0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेर भाँडा व्यवसाय गर्ने व्यवसायीहरुले पाँचदिने व्यवसाय व्यवस्थापन तालिम लिएका छन् । पोखरा उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा भाँडा व्यवसायी संघको सहयोगमा तालिम आयोजना भएको हो । तालिममा २५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो । तालिममा व्यवस्थापनमा आवश्यक पर्ने सीपहरु, व्यवस्थापन कौशल, व्यवसाय बिस्तार एवं क्रेताहरुसँग कस्तो व्यवहार गर्ने भन्नेसम्मका विषयको ज्ञान प्रदान गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघले तालिममार्फत विभिन्न बस्तुगत संघसँग आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने क्रममा यो तालिम आयोजना गरिएको संघका महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । तालिम समापनको अवसरमा बोल्दै संघ तथा कार्यक्रमका अध्यक्ष विन्दुकुमार थापाले तालिमपछि व्यवसायीहरुको कार्यक्षमतामा वृद्धि हुने अपेक्षा गरे । संघको विधान संशोधनपछि बस्तुगत संघहरुलाई संस्थागत सदस्यताको अवसर प्राप्त भएको र विधान संशोधन अभियान बस्तुगत संघहरुकै कारण सम्भव भएको उनको भनाइ थियो । उनले व्यवसायीहरुले अबका दिनहरुमा संयुक्त लगानीलाई जोड दिँदै अगाडि बढ्नुपर्ने समेत बताए ।
तालिममा सहभागिहरुलाई संघका अध्यक्ष थापा, पूर्व अध्यक्षहरु सुरेशकुमार राजभण्डारी तथा हेमबहादुर प्रधानले प्रमाणपत्र बितरण गरेका थिए । तालिममा रामप्रसाद तिवारी, मुकुन्द ज्ञवाली र वीरेन्द्र वैद्यले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
समापनको अवसरमा बोल्दै भाँडा व्यवसायी संघका अध्यक्ष कुश कार्कीले बस्तुगत संघहरुलाई सक्षम बनाउँदै यस्ता तालिम आफै आयोजना गर्न सक्ने बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको अपेक्षा गरे । तालिमका प्रशिक्षक रामप्रसाद तिवारीले व्यवहारमा उतारेमात्र तालिमको महत्व बढ्ने बताए । सहभागीद्वय नविना श्रेष्ठ र बलराम तिमिल्सिनाले तालिमले आफूहरुलाई नयाँ जानकारी दिएको बताए ।














Post a Comment

 
Top