0
गोल्डेन न्यूज संवाददाता
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्र विन्दु बारपाकमा रहेका होमस्टेहरुको पुनः व्यवस्थित संचालनका लागि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले १९ वण्डल रंगीन जस्तापाता वितरण गरेको छ। भिटोफ नेपाल केन्द्रीय कार्यसमिति र कास्की जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा बारपाकका होमस्टे संचालक २० घरधुरीमध्ये अति विपन्न तथा भूकम्पले पूर्ण क्षति भएका ६ घर धुरीलाई प्रत्येक घरलाई २४ पाताको दरले बिहीबार वितरण गरिएको थियो । बारपाक गाविस वडा नं. ४, घर नं. २ का प्याली घले, वडा नं. ५ घर नं. ४ का पुरबहादुर घले, घर नं. ५ का फूलदानी घले, घर नं. ६ का रसबहादुर घले, वडा नं. ७ घर नं. ११ का पञ्चलाल घले र वडा नं. ९ घर नं. १३ का सुनबहादुर घलेलाई करिब दुई लाख पचास हजार बराबरको रंगीन जस्तापाता सहयोग प्रदान गरेका थिए। जस्तापाता वितरण कार्यक्रमका प्रमुख अतिथि भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारीले नेपालको पर्यटन व्यवसायको विकास नै देश विकासको माध्यम भएकोले भिटोफले गाउँ पर्यटन अभिवृद्धिका कार्यक्रम गर्दै आएको बताए। उनले तीन महिना पहिले बारपाकको होमस्टे संचालकहरुलाई दिएका वचनवद्धता अनुरुप नै जस्ता वितरण गरिएको बताउँदै अगामी दिनहरुमा पनि संस्थाले होमस्टे प्रवद्र्धनका कार्यक्रम गर्दै जाने बताए।
 
होम स्टे संचालक समितिका अध्यक्ष मनोज गुरुङले धेरै संघ–संस्थाले आस देखाएको तर सहयोग नै लिएर पुनः बारपाकमा आएको संस्था नै भिटोफ भएको बताउँदै कुनैपनि संस्थाले यो वा त्यो सहयोग गर्छु भनेर भन्दैमा आशा नगरेको बताउँदै आफूहरु मिलेर टेन्टमा पाहुना राखेर पनि होमस्टे संचालन गरेको बताईन्। भिटोफ कास्कीका उपाध्यक्ष चूडामणि दाहाल (राजु) ले कार्यक्रममा स्वागत मन्तव्य राख्दै भूकम्पले थला पारेको गोर्खाको बारपाकमा होम–स्टे संचालनका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा विभिन्न कार्यहरु गरी सहयोगलाई निरन्तरता दिने बताए। सो अवसरमा कार्यक्रम संचालक भिटोफ कास्कीका महासचिव नवराज अधिकारीले भिटोफको कार्यक्रमलाई ग्लोबल भिजन इन्टरनेशनल, रोसियो इन्भारोमेन्ट अवारनेस (सि–नेपाल), स्वीजरल्याण्डका नागरिक लुईस, लेकसाईडका राजु थापा, श्रीराम गिरी, एड्मीरा टुर्स एण्ड ट्राभल्स तथा होटल एड्मिराका संचालक बाबुराम पाण्डे, स्काई मार्क टुर्स एण्ड ट्राभल्स, फेवा टुर्स एण्ड ट्राभल्सलगायत सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई धन्यवाद दिएका थिए।

Post a Comment

 
Top