0
मुलुकले लगातार दुई महिनादेखि भारतीय नाकाबन्दीको सामना गरिरहेको छ । जसका कारण नेपाली अर्थतन्त्र निकै जर्जर बनिरहेको छ भने जनजीवन आक्रान्त छ । अभाव र महंगीले नेपाली जनता ठूलो सास्ती खेप्न बाध्य छन् । नेपाली जनतामाथिको यो ठूलो बर्बरता हो । देशभित्रकै आन्दोलन गर्ने मधेशी समुदाय होउन, या छिमेकी मुलुक, यसमा बढी जिम्मेवार जो भए पनि नेपाली जनतामाथिको यो क्रूर बर्बरता नै हो । नाकाबन्दीका कारण नेपाली जनताको जनजीवन आक्रान्त भइरहेको बेला पूर्वी नेपालको सीमावर्ती ठाउँमा भारतीय सुरक्षाकर्मी नेपाली भूमिमै प्रवेश गरेर नेपाली नागरिकमाथि गोली प्रहार गरेका छन् । भारतको शैलेशपुर पोस्टबाट आएका एसएसबीका जवानहरुले सुनसरीको नेपाली बस्तीमा गोली चलाउँदा चारजना नेपाली घाइते भएका छन् । नेपाली भूमिभित्रै प्रवेश गरेर नेपाली नागरिकमाथि गोली चलाउनु भारतीय हस्तक्षेपकारी रबैया र चरम बर्बरताको नग्न रुप हो । गोली लागेर चारजना नेपाली घाइते भए पनि उल्टै भारतीय दूतावासले नेपाली कोही घाइते नभएको दावी गरेको छ । अर्काको देशमा अनधिकृतरुपमा सुरक्षाकर्मी पठाउने र उनीहरुले गोली प्रहार गर्दा पनि घटना नभएको दावी गर्नु भारतीय हेपाहा रबैयाकै निरन्तरता हो । घटनाको ढाकछोप गर्ने वा विषयान्तर गर्न छाडेर भारतले आफ्नो सुरक्षाकर्मी नेपाल प्रवेश गरेकोमा माफी माग्दै संलग्न सुरक्षाकर्मीहरुलाई कार्वाही गरेको जानकारी नेपाल सरकारलाई दिनसक्नुपर्छ । अन्यथा यो घटनाले दुई देशबीचको सम्बन्ध थप बिगार्न सक्छ । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी देश हो । नेपालसाग तीनतिरबाट जोडिएको भारत सामाजिक, सां स्कृतिक दृष्टिकोणले पनि अर्को छिमेकी देश चीनभन्दा नजिक मानिन्छ । त्यसो त अहिलेसम्म नेपाली बजारमा भारतको एकाधिकार रहेको कसैबाट छिपेको छैन । राजनीतिकरुपमा पनि नेपालको आन्तरिक व्यवस्थापनका काम समेत आफै गर्न चाहने भारतीय चाहना कसैबाट लुकेको छैन । यद्यपि बेलाबेलामा यसखाले भारतीय रबैयाको नेपालमा प्रतिवाद हुँदै आएको छ । खासगरी पछिल्लो समयमा संविधान जारी गर्दा नेपाली नेताहरुले भारतीय हस्तक्षेपकारी भूमिका अस्वीकार गरेकै कारण उसले नाकाबन्दीसम्मको कदम उठायो । यसअघि पनि २०२७ र २०४५ सालमा नेपालले भारतीय हस्तक्षेपकारी रबैयाको प्रतिवाद गर्दा नाकाबन्दी लगाएको इतिहास साक्षी छ । यसपटक असोज ३ गते संविधान जारी भयो र त्यसको तीन दिनपछि असोज ६ गतेदेखि नेपालले निरन्तर भारतको नाकाबन्दीको सामना गरिरहेको छ । अस्ति मात्र सुनसरीमा भएको गोली प्रहारलाई पनि नाकाबन्दीको सन्दर्भभन्दा फरकढंगले ब्याख्या गर्नु असान्दर्भिक हुनेछ । नेपाल र नेपाली जनताबिरुद्ध जे गर्दा पनि हुन्छ भन्ने भारतीय हेपाहा रबैयाकै निरन्तरता स्वरुप यो घटना भएको हो । भारतीय हस्तक्षेपकारी रबैयाको भ्रत्र्सनासंगै देशभित्र अधिकारका लागि आवाज उठाइरहेको दावी गरेका मधेशी दल र नेपाल सरकारको भूमिकाबारे पनि चर्चा गर्नु उत्तिकै जरुरी भइसकेको छ । आफूले नाका थुनेर वा भारतलाई थुन्न लगाएर इन्धन आउन नदिने, आफ्नै दुःखमा इन्धन ल्याउने नेपालीलाई ज्यूादै जलाउने यो कहाासम्मको बर्बरता हो ? देशभित्र र बाहिरबाट भइरहेका यस्ता बर्बरतापूर्ण व्यवहारप्रति रमिते बन्नु यतिबेला सरकारको दैनिकी बनेको छ । अधिकारकै लागि मधेश आन्दोलन भएको छ भन्ने लाग्छ भने सरकार र प्रमुख भनिने दलहरुले राजनीतिकरुपमा निकास दिन सक्नुपर्छ । होइन भन्ने लाग्छ भने जसरी सकिन्छ त्यसरी जनजीवन सामान्य बनाउनुपर्छ । भारतीय नाकाबन्दीले चरम संकट सिर्जना गरिसक्दा पनि सरकारले राजनीतिक एवं कुटनीतिकरुपमा कुनै ठोस कदम चाल्न सकेको छैन । यसलाई हुनुपर्ने जति अन्तर्राष्ट्रियकरण गरिएको छैन । भारतीय राजदूतले कुटनीतिक मर्यादा तोडेर राजनीतिक गतिविधि गरिरहेको भन्दै स्वयं सत्तारुढ दलका सांसदहरुले राजदूतलाई देश निकाला गर्न माग गर्न थालेका छन् । यो कठिन अवस्थामा सरकार जसरी प्रस्तुत हुनुपथ्र्यो, त्यसमा चुकेकै छ । नेपाली राष्ट्रियताको पक्षमा त सरकार अडिग नै देखिन्छ तर आमजनतालाई पनि लामो समयसम्म त्यसरी नै अडिग रहने बनाउन कुनै विकल्प दिन सकेको छैन । सरकारले अब जवाफ दिनुपर्छ यसरी नै देश कति दिन चल्न सक्छ ?





Post a Comment

 
Top