0
उत्तरी सल्यानकोट गाविसमा रहेको त्रिपुरासुन्दरीमाईको जात्रा आइतबार सम्पन्न भएको छ ।  हरेक वर्ष मङ्सिर महिनामा उत्तम तिथि हेरेर मनाइने जात्रालाई माइस्थान जात्रा,  न्वागी जात्रा र सल्यानबेंसी जात्रा भनेर पनि चिनिन्छ । जात्राको मिति भाइटीकाको दिन सार्वजनिक गर्ने चलन छ । सदरमुकाम धादिङबेंसी बाट ४० किमी उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका श्रद्धालु भक्तजन आउने गर्छन् । यस वर्ष करिब ५० हजार जनाले जात्रा अवलोकन गरेको व्यवस्थापन समितिले जनाएको छ । प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ ।  त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक–१ स्थित सल्यानबेंसीमा गरेर दुई मन्दिर छन् । मङ्सिर महिनामा माथि डांँडाँको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पुजारीले पिँठ्युमा बोकेर करिब तीन घन्टाको पैदल दूरीमा पुगिने सल्यानबेंसीको मन्दिरमा ल्याउँछन् । राना मगर थरका पुजारीले मात्र छुन मिल्ने सो मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । तिमिल्सिना र सापकोटा थरका पुरोहित र राना मगर थरका पुजारीले बाहेक अरूले हेर्न र छुन नपाउने अनौठो चलन समेत यस मन्दिरमा रहिआएको छ ।



Post a Comment

 
Top