0
गोल्डेन न्यूज संवाददाता
नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला ‘रुपक’ ले नयाँ बन्ने क्रिकेट बोर्डको अध्यक्षमा आफ्नो दाबी रहने घोषणा गरेका छन् । पोखरामा विहीबार संचारकर्र्मी सन्देश श्रेष्ठलेसँग कुरा गर्दै उनले क्रिकेट संघ विघटन गरेर राजनीतिक दलका युवा नेताहरु समेटेर बनाउन लागेको बोर्डको अध्यक्षमा आफ्नो दाबेदारी रहने बताएका हुन् । एकीकृत नेकपा माओवादी कास्कीको अध्यक्ष समेत रहेका कोइराला क्यानका अध्यक्ष टंक आङ्बुहाङ कार्वाहीमा परेर निलम्वन हुँदा करिब १० महिना क्यानको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष पनि हुन् । 

आफू पूर्व कार्यवाहक अध्यक्ष भईसकेकाले क्रिकेट बोर्डको स्वतः दाबेदार हुने उनले बताए । यद्यपि राजनीतिक दलको सहमतिमा बोर्ड बनेको खण्डमा भने अरुको नेतृत्व पनि स्वीकार्य हुने उनको भनाई छ । कोइरालाले विवादकाबीच क्यानको असन्तुष्ट पक्षले गरेको साधारणसभा अवैधानिक भएको दाबी गरे । उनले राष्ट्रिय खेलकुद परिषदले साधारणसभा नगर्न दिएको निर्देशन विपरित गरिएको अधिवेशन अवैधानिक हुने उनको जिकिर छ । एसिसि र आईसिसिको अनुमतिमा मात्रै साधारणसभा हुनुपर्ने र प्रतिनीधि पनि अनिवार्य हुनुपर्ने विधान भएकाले त्यस विपरित गरिएको साधारणसभा र त्यसबाट निर्वाचित नेतृत्व कुनैपनि हालतमा मान्न नसकिने उनले प्रष्ट पारे ।

यसैगरी कोइरालाले क्रिकेट बोर्ड गठन हुनु स्वागत योग्य भएको बताएका छन् । क्रिकेट संघले काम गर्न नसकिरहेकाले राजनीतिक दलका युवा नेताहरुको नेतृत्वमा बोर्ड गठन गर्नु उपयुक्त हुने उनको बुझाई छ । क्रिकेट बोर्ड गठन गर्न आफू कार्यवाहक अध्यक्ष हुँदा देखी नै पहल गरेको बताउँदै उनले राजनीतिक दलका युवाहरु आएपनि क्रिकेटलाई राजनीति गर्ने थलो भने बनाउन नहुने धरणा राखे । उनले भने,–‘क्रिकेटलाई माथि उकास्न क्रिकेट बोर्ड गठन हुनु राम्रो हो, तर यसलाई राजनीति गर्ने थलो भने बनाउनु हुँदैन ।’ उनले क्रिकेट बोर्ड गठन गर्दा क्रिकेटबाट रिटायर्ड भएकाहरु, क्रिकेटका विज्ञहरु, पूर्व खेलाडी र कोचहरु तथा कर्पोरेट हाउसहरुलाई समेट्नुपर्ने सुझाव दिए ।

यसैगरी क्यानका पूर्व कार्यवाहक अध्यक्ष कोइरालाले अबको १० वर्षमा नेपालले एक दिवसीय विश्वकप क्रिकेट खेल्न सक्ने बनाउन सकिने दाबी गरे । तर त्यसका लागि १० वर्षे योजना आवश्यक रहेको उनले आंैल्याए । क्रिकेट बोर्डलाई स्वायत्त क्षेत्रको रुपमा विकास गरेर योजना कार्यान्वयन गरे क्रिकेटको भविष्य उज्वल रहेको उनले बताए । उनले भने,–‘क्रिकेट विकासको लागि १० वर्षे योजना बनाएर कार्यान्वयन गरेमा १० वर्षमा नेपालले एक दिवसीय क्रिकेट खेल्न सक्छ । तर त्यसका लागि क्रिकेट बोर्ड स्वायत्त हुनुपर्छ । नेतृत्व र पदाधिकारीमा गरेर देखाउँछु भन्ने भावना भएको हुनुपर्छ । आवश्यक बजेट सरकारले विनियोजन गर्नुपर्छ, भौतिक पूर्वाधार निर्माण गर्नुका साथै खेलाडीलाई सेवा सुविधा राम्रो दिनुपर्छ ।’ त्यस्तै दक्ष प्रशिक्षक राखेर नियमित प्रशिक्षण र क्रिकेट रङ्गशाला निर्माण गर्नु तत्काल आवश्यक रहेको उनले बताए ।
यसैगरी क्रिकेटको विकासका लागि उनले स्वायत्त क्रिकेट बोर्ड गठन पहिलो शर्त हुने बताए । बोर्ड गठन गर्दा राजनीतिक दलको तर सक्षम युवा नेतालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनले अर्को सूत्र खोले । त्यसपछि युवा नेतृत्वले १० वर्षे कार्ययोजना बनाउनुपर्ने र त्यसरी योजना बनाउँदा तल्लो स्तरदेखी माथिल्लो स्तरसम्मै समेट्नुपर्ने उनले औंल्याए । उनले क्रिकेट संस्कृति विकास गर्नुपर्ने र त्यसका लागि स्कुलबाटै क्रिकेट खेल्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनका अनुसार स्कुलमा क्रिकेट ग्राउण्ड, पिचसहित अन्य पूर्वाधार निर्माण गर्न आवश्यक छ । 

क्रिकेट बोर्ड र त्यसको नेतृत्वकर्ताले विद्यार्थी र अभिभावकलाई क्रिकेटमा पनि भविष्य छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने उनले सुझाव दिएका छन् । उनले क्रिकेटमा आकर्षित गर्न क्रिकेट खेलेर पनि सहज रुपमा जीवनयापन गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । त्यसपछि जिल्ला जिल्लामा क्रिकेट एकेडेमी सञ्चालन, प्रत्येक संघीय प्रदेशहरुमा क्रिकेट रङ्गशाला निर्माण आवश्यक रहने उनले औंल्याए । 
क्रिकेट नेपालको पहिचान भइसकेकाले यसलाई अन्य खेल जस्तै लिन नहुने उनले तर्क गरे । क्रिकेटलाई विशेष खेलको रुपमा हेर्नुपर्ने भन्दै उनले आवश्यक बजेट निकासा गर्न सरकारले कञ्जुस्याईं गर्न नहुने धारणा राखे । अनि व्यवसायिक संघसंस्थाले पनि यस तर्फ लगानी गर्नुपर्ने उनको भनाई छ । अबको नेतृत्व राजनीतिक रुपमा र अन्तर्राष्ट्रिय रुपमा पनि लविङ्ग गर्न सक्ने हुनुपर्ने बताउँदै उनले त्यसका लागि आफू उपयुक्त भएको जिकिर गरे ।

यसैगरी क्यानका कार्यवाहक अध्यक्ष कोइरालाले क्रिकेट संघमा राजतन्त्रको धङधङ्गी अझै बाँकी रहेको आरोप लगाएका छन् । खास गरेर पुराना पदाधिकारीमा यस्तो धङधङ्गी बाँकी रहेको उनको भनाई छ । उनले भने,–‘क्रिकेट संघमा खास गरेर पुराना पदाधिकारीमा राजतन्त्रको धङधङ्गी छ, उनीहरुमा उत्पादको हिसाबले सामन्तवादी र हैंकमबादी सोंच छ, जसले अरुलाई पनि गर्न दिदैन अनि आफू पनि गर्न चाहँदैनन् । उनीहरु खेलाडीलाई नोकर सम्झन्छन् अनि कोचलाई कारिन्दा ।’ उनले क्रिकेटको विकासका लागि राजतन्त्रको धङधङ्गी बाधक भएकाले यसको अन्त्य गर्दै व्यवसायीक सोंचको विकास गर्नुपर्ने आवश्यक्तामाथी जोड दिए । उनले क्रिकेट संघको संरचना परम्परागत खालको भएकाले काम गर्न चाहनेले पनि गर्न नसक्ने अवस्था रहेको अनुभव सुनाए ।

कोइरालाको कार्यकालमा भएका कार्यहरु

–क्रिकेटको प्रमुख कार्यकारी अधिकृत र फाईनान्स म्यानेजरको व्यवस्था
–फ्लििप ह्यूजको सम्झनामा अष्टे«लियासँग मैत्रीपूर्ण खेल
–पूर्व खेलाडीलाई सम्मान ः जस्तै क्रिकेटका पूर्व कप्तान विनोद दासलाई  गाडी सहित सम्मान
–नेपाल टेलिकमसँग डेढ करोडको सम्झौता
–नेपाल टेलिभिजनसँग ब्रोडकाष्टिङ्ग सम्झौता
–प्रत्येक क्षेत्रमा डेभलपमेन्ट अफिसर राख्ने निर्णय
–प्रत्येक क्षेत्रमा एकेडेमी सञ्चालनका लागि १÷१ लाख दिने निर्णय
–त्रिविको क्रिकेट ग्राउण्डको अपग्रेडिङ्ग
–इतिहासमै पहिलो पटक आर्थिक तथा कर्मचारी प्रशासन नियमावली लागू
–व्याटिङ्ग र वलिङ्ग कोच छुट्टै राख्ने व्यवस्था
–सिनियर टिमलाई ईण्डिया टुर गराएर मैत्रीपूर्ण खेला खेलाउन सफल
–क्रिकेट संघका लागि आवश्यक सामान खरिद गर्दा वा क्याटरिङ्ग प्रयोग   गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्ने प्रचलन बसालेको
–मिसन वल्ड कप सञ्चालन गरेको ।










Post a Comment

 
Top