0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका पूर्व मन्त्रीहरूले पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वमन्त्री, पूर्वसांसद र पूर्वजिल्ला सभापतिले आयोजना गरेको ‘नेपाली काँग्रेसमा देखापरेका सङ्कट र हाम्रो भूमिका’ विषयको छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेलेको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याए । उनले भने–“१२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टीभित्र देखिएका मनमुटाव, विवाद र गुटबन्दी बढ्दै गयो, आगामी १३ औँ महाधिवेशनमा गुठबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त ढङ्गले अगाडि लैजानुपर्छ ।”
 
पार्टीका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले केन्द्रीय सदस्यको अनुपस्थितिमा एकलौटी ढङ्गले निर्णय गर्ने गरेको बताए । पूर्वमन्त्री मार्शलजुलुम शाक्यले जननायक बिपी कोइरालाको भनाइ ‘यदि तपाईलाई के गर्ने र के नगर्ने द्विविधा परे देशको माटो हातमा उठाएर सहिदलाई सम्झनुहोस् । अनि आफ्नो आत्मालाई सोध्नोस्, तपाईँको आत्माले जे भन्छ त्यही गर्नोस्, त्यही देश र जनतको हितमा हुनेछ’ लाई आत्मसात् गर्ने बेला आएको बताए ।
 
पूर्व राज्यमन्त्री सुशीलमान शेरचनले संविधान निर्माणपछि राष्टूपति, प्रधानमन्त्री निर्वाचनमा पार्टीले गरेको निर्णयप्रति आपत्ति जनाउँदै भने–“पार्टीलाई थप उचाइमा पु¥याउनका लागि पार्टीमा नयाँ नेतृत्वको खाँचो छ ।” पूर्वराज्यमन्त्री रेवती भुसालले नाकाबन्दीले देशमा महँगी, कालोबजारी, भ्रष्टचार मौलाउँदै गएकाले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले उचित जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताए । पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङ, चन्द्रसिंह भट्टराई, रामबहादुर गुरुङ, पूर्वसहायकमन्त्री झलकनाथ वाग्ले, उदयपुरका पूर्वसभापति विदुर बस्नेत, बिपी कोइराला मेमोरियल ट्रष्टका उपाध्यक्ष श्रीहर्ष कोइराला, बिपी सङ्ग्रहालयका अध्यक्ष पशुराम पोखरेललगायतले पार्टी नेतृत्वले बिपीको आदर्श सिद्वान्तलाई बिर्सँदै गएको जिकिर गरे । उनीहरूले पार्टीको विधानको परिच्छेद ५ को धारा २१ को (ङ) मा १० वर्ष निरन्तर पार्टीमा क्रियाशील भएको व्यक्तिलाई केन्द्रीय सदस्य बनाउन पाउने व्यवस्था भए पनि १० महिना क्रियाशील नभएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना गरे । भेलाले छलफलबाट निष्कर्षमा आएका कुरा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएको छ ।
 
यसैबीच नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवासँग सल्लाह गरेर १३ औं महाधिवेशनबाट आफू सभापतिमा निर्विरोध बन्न चाहेको बताएका छन् । शनिबार रिपोटर्स क्लव तनहुँले गरेको पत्रकार भेटमा उपसभापति पौडेलले अधिकांश नेता र कार्यकर्ताहरुको मनसाय नै आफूलाई सभापति बनाउने रहेको उनले बताए । ‘प्रतिस्पर्धाको राजनितिमा कांग्रेसलाई खरो उतार्नको लागि रामचन्द्र पौडेलले विशेष जिम्मेवारी लिनु पर्छ भन्ने धेरै साथीको भनाई मैले पाएको छु’ उनले भने, ‘आम रुपमा कार्यकर्ता पंक्ति र शुभचिन्तकहरु बाट आएको यो भनाइलाई लिएर म मेरो पार्टीका शीर्षतहमा रहेका सुशील कोइराला र शेरबहादुर देउवा दुवै जनासँग आग्रह गर्न चाहन्छु की अब तपाईहरुले पछि हटेर मलाई निर्विरोध पार्टी बनाउन सहयोग गर्नुस् भनेर प्रस्ताव गर्ने छु ।’ आफूले कांग्रेसका शीर्ष नेताहरुसँग परामर्श गरेर मात्र औपचारिक रुपमा सभापतिको घोषणा गर्ने उनले बताए । देश, कांग्रेस र लोकतन्त्रको आवश्यकताको चुनौतीलाई आफूले सामना गर्दै आएकोले आफू सभापतिमा योग्य भएको उनले बताए । ‘हामीले उहाँलाई लौ त भनेर स्वत अग्रसर गराउने थियौं नी । उहाँले हामीलाई नसोधी एक्लै अघि जानु भयो भन्ने मौका नदिनलाई र उहाँहरुलाई एक पटक सोच्ने मौका दिन मैले ठोस कुरा गरेको छैन,’उनले भने,–‘लोकतन्त्रको आवश्यकताको चुनौतीलाई मैले व्यहोर्दै आएको छु । सामना गर्दै आएको छु त्यसकारण मेरो आफ्नो कुरा स्पष्ट जनसमक्ष राख्ने छु । अघि बढेपछि मेरो कदम रोकिने छैन ।’ गुट उपगुटको राजनितिलाई समाप्त गरी कांग्रेसलाई जनता र मुलुकको हितमा सपर्पित गराउन पनि कार्यकर्ताले पार्टीको जिम्मेवारी आफूले लिनु पर्छ भन्ने चाहेको उनले बताए ।
 
निष्ठाको राजनीतिबाट आफू विचलित नभएकोले पनि सबैबाट आफूलाई समर्थन जुट्नेमा आफू ढुक्क रहेको उनले बताए । मधेसको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीलाई बार्ता र कुटनीतिक प्रयासबाट समाधान गर्नु पर्नेमा त्यसो हुन नसकेको उनले बताए । कांग्रेसको नेतृत्व सम्हालेको भए मुलुकले निकास पाई सक्ने समेत उनले बताए । पार्टीले छिट्टै निर्णय गरेर मधेस आन्दोलन र नाकाबन्दी हटाउन पहल गर्ने समेत उनले बताए ।




Post a Comment

 
Top