0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा यो बर्ष धान उत्पादनमा ह्रास आएको छ । गतबर्ष भन्दा यसबर्ष जिल्लामा करिब १० प्रतिशतले धान उत्पादन घटेको अनुमान गरिएको छ । गत बर्ष ८० हजार मेट्रिक टन उत्पादन भएको कास्कीमा यो बर्ष करिब ७२ हजार मेट्रिक टन मात्रै उत्पादन हुने भएको हो । ठूला फाँटहरुमा बाढी पहिरोले क्षति पु¥याएपछि धान उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौसम प्रतिकुलतासँगै गत साउनमा आएको पहिरोले बिषेशगरी हेमजा र भदौरे, फेवाफाँटमा धान खेत नै पुरेको एलए नेपाल अनलाइनमा उल्लेख छ । योसँगै बन्दहडताल र नाकाबन्दीका कारण पनि उत्पादनमा केही कमी आएको छ । तराई बन्द र नाकाबन्दीका कारण किसानहरुले समयमा रासायनिक मल पाउन सकेनन, जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईरालाले भने–योसँगै मौसम प्रतिकुलता र कृषकहरुको खेतिप्रतिको बिकर्षण पनि मुख्य कारण हुन् । उत्पादन घटेपछि यसको प्रत्यक्ष मार किसानहरुमा परेको छ भने खाद्य सुरक्षामा समेत असर परेको उनको भनाई छ ।
 
उत्पादन घटेपछि जिल्लामा खाद्य असुरक्षा बढेको छ  । यो बर्ष करिब १७ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने कार्यालयको तथ्याकं छ । कास्कीमा गएको बर्ष भन्दा ४ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने कार्यालयले जनाएको छ । गएको बर्ष १४ हजार मेट्रिकटन मात्रै खाद्यान्न अपुग भएकोमा यो बर्ष बढेर १७ हजार मेट्रिकटन अपुग हुने अनुमान गरिएको छ । कार्यालयले बर्षेनी व्यावसायिक कृषिमा आकर्षण बढ्दै गएको बताएपनि उत्पादन भने बढ्न सकेको छैन । गएको बर्षमा झण्डै २६ हजार हेक्टर जमिनमा खेति हुने भएपनि यो बर्ष घटेर २५ हजारमा पुगेको कार्यालयको तथ्याकं छ । यहाँको माग धान्नका लागि १ लाख १ हजार ६ सय मेट्रिकटन बढी खाद्यन्नको आवश्यकता पर्छ तर ८५ हजार मेट्रिकटन मात्र खाद्यन्न उत्पादन हुने गरेको छ । यस बर्ष मकै, कोदो, भट्टमासमास पनि झण्डै ७० प्रतिशत बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको छ । खेतियोग्य जमिन बाँझिदै जाने क्रम बढेको छ । कास्कीमा गएको बर्ष भन्दा यो बर्ष पाँचदेखि सात प्रतिशत बढी खेतियोग्य जमिन बाँझिएका छन् । खाद्यान्नमा कास्की ८१ प्रतिशत आत्मनिर्भर छ । खाद्य सुरक्षामा कास्की न्यून रहेता पनि पहुँचको आधारमा भने सुरक्षित रहेको कृषि कार्यालय बताउँछ । अपुग भएपनि सजिलै खाद्यान्न उपलब्ध हुन सक्ने भएका कारण पनि कास्कीका किसान पलायन हुने क्रम बढेको कोइराला बताउँछन् । खाद्यान्नको परनिर्भरताले अहिले भारतीय नाकावन्दीका कारण परेको समस्याबाट पाठ सिक्नुपर्ने देखिएको छ । नयाँ प्रविधिको प्रयोग गर्दै व्यावसाियक कृषि कर्म गरेर पनि मनज्ञ आम्दानी र सफल हुन सकिन्छ भन्ने ज्ञान सबैले राखिदिए परनिर्भरता घट्दै जाने कोइराला बताउँछन् । जिल्लाभर करिब २६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ ।



Post a Comment

 
Top