0

गोल्डेन न्यूज संवाददाता
लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव झेल्दै आएका पोखरेलीहरुलाई आइतबार शक्ति र गृहलक्ष्मी ग्यासका केही सिलिण्डर वितरण गरिएको छ । ग्यास पाइन्छ भन्ने आशामा पटक–पटक नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्ने अनि निराश मुद्रा र थकित भएर रित्तो सिलिण्डरका साथमा आफ्नै घर फर्किनुपर्ने बाध्यता आइतबार भने धेरैले भोग्नुपरेन । पोखराको विभिन्न स्थानमा रहेका ग्यास विक्रेता (डिलर) हरु मार्फत आइतबार ७ हजार ९ सय १४ सिलिण्डर ग्यास वितरण गर्ने जानकारी शनिबार राति कास्की प्रशासनले सार्वजनिक गरेपछि शनिबार साँझदेखि आइबतार राति अबेरसम्म पनि ग्यासको प्रतिक्षा गर्दै लाइनमा बस्नेहरुको संख्या उल्लेख्य रह्यो । शनिबार बेलुका र आइतबार अपरान्हसम्म खाली सिलिण्डर लिएर बजारमा सर्वत्र घुमिरहेका सर्वसाधारण पनि पर्याप्त देखिन्थे ।
स्थानीय प्रशासनले आपूर्ति समितिको बैठक गरि ग्यास वितरणलाई व्यवस्थित बनाउने भनेपनि त्यो हुन सकेन । सर्वसाधारणलाई कुन कम्पनीको ग्यास कहाँ पाइन्छ र कति परिमाणमा वितरण हुँदैछ भन्ने जानकारी दिन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । ग्यास पाउने आशामा आफूसंग भएको जुनसुकै कम्पनीको सिलिण्डर बोकेर दिउसैदेखि लाइनमा उभिएका सर्वसाधारणलाई शनिबार राति करिब १० बजेतिर संचारमाध्यम मार्फत पोखराका २० वटा डिलरमार्फत शक्ति र गृहलक्ष्मीका मात्र ग्यास वितरण गर्ने जानकारी प्राप्त भएपछि लाइनमा बसेकाहरुमा खैलाबैला मच्चिएको थियो ।
 
डिलरहरुबाट शक्ति वा गृहलक्ष्मीमात्र वितरण गर्ने सूचना पाएपछि आफूले बोकेका सिलिण्डर लाइनमा राख्ने वा फर्काउने भन्ने अन्यौलकै बीचमा शनिबारको रात खुल्ला आकाशमुनि कटाएरै भएपनि  सर्वसाधारणहरु आइतबार मध्यान्ह सम्म पनि डिलरकोमा प्राप्त हुने ग्यास सिलिण्डरको खोजी गर्दै लाइनमा साट्न व्यस्त थिए । उनीहरुले सिलिण्डरका लागि आफन्त, साथीभाइ तथा अन्य सबै किसिमबाट खोजी गरेका थिए ।
कतिपय ठाउँमा लाइनमा बसेका सर्वसाधारणले आफ्नो सिलण्डर लाइनमा राख्दा ग्यास नपाउने भएपछि अर्को ठाउँको खोजी गर्दै रात र दिन कटाएका थिए । पोखराको रामबजारमा रहेको कोने गुरुङ स्टोरमा ३८२ वटा शक्ति ग्यासका सिलिण्डर वितरण गर्ने भनिएपनि त्यहाँ अधिकांश अन्य कम्पनीका सिलिण्डर हजारौंको संख्यामा राखिएका थिए ।  तर रात बित्दै जाँदा ती सिलिण्डर परिवर्तन गरि शक्ति ग्यास सिलिण्डरमात्र राखिएका थिए ।
 
प्रहरी, प्रशासन र स्थानीय सरोकारवालाको रोहवरमा ग्यास वितरण गर्ने भनि सिलिण्डर संख्या समेत निर्धारण गरिएको भएपनि सोही अनुसार वितरण नभएको सर्वासाधराणले गुनासो गरेका छन् । ओम आर स्टोर्समा तोकिएको संख्यामा सर्वसाधारणलाई ग्यास नदिइ केही प्रहरी र पहुँचवालालाई लाइनमा नराखी ग्यास दिएका कारण कतिपय सर्वसाधारण आक्रोशित बनेका थिए । ‘मैले शक्ति ग्यासका सिलिण्डर लाइनमा गन्दै जाँदा मेरो २ सय २७ मा परेको थियो तर राति र बिहान सिलिण्डर साट्ने नाममा केही सिलिण्डर थपिएको र प्रहरी र पहुँचवालाले पनि लाइनमा नबसी ग्यास लगेकोले अन्तिम मेरो अगाडि ३ वटा सिलिण्डर बाँकी रहँदा नै ग्यास सकिएको बताएर म फर्र्किएँ ।’–कोने गुरुङ स्टोरमा शनिबार राति र आइतबार दिनभर ग्यासको आशामा बसेकी एक महिलाले दुःखेसो पोखिन् । उनीजस्ता धेरै सर्वसाधारणले आशा विपरित ग्यास पाउन सकेनन् । स्थानीय प्रशासनले प्रभावकारी रुपमा ग्यास वितरण गर्न नसकेको र सर्वसाधारणलाई सूचना समेत दिन नसकेपछि यस्तो कष्ट धेरैले व्यहोरेका छन् । रामबजार नजिकै रहेको ओम आर ग्यास स्टोरमा सबैभन्दा धेरै ८१२ वटा शक्ति ग्यासका सिलिण्डर बाँड्ने भनिएपछि त्यहाँ पनि हजारौं लाइनमा बसेका थिए । तर दिउसो १ ट्रक सिलिण्डर वितरण गरेपछि थप सिलिण्डर नआउने हल्लाले व्यापकता पाएको थियो । त्यसपछि कतिपयले आप्mनो सिलिण्डर झिकेर बाहिरिएका थिए भने कतिपय लाइनमा प्रतिक्षा गर्दा आइतबार राति ११ बजेपछिमात्र ग्यास पाएको काजल एण्ड कुशुम ट्रेडर्सकी संचालिका अम्विका पराजुलीले गोल्डेन न्यूज दैनिकलाई बताइन ।
 
यसैगरी पोखराको सृजनाचोक स्थित अनिश ग्यास सप्लायर्समा पनि शनिबार बेलुका ८ बजेदेखि आइतबार दिउसो ५ बजेसम्म लाइनमा बसेरै भएपनि केहीलेमात्र ग्यास सिलिण्डर प्राप्त गरेका थिए । केही डिलरहरुले कम्पनीबाट आएका ट्रकबाट सिलिण्डर आफ्नो गोदाममा झारेरमात्र वितरण गरेको भएपनि अनिसमा भने लाइनमा बसेका सर्वसाधारणलाई ट्रकबाटै झिकेर सिधै ग्यास दिएका थिए । राति र बिहान मात्र नभइ आइतबार दिनभर पनि लाइनमा बसेका र सिलिण्डर बोक्दै विभिन्न डिलरकोमा धाउँदै गरेका हजारौं सर्वसाधारणले भने अझै ग्यास पाउन सकेका छैनन् । बाबा, एचपी, भानु, जानकी, श्रीकृष्ण, तारा लगायतका विभिन्न कम्पनीका सिलिण्डर भएकाहरु र तिनै सिलिण्डर बोकेर बजार डुल्नेहरुले भने जतिसुकै दुःख कष्ट भोगेपनि र समय वर्वाद गरेपनि ग्यास पाउन सकेनन् । सुनौलो एफएमका कार्यक्रम संयोजक सवु पाठकले सम्बन्धित डिलरकोमा राति नै सिलिण्डर पु¥याएर लाइनमा बसेको भएपनि बिहान भने आफूले ग्यास नपाउने निश्चित जस्तै भएपछि रित्तो सिलिण्डर लिएर घर फर्किएको बताइन ।
 
यस्तै आइतबार पोखरामा शक्ति र गृहलक्ष्मीका सिलिण्डरमात्र वितरण हुने भनिएपनि अन्य ग्यास डिलरमा लाइन बस्नेको कमि थिएन । पोखराको बुलौंदीमा रहेको एचपी ग्यास डिलरमा लाइन बस्ने सर्वसाधारण पनि हजारौं थिए भने रानीपौवामा शनिबार राति ग्यास पाइने ठाउँ भन्दै सयौं जना लाइनमा बसेको भएपनि ग्यास नपाउने जानकारी पाएपछि सबै जना अन्यत्र लागेका थिए । यसैगरी ग्यास डिलर वरिपरि रहेको स्थानीय घरधनीहरुले सबैभन्दा पहिला आफूहरुले ग्यास पाउनुपर्ने भन्दै आक्रोश समेत पोखेका थिए ।  


Post a Comment

 
Top