरु वताउंछन्। हजारौं नागरिक हिड्ने ठाउँमा पकाएका खानेकुरा अस्वस्थ रहने निश्चित छ।

सार्वजनिक नियन्त्रणमा लिएर एउटा व्यवसायिक संस्थाले व्यापार चलाउदै राज्यका प्रचलित नियम कानूनहरुलाई समेत वर्खिलाप गर्ने गरेका छन्। उपभोक्ताले रोजेर खान पाउने अधिकारलाई कुण्ठित पार्न कुनै निश्चित रक्सी कम्पनी सँग संझौता गर्ने र मोटो रकम लिएर उनिहरुको रक्सी वियर मात्र विक्री गर्ने गरिएको छ। यसले उपभोक्ताको अधिकारलाई कुण्ठित गरेको छ। लाखौं रुपैयाँ मदिरा कम्पनीवाट असुल गरेर जनतालाई दुख दिने कामलाई कसरी महोत्सव भन्ने ? रेवानले गरेको सडक महोत्सव लेकसाइडकै होटल, वार व्यवसायीहरु ले असन्तुष्टि जनाएका छन्। सिटी रेवानले रंगशालामा फुट फेस्टिवल गर्न हुन्छ भने रेवानले वसुन्धरा पार्कमा महोत्सव गर्न किन नहुने ? एक होटल व्यवसायीले भने। त्यसो भन्दैमा सडक महोत्सव आफैमा आलोचित विषय वनाउनु पनि हुदैन। सडक घुमफिर गर्ने, नाचगान गर्दै रमाइलो गर्ने स्थान वनाउने हो। सडकमै स्टल गाडेर, टेवुल कुर्सी रोडमै झारेर बाटो खुम्च्याएर आगन्तुक पैदल यात्रुलाई सास्ती दिने कामलाई आयोजकले सडक अधिपत्य स्थापित गरेको दम्भमा गर्व गर्नु हुन्न। मेला संयोजक दोर्जे लामाले हामिसँगको टेलिफोन सम्वादमा नगरपालिका वाट स्वीकृति लिएको दावी गरे पनि नगरपालिकाले महोत्सव संचालनको वारेमा कुनै स्वीकृति नदिएको दावी गरेको छ। पोखरा उपमहानग पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले नगरपालिका भित्र आयोजना गरिने मेला महोत्सवका वारेमा पूर्व स्वीकृति लिनु पर्ने भए पनि आयोजक संस्था रेवान स्वीकृतिका लागि नआएको वताए।

यस्तै जिल्ला प्रशासन कार्यालय वाट पनि मेला महोत्सवको वारेमा कुनै अनुमति नदिएको खवर प्राप्त भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण रेग्मीले सडक महोत्सवको अनुमति नलिएको वताए। रेवानको कार्यशैलीले लेकसाइडमा कानूनको साशन नचल्ने संकेत गरेको छ।
सरकारले धुम्रपान मद्यपानको सार्वजनिक स्थलमा विज्ञापन गर्न निषेध गरेको पोखरा उपमहानगर पालिकाका वरिष्ठ कानून अधिकृत नारायण शर्मा ले बताए। तर लेकसाइडको सडक महोत्सव रक्सी र वियरको स्वागत गेट र होडिङ वोडिङले सिगार्ने गरिएको छ। प्रचलित कानूनको खिलाफमा धुम्रपान, मद्यपानको विज्ञापन गरेर मोटो रकम अशुल गर्ने कार्य रोक्न नगरपालिका कार्यालयले तदारुक्ता देखाएको छ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले नगरपालिका भित्रका सार्वजनिक सडकमा धुम्रपान मद्यपानको विज्ञापन वोर्ड, स्वागत गेटहरु राख्न नदिने र राखेमा हटाइने प्रतिवद्धता जनाए। नगर प्रमुख समेतको जिम्मेवारी सम्हालेका कार्यकारी अधिकृत झलकराम अधिकारीको यस्तो प्रतिवद्धता व्यक्त भएपछि विगत वर्षहरुमा भएको कानून उलङ्घन गरेर गरिने कार्य रोकिने अपेक्षा गरिएको छ। कास्की प्रशासनले पनि राज्यले निषेध गरेका कार्यको रोक लगाउन आवश्यक सहयोग गर्ने जनाएको छ।

महोत्सवले पर्यटकीय क्षेत्रको व्यापार प्रवद्र्धन गर्ने वहानामा सार्वजनिक सडकमा धुम्रपान र मद्यपानको विज्ञापन गरेर युवा जगतलाई पथ भ्रष्ट वनाउनु लाई किमार्थ राम्रो मान्न सकिन्न। राज्यका निकाय, अधिकारकर्मीहरु, संवैधानिक अंगहरुको मौनता माथि रेष्टुरेन्ट व्यवसायीहरुले फाइदा उठाउने काम रोक्नु पर्छ । खुल्ला रुपले हिड्न पाउने सडक सँगको नागरिक अधिकार कुण्ठित गर्ने काम कसैवाट हुन नदिन समयमै पहल गर्नु जरुरी छ ।
यदुनाथ बञ्जरा

Post a Comment

 
Top