0
गोल्डेन न्यूज संवाददाता
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार भारतसंगको सम्वन्ध थप विगारेर मुलुकलाई सैनिकीकरणतर्फ धकेल्ने प्रयास गरेको निष्कर्षमा पुग्न थालेको छ । भारतको अघोषित नाकाबन्दीबाट सृजना भएको संकट समाधानका लागि कुटनीतिक पहल गर्नुको साटो चिढयाउने खालका गतिविधि भइरहेको ठम्याई कांग्रेसको छ । ‘भारतलाई चिढाउदै जाने र तराई मधेशका समस्या समाधान गर्न उन्मुख नहुने हो भने मुलुक भयाभह अवस्थामा पुग्ने निश्चित छ’ बुधबार सिंहदरबार स्थित कांग्रेस संसदीय दलका कार्यालयमा बसेको कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकको निष्कर्ष सुनाउँदै एक उच्च स्रोतले भन्यो,–‘स्थिति जटिल बनाएर सेना परिचालन गरी मुलुकलाई सैनिकीकरण र्फ उन्मुख गर्ने र संविधानलाई असफल बनाउने खेल त कतै भएको होइन? हामीलाई गम्भिर आशंका छ ।’ यो आशंकालाई बल पुग्ने खालको गतिविधि सरकारी पक्षबाट भइरहेको कांग्रेस प्रवक्ता दिलेन्द्र बडु बताउँछन् । ‘सत्तापक्ष पनि प्याकेजमा समाधान गर्नुपर्छ भन्ने र आन्दोलनरत मधेशी मोर्चा पनि प्याकेज नै खोज्ने । तर, प्याकेजमा समधान दिने खालको प्रस्ताव नल्याउने, यो भित्र के रहस्य छ ? बडुले भने,–‘रक्षा मन्त्रालयको नेतृत्व लिएका मन्त्रीले सेना परिचालन हुन्छ भनेर बोल्दै हिंड्नु र वातवरण थप विगार्दे जानुले आशंका बढाएको छ ।’ तराई मधेशको समस्या समाधान गर्न केही दिनदेखि सत्तापक्ष संग भएका वार्ता र छलफलपछि बुधबार बसेको पदाधिकारी बैठकमा भारतसंगको सम्वन्ध बिगँ्रदै जादा समस्या समाधानतर्फ भन्दा संकट बढै गएको ठम्याई नेताहरुको थियो । सरकारको ‘रवैया’ कै कारण समस्या समाधान गर्न प्रमुख दलहरुबीच साझा धारणा बन्न नसकेको भनाई कांग्रेस प्रवक्ता बडुले बताए । मंगलबार सरकारले जारी गरेको स्वेत पत्रमा भारतसंगको सम्वन्ध सुधार गर्नेतर्फ भन्दा बैकल्पिक मार्ग अपनाउने तर्फ बढी ध्यान केन्द्रित गरेको स्थितिलाई थप जटिल बनाएको कांग्रेसको निष्कर्ष थियो । ‘स्वेतपत्रमा भारतसंगको सम्वन्ध सुधारका लागि कुटनीतिक पहल के भयो भन्ने तर्फ भन्दा बैकल्पिक बाटोको खोजीमा मात्रै सिमित देखियो । यसले भारतसंगको सवै सम्वन्ध सकिएको अर्थमा बुझ्न थालिएको छ’ बडुले भने,’चीन र बंगलादेशसंगको बैकल्पिक मार्ग खोज्ने दिशामा केन्द्रित भइरहदा स्वेतपत्रमा भारतसंगको कुटनीतिक पहलका बारेमा बोलिएन । बैकल्पिक बाटोमा लाग्यौ । बैकल्पिक बाटो पनि ठोस रुपमा अघि बढ्न सकेको छैन । यसले समाधान निकाल्न कि संकट ?’ बडु नाका खोल्ने नाराले मात्रै समस्याको समाधान हुन नसक्ने बताउदै छिमिकी भारतसंग कुटनीतिक पहल मार्फत ट्रायक वान र ट्रायक टु वार्ता थाल्नुपर्ने बताउँछन । ’न सरकार भारतसंगको सम्वन्ध सुधारका लागि कुटनीतिक पहल थाल्छ नत तराई मधेशको समस्या समाधान गर्ने पहल गर्छ’ पदाधिकारी बैठकपछि बडुले भने,’सत्तापक्षसंग अहिले सम्म भएको छलफल र वार्ताले हामीलाई एउटै निष्कर्षमा पुर्यायो कि, सरकार तत्काल समस्या समाधन खोज्न चाहेको छैन । यो आपत्तिजनक छ । यसलाई हामी गम्भिर रुपमा उठाउँछौ ।’
 
सरकार पक्षले साझा धारणा बनाउने नाममा संविधानसंग जोडिएको बिषयका अतिरिक्त भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीबिरुद्धको बिषयलाई समेत जोडेर राख्न चाहेकाले समस्या आएको प्रतिपक्षको धारणा छ । कांग्रेसको बुझाई छ, सरकार पक्ष नाकाबन्दीको बिषयलाई उठाएर भारतलाई थप चिढाउने खालका एजेण्डा ल्याउन चाहन्छ । तर, कांग्रेस भारतलाई नचिढाई सम्वन्ध सुधार गरेर समस्याको हल खोज्न चाहन्छ । ’सरकार तत्कालिन सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विधेयक समेत भाषा परिवर्तन गरेर रिप्याकेजिङ गर्न खोजीरहेको छ । हामी त्यसलाई तत्काल पारित गराएर निकासको ढोका खोल्न चाहन्छौ, तर सरकार अघि बढाउन चाहदैन’ बडुले भने,’सीमाकंनको बिषय तत्काल हुन नहुने भएकाले तत्काल राजनीतिक निकासको बाटो त्यही हो ।’
 
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशी सिद्धान्तका आधरमा राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने व्यवस्था सहितको संशोधन विधेयक पारित भएमा भारत सकारात्मक हुने र त्यसको प्रभाव आन्दोलनरत मधेशी मोर्चामा समेत पर्ने बुझाई कांग्रेसको छ । कांग्रेसले संशोधन विधेयकलाई पारित गर्ने र सीमांकनका बिषयमा राजनीतिक संयन्त्र या संसदीय समिति बनाएर हल खोज्ने गरी साझा धारणा बनाउन सत्तपक्षसंग प्रस्ताव गरेको थियो । सरकार पक्षसंग कुरा नमिलेपछि विहिबारको व्यवस्थापिका संसदको बैठकमा कांग्रेसले संशोधन विधेयक अघि बढाउनका लागि सरकारलाई दबाव दिने भएको छ ।
 
सीमांकनका विभिन्न विकल्पमा समेत कांग्रेसभित्र छलफल चलीरहेको छ । विभिन्न विकल्प मध्ये संघीय आयोग बनाउने र विवादित क्षेत्रका बासिन्दासंग जनमत लिने दुई विकल्प उपयुक्त हुने उसको धारणा छ । कांग्रेस प्रवक्ता बडुले सीमांकनको बिषयमा भएका छलफल अहिल्यै सार्वजनिक गर्न नहुने बताउँछन । ’हामी विभिन्न विकल्पमा छलफल गरीरहेका छौ । प्रचण्डले भनेजस्तो भन्ने हो भने अहिले पूर्वमा आन्दोलन उठेको छ । भोली ताम्सालिङ र खुम्बुवानमा आन्दोलन उठ्न सक्छ । त्यहि बेला परिस्थिती कस्तो होला ? उनले भने,’तर सरकार पक्षले वातवरण विथल्ने काम गरिरहेको छ ।’



Post a Comment

 
Top