0
गोल्डेन न्यूज संवाददाता
गत वैशाखमा गएको भूकम्पपछि पोखरा उप–महानगरपालिकामा रोकिएको घर निर्माणका लागि नक्सा पास आइतवारबाट खुल्ने भएको छ । सरकारले लागू गरेको नयाँ मापदण्डअनुसार नक्सा पास खुलाउन लागिएको कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । पोखरामा सरुवा भएर कार्यभार सम्हालेको पहिलो दिन (बुधवार) नै उनले नक्सा पास खुलाउने निर्णय गरेका हुन् । ‘नगरपालिकाको प्रमुख काम घर बनाउन नक्सा पास गर्दै सहजीकरण गर्ने र शहरी सेवाको व्यवस्थापन हो,’ उनले भने । भूकम्प गइसकेपछि सरकारले ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड’ तयार पारेको छ । सोही मापदण्डअनुसार पोखरा उपमहानगरपालिकामा नक्सा पास हुने उनले जानकारी दिए । ‘सरकारले बनाएको मापदण्ड पूरा भएका सबै नक्सा आइतवारबाट पास हुन्छ,’ उनले भने ।
 
मापदण्ड पूरा गर्न नसक्ने थोरै क्षेत्रफल भएका जग्गाको हकमा भने नीतिगत सहमतिका लागि मन्त्रालयमा पत्र पठाइने अधिकारीले बताए । मन्त्रिपरिषद्ले निर्णय गरेमा मात्र मापदण्ड पूरा गर्न नसक्ने जग्गाले घर बनाउने नक्सा पास पाउनेछ । ‘सानासाना टुक्रा जग्गा भएका जनताले पनि घर बनाएर बस्ने अधिकार पाउँछन्,’ अधिकारीले भने, ‘जनतालाई मर्का पार्न भएन भनेर सााना टुक्रा जग्गाका लागि छुट्टै मापदण्ड बनाउन मन्त्रालयसँग माग गरिनेछ ।’ भूकम्प गएपछि ८ महीनासम्म घर बनाउने नक्सा पास रोकिएको थियो । गत असोजमै सरकारले घर जग्गासम्बन्धी नयाँ मापदण्ड बनाए पनि पोखरामा अहिलेसम्म नक्सा पास खुल्न सकेको थिएन । नयाँ मापदण्डअनुसार घर बनाउँदा आवासीय भवनका लािग कम्तीमा ३० प्रतिशत र व्यावसायिक प्रयोजनको भवन बनाउन कम्तीमा ४० प्रतिशत खुला क्षेत्र छोड्नुपर्नेछ । मापदण्ड पूरा गर्न ‘सेटब्याक’ (छोड्नुपर्ने दूरी) कार्यान्वयन प्रमुख चुनौती देखिएको छ । सँधियारतर्फ दुवैतिर कम्तीमा १ दशमलव ५ मिटर (५ फुट) सेटब्याक छोड्नुपर्ने छ । नयाँ मापदण्ड लागू हुनु अगाडि १ दशमलव ५ फिट मात्र सेटब्याक छोड्दा पुग्थ्यो । सेटब्याक नछोडी घर बनाउनेले सँधियारतर्फ झ्याल राख्न पाउनेछैनन् ।
 
सँधियारतर्फ सेटब्याक नराखी घर बनाउने व्यवस्थासमेत छ । तर, उनीहरूले ३ तलाभन्दा अग्लो घर बनाउन नगरपालिकाबाट स्वीकृति पाउनेछैनन् । सँधियारको तर्फ झ्याल राखेर घर बनाउँदा ३ तलासम्म १ दशमलव ५ मिटर, ३ देखि ५ तलासम्म २ मिटर, ५ तलामाथि ३ मिटर सेटब्याक छोड्नुपर्ने पोखरा उप–महानगरपालिकाका इञ्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘सबै घर बनाउँदा इञ्जिनियरिङ डिजाइन अनिवार्य छ,’ उनले भने,–‘दिगो र व्यवस्थित शहरी विकासका लागि नयाँ मापदण्ड निकै राम्रो छ ।’ नगरपालिकाले प्राविधिकलाई समेत थप जिम्मेवारी बनाउन सिफारिश गरेपछि अनुगमन हुने पनि उनले बताए । कन्सल्टेन्सी तथा प्राविधिकले नक्सा बनाएपछि मात्र पास प्रक्रिया अगाडि बढ्छ,’ पौडेलले भने, ‘नक्सा बनाएको ४ वर्ष्भित्र घर सम्पन्नताको प्रमाणपत्र लिइ सक्नुपर्नेछ ।’ नयाँ मापदण्ड कस्तो आयो भनेर आम सर्वसाधारणले बुझ्न बाँकी रहेकाले पनि नगरपालिका थप जिम्मेवार हुनुपर्ने उनले बताए । ‘मापदण्ड र खुला क्षेत्रका बारेमा सर्वसाधारणलाई बुझाउनुपर्ने छ,’ उनले भने, ‘साना पिछाड, सानो बाटो, क्षेत्रफल कम भएकाहरूलाई अब केही समस्या हुने देखिन्छ ।’ साढे २ आना भन्दा कम जग्गा भएकाले नक्सा पाउन निवेदन नै दिन पाउनेछैनन् । भूकम्प जानुअघि पोखरामा बढीमा ३५ फुट अग्लोसम्म घर बनाउन पाइने मापदण्ड थियो । नियमविपरित अग्लो घर बनाउनेहरूले पनि घर सम्पन्नताको प्रमाणपत्र पाउन सकेका छैनन् । मापदण्डअनुसार इञ्जिनियरिङ पद्धति अपनाएमा आगामी दिनमा जति अग्लो घर बनाउन पनि पाइने बाटो खुलेको आर्थिक अभियान दैनिकमा उल्लेख छ । बनिसकेका घरलाई नयाँ मापदण्ड लागू हुनेछैन । ‘वैधानिकता पाउन बनिसकेका घर पुरानो मापदण्डअनुसार भने हुनु अनिवार्य छ,’–इञ्जिनियर पौडेलले भने ।



Post a Comment

 
Top