0
गोल्डेन न्यूज संवाददाता
पोखरा र आसपासको क्षेत्रमा बर्षमा साना ठूला ५० भन्दा बढी मेला महोत्सव हुन्छन् । त्यसमध्ये मानिसहरुको प्रतिक्षामा पर्ने महोत्सवहरुमा पोखरा सडक महोत्सव, फेवा नववर्ष महोत्सव, राष्ट्रिय औद्योगिक व्यापार मेला, लेखनाथ महोत्सव र पोखरा महोत्सव हुन् । अवलोकनकर्ताको अत्यधिक ध्यान तान्न सफल महोत्सवको रुपमा यी महोत्सवलाई लिईन्छ । यो मध्यमा पनि पोखरेलीको अत्याधिक प्रतिक्षाको महोत्सवका रुपमा रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवान पोखराले गर्ने सडक महोत्सव स्थापित छ । विगत १७ बर्षदेखि प्रत्येक अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिंदै आएको सडक महोत्सव पोखराको सबैभन्दा ठूलो र स्थापित महोत्सवको रुपमा गनिन्छ । मुख्य पर्यटकिय क्षेत्र लेकसाईडको तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सवमा सांगीतिक कार्यक्रम स्थल वसुन्धरा पार्क बाहेकको क्षेत्रमा प्रवेश शुल्क लाग्दैन । त्यसैले पनि कति अबलोकन कर्ता भित्रिए ठ्याक्कै भन्न सकिन्न । महोत्सवको पाँच दिनसम्म लेकसाइडका सडक साथै बसुन्धरा पार्कमा दर्शको घुइँचो त लाग्छ नै विशेष गरी अंग्रेजी नयाँ बर्षको अघिल्लो दिन त्यसको स्वागतार्थ आयोजित कार्यक्रमका लागि पुरै पोखरानै ओईरिन्छ ।

डिसेम्बर महिनाको अन्तिम दिन साझ लेकसाईडको सडक अबलोकनकर्ताको भिडले कोलाहलमय हुन्छ । शहिदचोकदेखि हल्लनचोकसम्मको क्षेत्रमा अबलोकनकर्ताको व्यवस्थापन गर्न हम्मे–हम्मे पर्छ । त्यो एकै साझ झण्डै एक लाख मानिसहरु लेकसाईडको सडकमा उत्रन्छन् । सोहि साझ आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा वसुन्धरा पार्कले भिड थाम्न सक्दैन । यस्तो लाग्छ त्यो पार्क नै साघुरिएको छ । नेपाली नयाँ बर्षको स्वागतार्थ सोहि स्थानमा पश्चिमाञ्चल होटलसंघले गर्ने फेवा नववर्ष महोत्सवका लागि खासै चासो नदेखाउने पोखरेली अंग्रेजी नयाँ बर्षको स्वागतका लागि पहिल्यै तयार हुन्छन् र साझ एकसाथ लेकसाईड झर्छन् । पोखरा र यस आसपासको साथै देशका अन्य स्थानबाट नयाँबर्ष मनाउन पोखरा आउनेहरुले लेकसाइडका होटल भरिभराउ हुन्छन् ।  लेकसाइडका सडकका ठाँउ ठाँउमा बिभिन्न सांस्कृति कार्यक्रम चलिरहेका हुन्छन् भने सडकमा टेवुल कुर्सी झरेर रेष्टुरेण्टले सेवा दिन्छन् ।

यसैबीच एकै साझ लाखांै मानिस ओईरिने, पोखराकै ठूलो र पोखरेलीकै सानको रुपमा रहेको पोखरा सडक महोत्सव । यहि महोत्सवकै लागि भनेर स्वदेश र विदेशदेखि आउने पर्यटक । महोत्सवको अबसरमा लेकसाइडका रेष्टुरेण्ट र होटलले विशेष सहुलियत घोषणा गर्छन् । यो बर्ष पर्यटकीय रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुटको व्यवस्था सहितको मेनु रहने आयोजकले जनाएको छ । त्यस्तै होटलमा ४० प्रतिशतसम्म छुट दिन सकिने होटल संघले उल्लेख गरेको छ । व्यवसायीले अवलोकन कर्ता र अन्य पर्यटकको लागि दिने छुटले अन्य बेला भन्दा महोत्सव अवधिमा लेकसाइडमा होटलको बसाई र रेष्टुरेण्टको खाना सस्तो हुनुपर्ने हो । तर सामान्य अबस्थाको भन्दा दोब्बर मूल्य असुल्ने र मौकामा चौका हान्न खोज्ने व्यवसायीीका कारण यो महोत्सवको साख भविश्यमा गिर्न सक्ने कतिपय व्यवसायीनै बताउछन् ।

यो बिशेष अवसरमा एकातिर पर्यटकलाई छुट दिने व्यवसायी संगठनले बताउछ अर्को तिर ब्यक्तिगत रुपमा तिनै व्यवसायीले मनपरी शुल्क अशुल्छन् । पाँच दिनका लागि सडकमा टेबुल कुर्सी झारेका व्यवसायी हुन् वा अन्य सबैको ध्याउन्न यो अवधिलाई कसरी नाफामुखी बनाउने भन्नेमै केन्द्रित हुने गरेको पाईन्छ । उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोईरालाले भने ‘मेला महोत्सव व्यवसायी प्रबद्र्धनको लागि आयोजना गरिन्छ न कि त्यहि मौका छोपेर कालोबजारी गर्न र उपभोक्ताको ढाड सेक्ने गरी चर्को मुल्य असुल्न होइन । ’ मनपरी मुल्य असुलीको चर्को आरोप खेपेको पोखरा सडक महोत्सवको १७ औं संस्करण सोमवारदेखि लेकसाईडमा सुरु हुदैछ । सडक महोत्सव हेर्न र नयाँ बर्ष मनाउन पोखरा आउने पर्यटकसंग लेकसाईडमा होटल रेष्टुरेण्टले मनपरी मुल्य असुलेको गुनासो प्रत्येक बर्ष सुनिन्छ । ‘मेला महोत्सवमा सहुलियत दरमा पाउनुपर्ने हो तर यहा उल्टो भएको छ, व्यवसायी उपभोक्तमुखी हुनुपर्छ’ कोईरालाले भने–‘प्रशासन सहयोगी हुदै आएको यस्ता अबैध ब्यापारलाई रोक्न पर्छ ।’

यस्ता व्यवसायीलाई कडाई गरिएको आयोजक रेष्टुरेण्ट एण्ड वार एसशोसिएशन (रेवान) पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । मूल्य सूची नभएका र अस्वभाबिक मूल्य असुलेमा खबर गर्न उनले आग्रह समेत गरेका छन् । यसअघिको अभ्यासलाई हेर्दा पर्यटकको चाप बढेसंगै भरिभराउ हुने होटलले पनि मौकामा चौका हान्ने सुर कस्छन् र १ हजार ५ सयको कोठालाई ५ हजारसम्म अशुल्छन् । लेकसाईडमा बर्सेनी होटल थपिएका छन् । कोठा अभाव हुने कुनै संभावना नै छैन । तर अभाब देखाएर बढी मूल्य असुल्ने होटल व्यवसायीमाथि उनीहरुकै छाता संस्था होटल संघले त्यसो नगर्न र गरेको उजुरी परेमा कार्बाही गर्ने चेतावनी दिएको पत्रकार गकुल बानियाँले पिस पोखरा डटकममा लेखेका छन् ।

हरेक क्षेत्रमा विकृति बिसंगति हुन सक्छन् तर त्यसलाई न्यूनिकरण गर्दै अघि जाने कुरा हो’, पश्चिमाञ्चल होटल संघका पूर्ब अध्यक्ष हरि शर्मा गैह्रेले भने–‘आउँदा दिनमा त्यस्ता चिनारी नरहने गरी कहि कतै चर्को मुल्य अशुले संघको हन्टिङ लाईनमा सम्पर्क गर्न सकिनेछ ।’ व्यवसायी प्रबद्र्धनका लागि आयोजना गरिने मेला महोत्सवको स्टल उपभोक्ता ठग्ने र बढी मूल्य अशुल्ने थलोका रुपमा चिनिन थालेको उपभोक्ताबादीहरु बताउछन् ।

Post a Comment

 
Top