0
एकीकृत माओवादी कास्कीका पूर्व जिल्ला समिति सदस्य चन्द्रकान्त पौडेलको श्रद्धाञ्जली सभा मंगलबार सम्पन्न भएको छ। एमाओवादी हेम्जाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमका वक्ताहरुले पौडेलको जीवनका विविध आयामबारे चर्चा गरेका थिए। कार्यक्रममा बोल्दै एमाओवादीका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले पौडेलको जीवन आमूल परिवर्तनको सपनाको खोजीमा बितेको बताए। कार्यक्रममा एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले पौडेलको निधन माओवादी आन्दोलनका लागि मात्र नभएर कास्कीकै विकास र प्रगतिका लागि ठूलो क्षति भएको बताए। कार्यक्रममा नेपाली कांग्रेस हेम्जाका सभापति माधवशरण बास्तोलाले पौडेल सामाजिक जीवनमा अत्यन्त परिचित र जिम्मेवार व्यक्तित्व भएको बताए। नेकपा एमाले हेम्जाका अध्यक्ष मिनबहादुर पराजुली थापाले पौडेलको निधनले हेम्जाले एक असल अभिभावक गुमाएको बताए। सभामा वडा सचिव ईश्वरी बास्तोलाले हेम्जाको विकासमा चन्द्रकान्तको विशेष देन रहेको भन्दै पौडेलको निधनले अपुरणीय क्षति भएको भन्दै दुख व्यक्त गरे।  कार्यक्रममा एमाओवादी नेताहरु रामराज रेग्मी, गंगा पोखरेल, दुर्गाकुमारी विक, रामजीप्रसाद बराल, सन्तोषी आले, दिलिपविक्रम शाही, मनहरि तिमिल्सिना, पूर्ण गिरी लगायतको उपस्थिति थियो। २००६ साल पौष २७ गते कास्कीको हेम्जामा जन्मिएका नेता पौडेलको २०७२ मंसीर १० गते उपचारका क्रममा निधन भएको थियो। लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील पौडेल भूमिगत कालदेखि नै माओवादी आन्दोलनमा सरिक थिए। स्थानीय रुपमा निकै लोकप्रिय र विकासप्रेमी नेताको रुपमा चिनिने पौडेलका  श्रीमती, दुई छोरा र तीन छोरी छन्।




Post a Comment

 
Top