0
गोल्डेन न्यूज संवाददाता
कालिका वहुमुखी क्याम्पसको रजतजयन्ती कार्यक्रमको शुभारम्भ भएको छ । आइतवार क्याम्पस प्राङ्गणमा आयोजित २४औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जिवी शर्मा क्याम्पसको रजत जयन्ती समारोहको शुभारम्भ गरे । शुभारम्भ सँगै क्याम्पसले वर्ष दिन भरी विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती वर्ष मनाउने भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै उपकुलपति शर्माले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । मुलुकको आवश्यकता लाई हेरी शैक्षिक कार्यक्रम अगाडि वढाउनुपर्ने बताउँदै शर्माले क्याम्पसको शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन पर्ने कुरामा जोड दिए । 

विश्वविद्यालय अनुदान आयोगको सहयोग लिएर अगाडि बढ्न सुझाव दिदै शर्माले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा वोल्दै ब्यवस्थापिका संसदका सदस्य एवं महिला नेतृ शारदा पौडेलले शिक्षा एवं विकास निर्माणका क्षेत्रहरु राजनीतिबाट मुक्त हुनुपर्ने बताउँदै राजनीतिकरणले गर्दा राम्रा संस्थाहरु पनि धराशायी भएको बताइन । कालिका क्याम्पसको प्रशंसा गर्दै सांसद पौडेलले क्याम्पसलाई एक लाख रुपयाँ प्रदान गर्ने घोषणा गरिन ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं रजतजयन्ती मूल समारोह समितिका संंयोजक सूर्य बहादुर केसीले क्याम्पसको विकास र स्तर उन्नतिका लागि आफूले अनवरत रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । संस्थापक क्याम्पस प्रमुख वलवीर शिंह नेगीको योगदानको चर्चा गर्दै अध्यक्ष केसीले क्याम्पसको विकासका लागि सवै पक्षको आवश्यकता आंैल्याए । ब्यवस्थापन समितिका सदस्य डा. कृष्ण केसीको सभापतित्वमा  सम्पन्न सो कार्यक्रममा संचालक समिति सदस्य एवं चन्द्रमाया प्रतिष्ठानका सदस्य वोधराज कार्की, पूर्व ब्यवस्थापन समििितका सदस्य महेश गुरुङ्ग, कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धर,  क्याम्पसका प्राध्यापक संघ इकाई समितिका कावा सभापति रवीन्द्र बाँस्तोला, पूर्व प्राध्यापक विश्व अधिकारी, वुद्धटोल महिला संमूहकी अध्यक्ष सम्झना अधिकारी, विद्यार्थी कल्याण समितिका अध्यक्ष राम सुनार लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

कार्यक्रममा स्वागत मन्तब्य ब्यवस्थापन समितिका सदस्य ललित भण्डारीले गरेका थिए भने संचालन प्राध्यापक माधव बरालले गरेका थिए । सो अवसरमा क्याम्पसमा संचालन भएका विभिन्न खेलकुद एवं अन्य निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरु लाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी एवं विभिन्न आमा समूहहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







Post a Comment

 
Top