0
कल्पना पौडेल
प्रविधिको विकासले सबै कुरा इन्टरनेटमा सजिलै प्राप्त गर्न सकिन्छ तर, किनेर पुस्तक पढ्नेको पनि कमी छैन भन्ने कुरालाई सत्य सवित गरेको छ भृकुटीमण्डपमा आयोजित पुस्तक प्रदर्शनीमा बढेको पाठकको भीडले । व्यस्त समयको बावजुद पनि मानिसले थोरै समय निकालेर पुस्तक पढ्ने गर्छन् भन्छन्–लेखक तथा प्रकाशक पुण्यप्रसाद प्रसाईं । मानिसहरू व्यस्त समयमा धेरै कामका लागि दौडिरहेका छन् उनीहरूलाई आफ्ना लागि समय निकाल्न मुस्किल हुन्छ, यस्तो अवस्थामा पुस्तक किनेर पढ्ने समय कमै हुन्छ तर मानिसहरूले पुस्तकका लागि समय निकाल्ने प्रसार्इंको अनुभव छ । पाठकका लागि चर्चामा नआएका तर महत्वपूर्ण पुस्तकका बारेमा जानकारी गराउन भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनी आयोजना भइरहेको छ । ‘रिड एण्ड ग्रो रिच’को आयोजनामा विभिन्न देशीविदेशी चर्चा कमाएका पुस्तक प्रदर्शनीमा राखिएको प्रदर्शनीका संयोजक प्रसार्इंले बताए । पहिले सबै उमेर समूहका पाठकले अवलोकन गरी पुस्तक किन्ने गरेको उनले बताए । धेरै पुस्तकहरू जुन चर्चामा कम आएका तर अति महत्वपूर्ण छन् ती पुस्तकहरू प्रदर्शनीमा राखिएको आयोजकले जनाएका छन् ।

पाठकको पनि फरक फरक रुचि हुन्छ, धार्मिक, राजनीतिक, कूटनीतिकलगायतका पुस्तक पाठकले खोज्ने गरेको पाइन्छ”– प्रसार्इं भन्छन् । सुर्खेतका प्रकाश शर्मा लोकसेवा आयोगका पुस्तकहरू राजनीतिक तथा कूटनीतिका क्षेत्रमा लेखिएका पुस्तकहरू मन पर्ने बताउछन् । उनले आफूले खोजेजस्तो पुस्तक पसलमा सजिलै प्राप्त गर्न नसकेपछि प्रदर्शनी आई किन्ने गरेको बताए । इन्टरनेटमा धेरै समय बिताउने सिनामङ्गलका प्रदीप कार्कीलाई भने खाना पकाउने विधिका बारे लेखिएका पुस्तकमा रुचि छ । “नेपाली, अङ्ग्रेजी दुवै भाषामा लेखिएका खाना पकाउने विधिका इन्टरनेटमा प्राप्त भएपनि पुस्तक पढेर आनन्द आउँछ, पुस्तक पढेर सिक्नु मजै बेग्लै”–कार्की भन्छन् ।  आफूले खोजेजस्तै पुस्तक आफूहरूले सजिलै प्राप्त गर्न नसकेको बताउछिन्–ालाजुकी सुनिता तिमिल्सिना । “बजारमा अङ्ग्रेजी उपन्यासहरू नाम चलेको पुस्तक पसलमा पनि पाइँदैन, पाए पनि निकै महँगो मूल्य तिर्नुपर्छ”–सुनिता भन्छिन् ।
 
पाठक र स्रष्टाहरू बीचमा अन्तक्र्रिया गराउने, कस्ता पुस्तक पाठकले पढ्न चाहेका छन् भनी छलफल हुने थलो हो पुस्तक प्रदर्शनी, जहाँ पाठकले कस्ता साहित्यको खोजी गरिरहेका छन् भनेर अनुमान लगाउन सक्ने भएकाले पनि पटक पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको सुनाउछन् संयोजक प्रसार्इं ।    खासगरी, उपन्यासहरू पढ्ने सम्झना न्यौपानेले सकारात्मक उत्प्रेरणा दिने खालका साहित्यकृति मन पर्ने बताउछन् । नेपाली साहित्यका पुस्तकहरू अलि बोझिला, जटिल शब्द संरचना भएकाले बुझ्न गाह्रो हुने हुनाले सरल वाक्यमा साहित्य सिर्जना गर्न उनले लेखकहरूलाई आग्रह गरे । दुई दर्जनभन्दा बढी पुस्तक लेखिसकेका प्रसाईं पनि नेपालीमा निराशाको स्थिति बनिरहेकाले केही गर्न सकिन्छ, युवालाई नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने खालका पुस्तक लेखिनुपर्ने धारणा राख्छन् ।
 
पुस्तक पढेर कतिपय मानिसको जीवनशैली नै फेरिएको उदाहरण पनि पाइन्छ । अहिले पुस्तक लेखेर पनि कतिपय लेखकले राम्रो आम्दानी गरिरहेका छन् जसका पुस्तक पाठकले खोजीखोजी पढ्ने गरेका छन् ।    पुस्तक प्रदर्शनीमा सबै प्रकारका पुस्तक राखिएका हुनाले सबैखाले पुस्तकको भेराइटी पाइने हुँदा एकै स्थानबाट सबै प्रकारका पुस्तक कम मूल्यमा पाइने हुनाले सजिलो भएको बताउछन् बुटवलकी कमला पाण्डे । उनी भन्छिन्– “मानिसले दिनको एक घन्टा पढेमा उसको तार्किक शक्ति बढ्छ, पुस्तक किनेर पढ्दा जहाँ पनि मन लागेको समयमा पढ्न सकिन्छ ।”
छापामार’, ‘आइमाई मान्छे’, ‘मोक्षदा’, ‘युद्धका डोबहरू’ लगायतका सात उपन्यास, भर्खरै ‘नयाँ हजार आशाहरू’ कथा सङ्ग्रह बजारमा ल्याएका प्रसार्इं आफ्ना बच्चाहरूलाई पनि राम्रो पुस्तकालय भएको विद्यालयमा मात्र भर्ना गर्न सुझाव दिन्छन् । भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको पुस्तक प्रदर्शनी मङ्सिर १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा दैनिक एक हजार भन्दा बढीले अवलोकन गर्ने गरेको र रु पाँचलाख देखि रु छ लाखसम्मको कारोबार भइरहेको आयोजकले जानकारी दिएका छन् । रासस

Post a Comment

 
Top