0
लामो समयदेखि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले सोमबार आयोजना गर्नुभएको प्रमुख दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।  सभामुख घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको प्रमुख दलको बैठकमा नेपाली काँग्रेसले संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयकलाई सँगै कार्यसूचीमा राख्नुपर्ने धारणा राखेको थियो ।  यस्तै सत्तारुढ दलले भने भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठनसम्बन्धी विधेयकलाई सदनमा पहिलो कार्यसूचीका रुपमा राख्ने र सोलगत्तै संविधान संशोधनसम्बन्धी विधेयक राखेर समस्याको समाधान गर्ने बताएको थियो । तर दुवै विधेयकलाई सँगै प्रस्तुत गर्नुपर्ने काँग्रेसका नेताको अडानका कारण आजको बैठक पनि निष्कर्षमा पुग्न नसकेको हो । 
तराई मधेसमा आन्दोलनरत दलले भूकम्पपछिको पुनःनिर्माण सम्बन्धी विधेयक प्रस्तुत गर्न अवरोध नगर्ने बताइरहेका बेला काँग्रेसले अवरोध गरेको भन्दै सत्तारुढ दलका नेताले आपत्ति प्रकट गर्दै आएका छन्। संविधान संशोधनसम्बन्धी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको विधेयकलाई प्रमुख दलले समर्थन गरिसकेका छन् । तर पुनःनिर्माणसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी विधेयकसँगै प्रस्तुत हुनुपर्ने काँग्रेसको अडानले सदनको कारबाही लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । मधेसी मोर्चाले संविधान संशोधन विधेयक पेस भए सदन अवरुद्ध गर्ने बताउँदै आएको छ भने काँग्रेसले सो विधेयक प्रस्तुुत नगरी नछाडे अवस्था आएपछि प्रमुख दलको बैठक आयोजना गरिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले लगातार अवरुद्ध हुँदै आएको संसद् सञ्चालन गर्ने फरक फरक विकल्पमाथि सकारात्मक छलफल भएको जानकारी दिए । मङ्गलबार अपराह्न १ बजे बस्ने संसद्को बैठक अगाडि नै सदन सञ्चालन गर्ने विभिन्न  विकल्पका बारेमा तीनै दलका शीर्ष नेताले जानकारी गराउँछौँ भनेर जानकारी गराउनुभएको उनको भनाइ छ ।

Post a Comment

 
Top