0
गोल्डेन न्यूज संवाददाता
सरकारले पोखराबाट प्याराग्लाइडिङ विस्थापनको तयारी सुरु गरेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि प्याराग्लाइडिङ विस्थापनको तयारी सरकारले गरेको हो । पोखरा साहसिक पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङको केन्द्र हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको प्याराग्लाइडिङ स्कुल स्थापना सम्बन्धी कार्यविधिअनुसार पोखरामा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न पाइनेछैन । पोखराबाहेकका स्थानमा मात्रै प्लाराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न पाउने गरी कार्य्विधि बनाइएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । पर्यटन मन्त्रालयले पोखराको सराङकोटमा नयाँ प्लाराग्याइडिङ कम्पनीलाई सञ्चालन अनुमति दिन बन्द गरिसकेको छ । पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले पनि यसैसाता पोखराबाहेक अन्य क्षेत्रमा सञ्चालन गर्ने गरी आउने प्याराग्लाइडिङ कम्पनीलाई ३ वर्षसम्म कर छुट दिने योजना सार्वजनिक गरेका थिए । मन्त्री पोखरेलले पोखरामा विमानस्थल निर्माण भएपछि प्याराग्लाइडिङ बन्द हुने भएकाले त्यसअघि नै स्थानान्तरणका लागि प्रोत्साहन गर्न कर छुटको योजना सार्वजनिक गरेको बताए । प्याराग्लाइडिङ व्यवसायबाट सरकारले प्रत्यक्ष लाभ लिन नसकेपनि पर्यटक आकर्षित गर्ने माध्यम भएकाले प्रोत्साहन गरिने सहसचिव लामिछानेले बताए । पोखरामा सराङकोटसँगै तोरेपानी र मान्द्रेढुंगामा व्यवसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालनमा छन् । व्यवसायीले भने पोखराबाट हचुवाका भरमा प्याराग्लाइडिङ विस्थापित गरे त्यसबाट पोखराको पर्यटन व्यवसायमा नकारात्मक असर पुग्ने चेतावनी दिएका छन् । ‘विश्वमा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ सञ्चालनमा रहेका धेरै उदाहरण छन्,’ नेपाल हवाई खेलकुद संघका महासचिव तथा पोखराका प्याराग्लाइडिङ व्यवसायी वसन्त दवाडीले भने, ‘वैज्ञानिक अध्ययन बिना प्याराग्लाइडिङ विस्थापित गरिनुहँुदैन ।’ नीतिनियममा दोहोरो अर्थ लाग्ने शब्दावली राखेर आफूखुसी व्याख्या गर्ने सरकारको परिपाटीले व्यवसायीलाई समस्यामा पार्ने गरेको उनको भनाइ छ । पोखरा जत्तिकै व्यावसायिक सम्भावना बोकेको क्षेत्र पाएमा व्यवसायी बाहिर प्रतिस्थापन हुन तयार रहे पनि त्यो मुस्किल रहेको उनले बताए । ‘उडान गर्न सक्ने भौगोलिक अवस्थिति धेरै छन्,’ उनले भने, ‘तर जहाँ पर्यटक नै पु¥याउन सकिँदैन, त्यस्तो स्थानमा प्याराग्लाइडिङ उडाएर के फाइदा ?’ नेपालमा अहिले ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन् । तीमध्ये अधिकांश पोखरामा केन्द्रित छन् । पोखरा बाहेक पाल्पा, सुर्खेत, काठमाडौं, बन्दीपुर, धरानलगायत स्थानमा कम्पनी स्थापना भए पनि ती स्थानमा व्यावसायिक प्याराग्लाइडिङले भने गति लिन सकेको छैन । नेपालमा १ करोड चुक्ता पँुजी देखाएर प्याराग्लाइडिङ कम्पनी स्थापना गर्न सकिन्छ । मन्त्रालयले निवेदन दस्तुर ५ हजार, बैंक ग्यारेन्टी ५ लाख, इजाजत दस्तुर ५० हजार रुपैयाँ लिएर नयाँ कम्पनी सञ्चालनको अनुमति दिने गरेको नयाँपत्रिकामा खबर छ । बैंक ग्यारेन्टी कम्पनीले सेवा सञ्चालन गरेको ६ महिनापछि फिर्ता हुने गरेको छ । नेपालमा सन् १९९० मा पहिलोपटक प्याराग्लाइडिङ उडेको इतिहास छ ।














Post a Comment

 
Top