गोल्डेन न्यूज संवाददाता
विश्वमै प्रसिद्ध नेपालको पर्यटकीयस्थल पोखराको दक्षिण भेगको लेखनाथ नगरपालिका–१८ भरतपोखरीस्थित हुँडिकोट आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ«े हिमालका साथै पोखराको फेवातालसमेतको दृश्य र सात तालको बगैंचा शहर लेखनाथलाई एक साथ नाङ्गो आँखाले हेर्न सकिने हुँडिकोटमा पछिल्लो समयमा पोखरा लगायतका विभिन्न स्थानबाट पर्यटक पुग्न थालेका छन् ।पर्यटकीय आकर्षणको प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेपछि स्थानीय बरेली युवा क्लबको आयोजनामा २०६९ सालमा प्रथम हुँडिकोट महोत्सव सम्पन्न भएसँगै यसको प्रचारले नयाँ मोड लिएको हो । स्थानीय समाजसेवी एवम् महोत्सव मूल आयोजक समितिका संयोजक चेतबहादुर महतका अनुसार महोत्सवको सफलतापछि हुँडिकोटको पर्यटकीय सम्भाव्यताले पोखरा र यस आसपासका क्षेत्रमा चासो र चर्चा पाउन थालेको छ । ‘हिमाली दृश्यावलोकन एवम् पदयात्राका लागि अत्यन्त उपयोगी स्थल हुँडिकोट प्रचारकै अभावका कारण लामो समय ओझेलमा परेको हो,’ महतले भने । ‘भूकम्प र नाकाबन्दीका कारण पोखराको बाह्य पर्यटनमा ठूलो असर परे पनि हुँडिकोट जस्ता पर्यटकीय स्थलमा सदाबहार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने धेरै सम्भावना छन् ।’ माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरि लगायतका हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र हुँडिकोटबाट एकसाथ नियाल्न सकिने सफल न्यूज अनलाइनमा खबर छ । समुद्री सतहबाट एक हजार १६५ मिटरको उचाईमा रहेको हुँडिकोट उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको अर्का स्थानीय समाजसेवी गुरुप्रसाद पौडेलले बताए ।
हुँडिकोटबाट कास्की, तनहँु, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बाग्लुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थानको एकैसाथ अवलोकन गर्न सकिन्छ,’ पौडेलले भने । विगतका वर्षमा यातायातको असुविधाका कारण हुँडिकोट पुग्न निकै कठिनाइ हुने गरेकामा अहिले पोखराको विरौटा र लेखनाथको गगनगौंडाबाट बसहरु सञ्चालनमा आउन थालेका छन् । यो ठाउँ पोखराबाट लगभग १७ किलोमिटर टाढा पर्छ । तीन–चार घण्टाको अवधिमै पुग्न सकिने भएर पनि होला पोखरा र लेखनाथका विभिन्न ठाउँबाट पर्यटकहरु हुँडिकोट ओइरिन थालेका छन् । फलस्वरुप यहाँको आन्तरिक पर्यटन विस्तारै मौलाउन थालेको छ ।सार्वजनिक यातायातका माध्यमबाट भरत पोखरीको मनियल डाँडाको बस बिसौनी पुगेपछि लगभग १५ मिनेटको पैदल यात्रामा हुँडिकोट पुग्न सकिन्छ । चौबिसै घण्टा शीतल हावा लागिरहने यस ठाउँमा पुगेपछि जो कोही यहाँको भौगोलिक अवस्थिति एवम् दृश्यावलोकन बाट मोहित हुने गर्छन् । वर्षाद्को समय होस् वा हिउँदको, आसपासका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा समेत केही प्रभाव नपर्ने यो स्थल सूर्योदय अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै मनोरम छ ।
भरतपोखरीको चिरगादी, आपुभञ्ज्याङ र छहरा हुँदै हुँडिकोट पुग्न सकिन्छ । यस अतिरिक्त तनहुँको दुलेगाँंैडाबाट चवादी, बरपौवा हुँदै हुँडिकोट पुगिने पदयात्रा मार्गको विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ ।हुँडिकोटसँगै यहाँबाट नजिकै अति प्राचीन एवम् ऐतिहासिक धार्मिकस्थल कोटभैरव मन्दिर रहेको छ । यसकारण पनि यहाँ धार्मिक पर्यटनको पनि सम्भावना रहेको स्थानीवासी एवम् कोटभैरव मन्दिर संरक्षण समितिका अध्यक्ष फत्तबहादुर महत बताउँछन् । कोटभैरव मन्दिरका साथै हुँडिकोट आसपासका मनियल डाँडाको पशुपतिनाथ, सिलिङ्गेको सिद्धेश्वर महादेव, धारापानीको शिव मन्दिर, हुँडिकोटकै देउराली आदिका कारण यो धार्मिक पर्यटनका लागि पनि उपयुक्त गन्तव्य बन्न सक्ने उनको दाबी छ । उनका अनुसार कोटभैरव मन्दिरमा बाइसे–चौबिसे राजाका पालादेखि नै पूजाआजा गरिँदै आइएको छ र यहाँ भाकल गर्नेको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । प्राचीन किंवदन्ती अनुसार बरकोटका काला जटाभैरवका रुपमा पूजाआजा हुँदै आएको यो तीर्थस्थलमा कास्कीको भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहँुका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गरेको उनले बताए । जस्तोसुकै आपत् विपद्मा भैरवको स्मरण मात्रले पनि त्यो सङ्कट टर्ने जनविश्वास छ ।अत्यावश्यकीय पूर्वाधार व्यवस्थापन गर्न सकिए पोखरा भित्रिने विदेशी पर्यटकलाई एक दिवसीय अवलोकन भ्रमण एवम् पदयात्राका लागि हुँडिकोट पु¥याउन सकिने सम्भावना छ । यसै भएर यहाँ ‘होमस्टे’ वा अन्य सुविधाजनक होटेल स्थापना गर्ने तर्फ पनि सोच बढेको समाजसेवी चेतबहादुर महत बताउछन् । विदेशी पर्यटकको रोजाइमा काठमाडौँपछिको पोखरा प्रमुख स्थान भएको बताउने स्थानीय सञ्चारकर्मी एवम् प्रथम हुँडिकोट महोत्सव प्रचार समितिका संयोजक विष्णुहरि पौडेल वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक पोखरा पुग्ने गरेको भएपनि प्रचारकै अभावमा पर्यटकहरु हुँडिकोट पुग्न नसकेको धारणा राख्छन् । पोखरा वरपरका स्थलहरुमध्येको हुँडिकोट क्षेत्र विशिष्ट पहिचान बोकेर पनि पर्याप्त प्रचारप्रसार, होटल, सडकजस्ता पूर्वाधारको अभावमा ओझेलमा परेको तथ्यलाई ध्यानमा राख्दै अहिले यहाँका युवा जमात यसको प्रवद्र्धनमा सक्रिय रहनु सन्तोषको विषय हो ।
Post a Comment