0
गोल्डेन न्यूज संवाददाता
उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सीमाङ्कन हेरफेर गर्ने नाममा तराईका जिल्लालाई पहाडबाट अलग गर्न नसकिने बताएका छन् । गल्कोट सेवा समाज बागलुङले आइबार  आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपप्रम केसीले मधेसी दलले तराईका २२ जिल्लालाई अलग्गै राख्न खोजेको आरोप लगाए ।
 
अहिले भएको प्रदेशको सीमाङ्कन नै उचित भएको तर्क राख्दै उपप्रम केसीले आन्दोलनरत मधेसी मोर्चाले राखेको मागअनुसार नयाँ सीमाङ्कन हुन नसक्ने ठोकुवा गरे । “मधेसी दलको प्रमुख माग भनेको सीमाङ्कन बारेमा छ, उनीहरु पहाडबाट छुट्याएर तराईका २२ वटै जिल्ला अलग राख्न चाहन्छन्”–उपप्रम केसीले भने । आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विपक्षमा राखेको मत अहिले आएर सही भएको पुष्टि हुँदै गएको उपप्रम केसीले उल्लेख गरे ।      उनले सङ्घीयता नेपालका लागि गलपासो जस्तो बन्दै गएको बताए । संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै उपप्रम केसीले भारतले अनावश्यक रुपमा हस्तक्षेप गरेको बताए । “भारत जहिले पनि नेपालको राजनीतिमा खेल्न चाहन्छ, २००७ सालदेखि नै भारतले नेपालको हरेक क्षेत्रमा नियन्त्रण कायम राख्न खोजेको देखिन्छ”– उपप्रम केसीले भने । केसीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताका लागि कसैसँग सम्झौता नहुने स्पष्ट पारे । उनले आफ्नै कारणले पनि नेपाली विदेशी मुलुकसँग परनिर्भर हुनुपरेको बताए । “हामीमा परनिर्भरता छ, उत्पादनमार्फत राष्ट्रिय पुँजीको विकास नगरेसम्म हामी आत्मनिर्भर रहन सक्दैनौँ, हाम्रो अर्थतन्त्र स्वाधीन हुँदैन”–उपप्रम केसीले भने । फरक प्रसङ्गमा केसीले दशकौँसम्म प्रतिपक्षमा बसेको पार्टीका तर्फबाट उपप्रधानमन्त्री बन्न पाउँदा आफू फुरुङ्ग नपरेको बताए । आफू मन्त्री हुँदा पनि नहुँदा पनि जनताको चित्रबहादुर केसी रहेको उल्लेख गरे । “जनताको सेवा र हित प्रधान हो, मेरो यो पद गौण हो”–उपप्रम केसीले भने । उपप्रम केसीले आज नै बाग्लुङ चिप्लेटी बसपार्कको पनि उद्घाटन गरे ।     उनले जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसँग आवश्यक छलफल गरे । शुक्रबार गृहजिल्ला बागलुङ आएका उपप्रम केसी सदरमुकामदेखि विभिन्न गाविसमा आयोजित कार्यक्रममा पनि सरिक भएका थिए । उपप्रम केसीलाई उनको जन्मस्थान बागलुङको गल्कोटमा अभिनन्दनसमेत गरिएको थियो ।
यसैबीच उपप्रम केसी सोमबार पोखरा आउने भएका छन् । केसी राष्ट्रिय जनमोर्चा कास्कीले पोखराको न्यूरोड स्थित होटल दीपसागरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी बन्ने कास्की सचिव आकाश गौतमले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रम दिनको २ बजे हुने उनले बताए ।

Post a Comment

 
Top