0
झन्डै २१ वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व गर्दै आएका अध्यक्ष गणेश थापाले आर्थिक अनियमितता गरेको आरोपमा फुटबलको आधिकारिक अन्तर्राष्ट्रिय निकाय फिफाले १० वर्षसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध सहित उनलाई २१ लाख रुपैयाँ जरिवाना गराउने निर्णय पनि फिफाले गरेको छ । यसले गर्दा सधैँ विवादमा आइरहने र अन्तर्राष्ट्रिय प्रतियोगितामा देशलाई कुनै सफलता प्राप्त गराउन नसक्ने नेपाली फुटबलमा नयाँ तरंग थपिएको छ । यस अगाडि पनि नेपाली राष्ट्रिय फुटबल टोलीका क्याप्टेनसहित केही खेलाडी र प्रशिक्षकसमेत म्याच फिक्सिङको आरोपमा हिरासतमा बसेर जमानतमा छुटेका थिए । नेपाली फुटबलको इतिहासमा यी दुई घट्नाले भूकम्पीय तरंग नै छाडेका छन । २१ वर्षसम्म लगातार एन्फाको एकछत्र नेतृत्व गरेका गणेश थापा नेपाली फुटबल जगतमा धेरै पटक विवादमा आएर पनि बारम्बार उन्मुक्ति पाउँदै आएका थिए । हाल उनी ब्यवस्थापिका संसदको सदस्य छन् । थापाको नेतृत्वकालमा नेपाली फुटबलको स्तर धराशयी भएको छ । नेपाली फुटबलको स्तर सार्क मुलुकमै पुछारमा छ । नेपाली फुटबलको स्तर माथि आउन नसक्नुमा खेलाडी र प्रशिक्षक जति जिम्मेवार छन, नेतृत्वकर्ताका हैसियतमा थापा पनि त्यत्तिकै बढी जिम्मेवार छन् । पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका क्याप्टेनदेखि खेलाडी र प्रशिक्षकसमेत खेल मिलेमतोमा संलग्न भएको आरोपमा पक्राउ परेपछि एन्फा अध्यक्षका नाताले थापामाथि छानबिन हुनुपर्ने माग उठेको थियो । सीमित खेलाडीले मात्र चाहेर मिलेमतो हुनु त्यति सहज काम हुन सक्दैन । तर, उनीमाथि औँलो उठाउने साहस राज्यको सरोकारवाला निकायले गरेको देखिएन । एन्फाको आर्थिक क्रियाकलाप पारदर्शी नभएको, वैदेशिक सहायता आफूखुसी खर्च गरेको, रंगशालाको टिकट बिक्रीको रकम आम्दानीका रूपमा नदेखाएको लगायतका आरोपमा एन्फा उपाध्यक्ष र अन्य पदाधिकारीले थापाविरुद्ध उजुरी गरेपछि संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरी उनले झन्डै ५८ करोड अनियमितता गरेको भन्दै थप कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको थियो । कारवाहीको सिफारिशिका कारण उत्पस्न्न विवादका बीच थापा नेपाल सरकारबाटै मनोनीत भई संविधानसभा सदस्य बन्न सफल भए र छानविन प्रक्रिया नै हरायो । अहिले फिफाले थापालाई सन् २००९ र ०११ को फिफा कार्यसमिति निर्वाचनको सन्दर्भलाई लिएर एएफसी कंग्रेसमा आचारसंहिता विपरीत गलत क्रियाकलाप गरेको, आफ्नो परिवार र आफ्नो फाइदाका लागि अर्काे फुटबल संघका पदाधिकारीसँग रकम लिएको लगायतका कारण देखाएर कारबाही गरेको छ । स्वदेशमा उन्मुक्ति पाउँदै आएका थापा अहिले फुटबलको आधिकारिक सर्वोच्च निकायबाटै कारबाहीमा परेपछि उनले भ्रष्टाचार गरेको प्रमाणित भएको छ । अब स्वदेशमा पनि उनीमाथि थप छानबिन गर्नु पर्दछ र दोष अनुसारको कारवाहीको भागीदार बन्नै पर्दछ । त्यसका लागि सम्बन्धित निकायको ध्यान पुगोस ।

Post a Comment

 
Top