0
गोल्डेन न्यूज संवाददाता
 एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले कालोबजारी र अनियमितता नियन्त्रण गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई निर्देशन दिएका छन्। नेपाल सम्वत्को नयाँबर्षको अवसरमा एमाओवादी कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्कटको समयमा कालोबजारी नियन्त्रण गर्न असफल भए तुरुन्त मन्त्रीबाट फिर्ता बोलाइने बताए। उनले भने–‘भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन, कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउँछु । कोही कसैलाई पनि छुट दिने पक्षमा आफू छैन । जनताको दुःखमा कोही पनि रमिते बन्न पाउँदैन र मिल्दैन ।’ उच्चस्तरीय समितिका संयोजकसमेत रहेका अध्यक्ष दाहालले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गरे।  नेपाल र नेपाली जनताले संविधान बनाएबापत भारतको नाकाबन्दी खेप्नुपरेको उल्लेख गर्दै उनले विषम अवस्थामा जनताले देखाएको धैर्यता र राष्ट्रिय स्वाभिमानलाई जोगाइराख्नुपर्नेमा जोड दिए।
समानुपातिक, समावेशी सहितको दक्षिण एसियाकै उत्कृष्ट र गतिशील संविधान जारी भएको बताउँदै उनले आगामी दिनमा त्यसमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गए। मुलुकले भोग्नुपरेको विषम अवस्थालाई अवसरमा परिणत गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने समय आएकाले त्यसतर्फ सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
भूकम्पको समयमा जनताले भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै सरकारको विरोध गर्ने जस्तो सङ्किर्ण राजनीतिमा आफूहरु नलागी सरकारलाई २७ बुँदे सङ्कल्प प्रस्ताव पारित गर्न लगाइ सहयोग गरेको स्मरण गरे। जनता र मुलुकलाई केन्द्रमा राखेर निष्ठा र मूल्यको राजनीतिक संस्कार स्थापना गरेको उल्लेख गर्दै उहाँले हालको सङ्कटको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनीकन एकताबद्ध भएर अगाडि बढ्न नेपाली काँग्रेसलाई आग्रह गरे।
 
 शान्ति प्रक्रियालाई पूर्णता प्रदान गर्दा आफ्नो पार्टी फुटेको र संविधान जारी भएपछि पनि पार्टीले क्षति व्यहोर्नु परेको भन्दै उनले नेकपा–माओवादीसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको बताए। उनले भने–‘विभिन्न रुपमा रहेका माओवादी पार्टी अब एक ढिक्का हुन्छ र जनतामा जान्छ । जो एकता प्रक्रियामा आउँदैन त्यसले मुलुक र जनताप्रति ठूलो भूल गरेको ठहरिनेछ ।’

Post a Comment

 
Top