0
हरि पन्त
पोखरा १९ मंसिर ।

लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर ध्रुव थापाले आफ्नो कार्यकालको छोटो समयमै उच्च सफलतातर्फ उन्मुख भएको बताएका छन् । डिष्ट्रिक्टको जिम्मेवारी सम्हाल्ने क्रममा गरेको वाचा र आफूले लिएको लक्ष्य कार्यकालको ५ महिनामै हासिल भएको भन्दै उनले डिष्ट्रिक्ट ३२५ बी १ विश्वकै दोस्रो नम्बरमा आउन सफल भएको बताए । शनिबार पोखरामा सम्पन्न लायन्स क्लव अफ पोखरा दर्पणको चाटर्ड हस्तान्तरण समारोहमा बोल्दै गभर्नर थापाले भने–‘मेरो कार्यकालमा डिष्ट्रिक्टमा कसैले नसोचेको काम भएको छ । डिष्ट्रिक्टमा आवद्ध क्लव तथा लायन्स सदस्यहरुले समेत उच्च मूल्याङ्कन गर्ने खालको काम गरेका छन्, जिम्मेवारी निर्वाह गरेका छन् । ती सहयोग गर्ने हातहरुलाई म हृदयदेखि नै उच्च सम्मान व्यक्त गर्दछु ।’ उनले डिष्ट्रिक्टलाई यस्तो महान कार्यमा महत्वपूर्ण योगदान र सहयोग गर्ने सबै लायन्स तथा २०८ वटा लायन्स क्लवहरुलाई धन्यवाद ज्ञापन गरे ।
गभर्नर थापाका अनुसार लायन्स क्लव अन्तर्राष्ट्रियले १०० औं वर्षगाँठ मनाउने तयारी गरेको छ । हाल लायन्सको संगठन करिब २१४ मुलुकमा विस्तार भइसकेको भने करिब १४ लाख सदस्य लायन्समा आवद्ध रहेको बताइन्छ । नेपालमा लायनवादको विस्तार भएको करिब ४४ वर्ष पुगेको छ ।  हाल डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र २०९ वटा क्लव र ६ हजार १२७ जना सदस्य पुगिसकेको बताइन्छ । नेपालमा करिब ६ सय क्लवका साथै १८ हजार बढी सदस्य पुगेको बताइन्छ । नेपालमा आइपर्ने विपत्तिको सामना एवं सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि नेपाल लायन्स फाउण्डेशन (एनएलएफ) स्थापना भएको थियो । २२ वषको अवधि अर्थात गत आर्थिक मशान्तसम्ममा फाण्डेशनको कोषमा १ करोड १२ लाख रुपैयाँ थियो । थापाले डिष्ट्रिक्टको जिम्मेवारी सम्हालेको ५ महिनामै करिब एक हजार तीन सदस्य सहित१ करोड २७ लाख रुपैयाँ  कोषमा थपिएको छ । लायन्स फाउण्डेशनको सदस्यता लिनका लागि कम्तिमा ५ हजार १०० रुपैयाँ तिर्नुुपर्ने हुन्छ । उक्त कोषमा हाल करिब २ करोड ५० लाख रुपैयाँ पुग्न लागेको छ भने । यसका साथै डिष्ट्रिक्ट ३२५ बी १ बाटमात्र ७० जना लायन्सहरुले मेल्भिन जोन फाउण्डेशन
(एमजेएफ) को सदस्यता लिइसकेका छन् । उक्त फाउण्डेशनको सदस्यता लिनका लागि १ हजार रुपैयाँ डलर तिर्नुपर्ने हुन्छ । एनएलएफको कोषमा जम्मा भएको रकमलाई नेपालको भूकम्प पीडितका लागि खर्च गरिने गभर्नर थापाले बताए । गभर्नर थापाले नेपालको भूकम्प पीडितका लागि अन्तर्राष्ट्रिय लायन्सबाट ५० करोड रुपैयाँ आउन लागेको जानकारी दिए । उक्त रकमबाट नेपालमा १ हजार घरहरु बनाइने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । सरकारले प्राधिकरण निर्माणमा ढिलाई गरेका कारण आफूहरुले योजना अघि बढाउन ढिलाई भएको स्पष्ट पार्दै उनले सरकारले पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएकाले आफूहरुले पनि १ हजार घर बनाउने योजना अघि बढाइसकेको जानकारी दिए । गभर्नर थापाका अनुसार पोखरामा हर्टकेयर सेन्टर निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । यस्तै भूकम्पबाट प्रभावित जिल्लाहरुमा १६ विद्यालयका भावनहरु निर्माण कार्य शुरु भइसकेको उनले बताए । डिष्ट्रिक्ट ३२५ बी १ का गभर्नर थापाकै सक्रियतामा काठमाडौं, पोखरा र म्याग्दीमा ३ वटा एम्वुलेन्स संचालनमा आइसकेका छन् ।

कार्यक्रममा लायन्स क्लव अफ पोखरा अर्पणले स्पोन्सर गरेको क्लव लायन्स क्लव अफ पोखरा दर्पणलाई लायन्स क्लवको आधिकारिताको प्रमाणपत्र प्रदान गरिएको छ । लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त आधिकारिताको प्रमाणपत्र डिष्ट्रिक्ट गभर्नर थापा र अर्पण लायन्सकी अध्यक्ष लक्ष्मी पाण्डेले दर्पणको नेतृत्व गरिरहेका ई. सञ्जीव थापा र प्रथम उपाध्यक्ष ई. सुरेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका थिए । उक्त क्लवमा ४० जना सदस्य रहेका छन् । अर्पण लायन्सले शनिबार नै लायन्स क्लव अफ पोखरा अञ्जुलीको समेत उद्घाटन गरेको छ । उक्त क्लवको उद्घाटन डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले गरेका थिए । दर्पणका पदाधिकारी एवं सदस्यहरुलाई पदस्थापन गराउँदै डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्यले लायन्सको नीति अनुरुप पद तथा गोपनीयताको शपथ खुवाएका थिए । सेक्रेटरी आचार्यले लायन्सको नीति र लायन्समा आवद्ध क्लवहरुले गर्नुपर्ने कर्तव्य तथा निर्वाह गर्नुपर्ने भूमिकको बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा गभर्नर थापाले दर्पण लायन्सका अध्यक्ष ई. सञ्जीवसहित क्लवका ४० जनालाई नै विशेष पिन र प्रमाणपत्र द्वारा सम्मान गरेका थिए भने मेल्भिन जोन फाउडेशनको सदस्यता लिएका क्लवका अध्यक्ष थापालाई लायन्स टाइद्वारा समेत सम्मान गरेका थिए । क्लवका अध्यक्ष ई. सञ्जीव थापाले अर्पण लायन्सकी अध्यक्ष लक्ष्मी पाण्डे, जोन चियर पर्सन रमेश बहादुर खत्री, एक्सटेन्सन चियर पर्सन जीवन बहादुर क्षेत्री, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ र गाइडिङ गोविन्दबहादुर खत्रीेलाई विशेष सहयोग गरेकोमा मायाको चिनोद्वारा सम्मान गरेका थिए । त्यस अवसरमा बोल्दै अध्यक्ष थापाले आफ्नो क्लवलाई डिष्ट्रिक्टकै नमूना बनाउने प्रण गरेका छन् भने क्लवमा आवद्ध सबै सदस्यबाट उपयुक्त सहयोग पाउने अपेक्षा गरेका छन् । त्यस अवसरमा उनले आप्mना क्लवले गर्ने भावी रणनीति समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जोन चियर पर्सन रमेश बहादुर खत्री, रिजन चियर पर्सन राजेन्द्र सापकोटा, गाइडिङ गोविन्दबहादुर खत्री, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ लगायतले शुभकामना एवं लायन्स गतिविधि बारे प्रकाश पारेका थिए । अर्पण लायन्सकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एवं संचालन सचिव अमिता बानिया केसी र ध्वजाको अभिवादन हीरा भण्डारीले गरेकी थिइन ।


Post a Comment

 
Top