0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलको एक मात्र कन्या क्याम्पस रजत जयन्तीको तयारीमा जुटेको छ । पोखराको नदिपुरमा रहेको कन्या क्याम्पसको रजत जयन्ती विभिन्न कार्यक्रम गरि मनाउने तयारी भएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । क्याम्पसले रजत वर्षको पूर्वसन्ध्यामा मंसिर २१ गते रक्तदान कार्यक्रम, २२ गते रजत जयन्तीको कार्याक्रम उद्घाटन गर्ने कार्यक्रम तय भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रलाल प्रधानले जानकारी दिए ।
प्रधानले एक वर्षभरी रजत जयन्तीका विभिन्न कार्यक्रम गर्ने बताए । उनले अन्तर कलेज छात्रा भलिबल, वक्तित्वकला, निबन्ध प्रतियोगिता लगायतका कार्यक्रम गर्ने बताए । उनले क्याम्पसबाट हाल सम्म दश जोड तर्फ ३ सय ८७ जना, स्नातक तर्फ ३ सय ९९ जना र स्नातकोत्तर तर्फ १४ जना छात्रा गरि ८ सय छात्राहरु अध्ययन गरिरहेको उल्लेख गरे । क्याम्पसमा ५१ जना प्राध्यापकहरुले प्राध्यापन गरिरहेका छन् । उनले हरेक वर्ष आर्थिक बिपन्न, पिछडिएका, दुर्गम क्षेत्र र अबसरबाट बञ्चित रहेका जेहेन्दार ३० जना छात्रालाई छात्रवृति प्रदान गर्दै आएको बताए । क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि कियुएए प्रमाणपत्र प्राप्त गर्न क्याम्पस अगाडी बढेको क्याम्पस प्रमुख सुरेश मानन्धरले जानकारी दिए । उनले शैक्षिक गुणस्तर शुधार गर्न ८ विषयका बिभागहरु गठन गरि बिभागिय प्रमुखहरु समेत तोकिएको बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गरेका कारण क्याम्पसबाट छात्राहरुले बेला बेलामा नेपाल टप गरेको बताए ।
 
दुर्गमका विद्यार्थीलाई जापानको साथ कन्या क्याम्पसमा कक्षा ११÷१२ अध्ययन गर्नका लागि विगत १० वर्ष देखि जापान नेपाल महिला शिक्षा संघले सघाएको छ । संघले सुदुर पश्चिमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम जिल्लाका १० जना छात्रालाई निःशुल्क पढाउदै आए छ । उनीहरुलाई साकुरा डोरमिटरी छात्राबासमा बस्ने, खाने निःशुल्क व्यवस्था र क्याम्पसको शिक्षा कक्षा ११ र १२ को अध्ययन गराउदै आएको छ । यो कार्यक्रम अन्तरगत ८० जना छात्राले अध्ययन गरेका छन् भने २० जना अहिले अध्ययनरत रहेका छन् । अध्ययन पछि छात्राले आफ्नै जिल्लामा ३ वर्ष प्राथमिक विद्यालय शिक्षिका रुपमा सेवा गर्न पर्ने क्याम्पस प्रमुख मानन्धरले उल्लेख गरे । उनले अहिले सम्म ५० जनाबाट उत्कृष्ट ५ जनाले जापानमा अध्ययन गर्ने अवसर पाईसकेको उनले बताए ।


Post a Comment

 
Top