नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका र योगदान गरेको पुरानो पार्टी हो । राष्ट्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल मान्यता मानेर हालसम्म क्रियाशील यस पार्टीमा दुई पृथक विचारको बहस पहिलेदेखिकै हो । पार्टीका अध्यक्ष विश्वेश्वरप्रसाद कोइरालाका कतिपय तत्कालीन मान्यताका विपक्षमा पार्टीका लौहपुरुष गणेशमान सिंह देखिन्थे । सिंहले कोइरालाको तत्कालीन अवस्थामा राजा पक्षधर रुझानलाई मन पराएका थिएनन् । ०१५ सालको संविधानमा धारा १५५ जस्तो राजालाई आत्मघाती खालको विशेषाधिकार दिने प्रावधान नराख्न कोइरालालाई आफूले बेलैमा सुझाएको सिंह बताउँथे । राजासित मात्र निकटता बढाएर बहुदलीय प्रजातन्त्र प्राप्त हुन सक्तैन भन्ने मान्यतामा उनी अडिग देखिएका थिए । बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि राजासितको मिलन बिन्दुबाट सम्भव छैन भन्ने सोच सिंहको देखिन्थ्यो, तर यस विचारलाई उनले व्यवस्थित गरेनन् ।
यस खालका दृष्टिकोणको आधार पुष्पलालद्वारा प्रस्तावित न्यूनतम सहमतीय राजनीतिक मान्यताको परोक्ष प्रभाव रहेको हुन सक्छ । राजाले धोेका दिएको र दिन सक्ने स्पष्ट सम्भावनाका कारण पनि सिंहमा यस्तो धारणा जबर्जस्त बनेको हुनुपर्छ । पुष्पलालले ०१७ सालमा कालोकाण्ड घटित भएपछि विघटित संसद्को पुनःस्थापनाको माग राख्दै क्रमशः संयुक्त जनआन्दोलनमार्फत निरंकुश पञ्चायती शासन अन्त्यको मान्यता अगाडि सारेकाले पनि कांग्रेसभित्र विचारको तरंग उत्पन्न भएको देखिन्छ । यस मान्यताले दाहिने र देव्रे दुवै अतिवादलाई गम्भीर शिक्षा दिएकै हो । नेपाली राष्ट्रिय राजनीतिक वृत्तमा एकअर्का पार्टीका सकारात्मक पक्षबाट थोरधेर प्रभावित हुने कुरा एक सामान्य कुरा पनि हो ।
यसरी नेपाली कांग्रेसमा सहकार्य, संयुक्त अभियानमार्फत लोकतान्त्रिक आन्दोलन र राजकीय जिम्मेदारी अवलम्बन गर्ने दृष्टिकोण कहिले सुषुप्त र कहिले जागृत हुँदै आएको देखिन्छ । पार्टीमा उपरोक्त विचारको अन्तर ०४६ सालमा स्पष्ट देखापरेकै हो । गणेशमान सिंहको दृढ अडानका कारण संयुक्त जनआन्दोलनले सफलताको बिन्दुमा पुर्याउन अपूर्व सहयोग पुगेको हो । यसमा वाम मोर्चाका तर्फबाट जननेता मदन भण्डारीले खेलेको बहुआयामिक तथा प्रभावशाली भूमिका आन्दोलनको मियो थियो । तर आन्दोलन सफल हुनेबित्तिकै तत्कालीन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले आगामी दश वर्ष न्यूनतम सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भनी राखेको प्रस्ताव कांग्रेसको अनुदार पक्षले सोझै अस्वीकार गर्यो । भण्डारीले तत्कालीन संविधानमाथि राखेका अग्रगामी २७ बुँदे प्रस्ताव कांग्रेसका कारण अस्वीकृत हुन गयो र मुलुकको अग्रगमनमा धक्का लाग्यो । त्यसबेला वाम उग्रवादले मात्रात्मक उपलब्धिलाई सकारेको भए मुलुकको शक्ति सन्तुलनमा निकै अन्तर हुनेथियो । यसले मुलुकको अग्रगमनमा धेरै सकारात्मक प्रभाव पनि पाथ्र्यो । सहकार्यको फराकिलो परिस्थिति नबन्दा आन्दोलनले बढी उपलब्धि प्राप्त गर्न सकेन । यही कुरालाई मध्यनजर राखेर एमाले अध्यक्ष ओलीले पार्टी स्थापना दिवसका अवसरमा कम्युनिस्ट पार्टी र एमालेले पटकपटक राखेका मुलुकको अग्रगामी प्रस्तावित मान्यताहरू अस्वीकृत गर्दा मुलुकपछि परेको बताएका थिए । दूरदर्शी सोचका साथ अगाडि बढ्ने कुराबाट कुनै पनि पार्टी शिखरोन्मुख हुनसक्छ ।
त्यसैले नेपाली कांग्रेसले विगतको राजनीतिक विरासत जोगाउँदै मुलुकको अग्रगमनको मार्गप्रशस्त गर्ने कुरामा बहुतै ध्यान दिनुपर्छ । तर, कांग्रेस अनुदार प्रवृत्तिबाट जोगिन जरुरी देखिन्छ । कांग्रेसमा अहिले पनि दक्षिणपन्थ प्रभावी देखिन्छ । एक समय बहुविभाजन र त्यसको उग्रवादी रापतापका कारण कम्युनिस्टको कांग्रेस सित दूरी कायम रहेको अवस्था थियो । नेपाली कांग्रेसभित्रको अनुदार पक्ष राजनीतिक परिवर्तनमा संयुक्त आन्दोलन र अभियानमा रहे पनि उपलब्धिलाई संस्थागत गर्ने बेला छुट्टभिन्न हुने गरेकाले नेपालको अग्रगामी दिशामा सदा बाधा पुगेको पाइन्छ । फलतः कांग्रेस पार्टीमा वाम प्रजातान्त्रिक संयुक्त, सहकार्य र सहमतिको राजनीति गर्ने पक्षधर सिंहधार ०४६ पछि पार्टीको नेतृत्व पक्षबाट उपेक्षित हुन गयो । यही ०७२ सालमा पनि संविधान जारी गरेपछि पनि पूर्ववत सहकार्यको पूर्वभद्रसहमति तोडेर अनुदार पक्ष संविधान लागू गर्ने तथा हालको संगीन परिस्थितिमा रमिते भएर बस्न पुगेको छ । कांग्रेसभित्रको उदार पक्षले हिजोका दिनमा आफ्नो सही धार र मान्यतालाई र यसले पार्टी्भित्रको उदारवादी धारलाई व्यवस्थित बनाउन पनि सकेन । संसद्मा प्रमुख विपक्षमा रहेको पार्टी एमालेको निगरानीका कारण मुलुकमा ०४६ सालमा प्राप्त उपलब्धि सुरक्षित हुन सकेको हो । यही अनुकूल परिस्थितिलाई राम्ररी सदुपयोग गरेर नेकपा एमालेले नौ महिने सरकार बन्यो । यस सरकारले सीमित साधन स्रोतलाई पनि सदुपयोग गरेर आमजनताले अन्तर्हृदयबाट अनुभूत गर्ने गरी महत्त्वपूर्ण काम गर्यो र कतिपय दीर्घकालीन विकास निर्माणका योजना अघि सार्यो । यही सरकारका कारण नेपाली कम्युनिस्ट पार्टी र तिनका नेता कार्यकर्ताप्रति लगाइने गरेको अनेकौँ कपोलकल्पित तथा सफेदझुटहरू क्रमशः निमिट्यान्न हुन गएका हुन् । ठीक यही परिस्थितिमा नेपालमा वाम उग्रवादले टाउको उठाएको थियो । यसका एक नायक डा. बाबुराम भट्टराई अझै बहकिएर कथित वैकल्पिक विचारको खोजीमा भौँतारिरहेका छन्, तर अर्का नायक पुष्पकमल दाहाल राजनीतिक उचाइ नाप्न थाल्दै छन् । ठोस परिस्थितिको ठोस विश्लेषण भन्दै बहकिएर र बरालिएर रुम्जाटार गरेको प्रत्यक्ष देखेर र भोगेर पनि वैद्य र विप्लव नामका वाम उग्रवादी दुस्साहसवादी प्रवृत्ति रागेभिर ताकेर हिँडेका देखिन्छन् ।
अब वाम लफ्फाजी फलाकेका भरमा र कांग्रेसी डम्फु बजाएकै भरमा पार्टी उँभो लाग्नेवाला छैन । अहिले सूचना र सञ्चारको व्यापक सञ्जालबाट हरपल सुसूचित र सुशिक्षित नेपाली जनताले हरपार्टीका गतिविधिलाई नियालिरहेका छन् । तसर्थ, विगतजस्तै पिछडिएको मानसिकता राखेर होसियारीपूर्वक पार्टी र त्यसका नेता र कार्यकर्ताले राजनीतिक तथा राजकीय काम गर्न सकेनन् भने ती आमजनताबाट तिरष्कृत हुन कुनै आइतबार पर्खिनुपर्दैन । अब सिद्धान्तको फोस्रो फुइँ छाँटेर मात्र केही हुँदैन । सयथरी कुरा कथुर्नुभन्दा एक व्यवहार र काम गर्नुमा धेरै अन्तर हुन्छ । अहिले भारतीय मोदी सरकारले नेपालप्रति नाकाबन्दीका नाममा गरेका गरेका गैरराजनीतिक, कूटनीतिकविपरीत र छिमेकीको अति सामान्य धर्म विपरीत गरेका कामबाट आमनेपाली जनतामा स्वाधीनताको जागरण विस्तारित गरेको छ, तर यही विषयलाई पनि अझ घनीभूत गराउन एमालेलगायत बौद्धिक, सांस्कृतिक तथा सिर्जनात्मक संस्थाहरूको सशक्तता नदेखिनु भारी अचम्मको बात देखिन्छ । देशमा स्वाधीनता र सद्भाव दुवै एक साथ जगाउनुपर्ने बेला तराई मधेसमा सबै जमिन खाली गरिदिएर मोर्चा संगठनले कलात्मक हस्तक्षेप गर्न नसक्नु उदेकको कुरा हो । यस विषयमा आबालबनिता, युवा र प्रौढ आदि उमेर तथा चेतनास्तरलाई समेटेर रचनात्मक कामको कुनै योजना पनि नबनेको देख्दा तीनछक लागेको छ । शक्ति र सामथ्र्यको फुइँ छाँटेर मात्र हुँदैन, त्यो ऐनमौकामा प्रत्यक्ष हुनुपर्छ । यसो गरियो भने मुलुकको समसामयिक राजनीतिक परिस्थितिलाई पनि परोक्ष रूपमा अवगत गराउन पनि सकिन्छ । चरम जातीय संकीर्ण भावनाका कारण भड्किएका तराई र पहाडका मनमा मलमपट्टी लगाउन सकिन्छ । यसो गर्दा अहिलेको संकटपूर्ण अवस्थामा सहमतिको राजनीतिको औचित्य पनि पुष्टि हुन जान्छ । यसको प्रभाव नेपाली कांग्रेसभित्रको अनुदार पक्षमा पर्ने थियो ।
यस खालका हस्तक्षेपकारी रचनात्मक अभियानबाट अर्को पक्ष मा अवश्य प्रभाव पर्छ । नोक्सानी हुनबाट जोगिन सकिन्छ । विगत दशवर्षे सशस्त्र द्वन्द्वकालमा एमालेलगायत प्रमुख पार्टीले निर्ममतापूर्वक सघन सैद्धान्तिक बहस गरेको भए, त्यतिविधि नोक्सानी हुने नै थिएन । त्यस्तो पार्टी र नेतृत्वलाई सशक्त मान्नुपर्छ, जसले राजादेखि रंकसम्मलाई सही पथमा हिँडाउन सक्छ । कुनै पनि रङरोगनको प्रमुख राष्ट्रिय राजनीतिक शक्ति कमजोर हुँदा देश बलियो हुन सक्तैन । कम्तिमा नेपालको भूराजनीति अवस्थाले यो कुरा बताइरहेको छ । तर जातीय र क्षेत्रीय संकीर्ण चिन्तनका पार्टी बिथलोबाहेक केही भएको थिएन, छैन र हुनेछैन । नेपालको राजनीतिक परिवर्तन र अग्रगमनमा यस्ता कथित पार्टीको कहिल्यै भूमिका थिएन, छैन र हुने पनि छैन ।
दूरदर्शी सोचका साथ अगाडि बढ्ने कुराबाट कुनै पनि पार्टी शिखरोन्मुख हुनसक्छ । त्यसैले नेपाली कांग्रेसले विगतको राजनीतिक विरासत जोगाउँदै मुलुकको अग्रगमनको मार्गप्रशस्त गर्ने कुरामा बहुतै ध्यान दिनुपर्छ । तर, कांग्रेस अनुदार प्रवृत्तिबाट जोगिन जरुरी देखिन्छ । कांग्रेसमा अहिले पनि दक्षिणपन्थ प्रभावी देखिन्छ । एक समय बहुविभाजन र त्यसको उग्रवादी रापतापका कारण कम्युनिस्टको कांग्रेससित दूरी कायम रहेको अवस्था थियो । केही देशी र विदेशी शक्तिले पनि नेपालको क्लासिकल कम्युनिस्ट पार्टीप्रति नकारात्मक नजर राख्थे । यसको प्रभाव नेपाली राजनीतिमा पनि परेको थियो । यही कारण विश्वेश्वरप्रसाद कोइरालाले तत्कालीन अवस्थामा नेपाली कम्युनिष्टसित दूरी कायम राखे । तर यसलाई ढुंगामा लेखिएको अक्षर ठान्ने अनुदारवादी कांग्रेसको एउटा पार्टी धार नेपालको संविधान– ०७२ निर्माणका अन्तिम चरणदेखि अविचलित र असंयमित देखियो । संविधान जारी भएपछि पनि राष्ट्रिय प्रमुख पार्टीका बीच सहकार्य हुनुपर्ने कुरामा भाँजो उत्पन्न भयो । संविधान निर्माण गर्ने, जारी गर्ने र पूर्वसहमति अनुसार सहकार्यका साथ संविधान कार्यान्वयन गर्ने कुरामा नेपाली कांग्रेसका महामन्त्री कुष्णप्रसाद सिटौलाको अहं भूमिका स्पष्ट देखियो ।
सिटौलाका मान्यताका पक्षमा पदाधिकारीसहित धेरै केन्द्रीय नेता र स्थानीय नेता कार्यकर्ता रहे पनि रामचन्द्र पौडेल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, अर्जुन नरसिंह केसी, मीनेन्द्र रिजाल, बालकृष्ण खाँड लगायत नेताका कारण मुलुकको संगीन परिस्थितिमा सहकार्य तोडियो । कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो राजकीय प्रमुख नेतृत्वमा निर्मित तथा पारित संविधान कार्यान्वयन गर्ने विशिष्ट अवस्थामा नाटकीय रुपमा भद्र सहमति विपरीत सहकार्य तोड्नु संशयको विषय बन्यो । अब आगामी पार्टी महधिवेशनमा यस खालको अनुदार पक्ष हाबी हुन गयो भने कांग्रेस अवसानको मार्ग्तिर उन्मुख हुने निश्चित देखिन्छ । नत्र यस पार्टीका सैद्धान्तिक वैचारिक व्याख्याता नरहरि आचार्य, रचनात्मक क्षमताका कांग्रेसका प्रभावशाली नेताहरू भीष्मराज आङदेम्बे, सुजाता कोइराला, पम्फा भुसाल, धनराज गुरुङ, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे आदि जस्ता अनेक प्रतिभा रहेका छन् । एक समय गगन चुम्बी गगन थापा घैँटे बचाउ विचारका कारण धुमिल बनेका भए पनि उनी कमजोरी सच्याएर अगाडि बढ्ने क्षमताका नेता हुन् । मीन विश्वकर्मा भने आफ्नै पार्टीको पहल र नेतृत्वमा संविधान निर्माणपछि पनि सहमतिको राजनीतिक यात्राका पक्षधर देखिन्छन् ।
तर, उनले राजकीय कार्यकारी वा संवैधानिक कुन नेतृत्व कांग्रेसको भन्ने कुरा खुलाएनन् । कांग्रेसभित्रका कतिपय आहारिस लाग्दा दोस्रो र तेस्रो पुस्ताका नेता कार्यकर्ताको सैद्धान्तिक, सांगठनिक, सिर्जनात्मक नेतृत्वबाट मात्र कांग्रेस आरोहणको दिशामा लम्किने निश्चित छ, नत्र यस पार्टीको अवसानको यात्रालाई कसैले रोक्न सक्नेछैन । किनभने, संविधान निर्माण र पारित गर्ने दिशामा कुनै न कुनै रुपमा स्पष्ट समर्थन गर्ने पार्टीका बीच आगामी दिनमा राजनीतिक तीव्र प्रतिस्पर्धा हुनेछ ।
साभार ः रातोपाटी
साभार ः रातोपाटी
Post a Comment