गोल्डेन न्यूज संवाददाता
कलाकार बासुदेव आलेको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि पोखरामा सुरु भएको छ । महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालेरीमा सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने छ । कलाकार आलेको यो दोस्रो एकल चित्रकला प्रदर्शनी हो । यसअघि गतवर्ष उनको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो । ‘अमूर्त यथार्थवाद’ नाम दिइएको सो प्रदर्शनीमा आलेका २० बढी चित्रहरू राखिएका छन् । ती सबै चित्रहरू तेल रङले पोतिएका छन् । अधिकाँश चित्रहरू अन्र्तराष्ट्रिय ख्याति प्राप्त कलाकारहरूसँग सम्बन्धित रहेका छन् । ‘चित्रकलामा १५औं शताब्दी देखिका चर्चित कलाकारलाई कलात्मक शैलीमा उतारिएको छ,’ प्रदर्शनीको अवलोकनपछि पोखरेली कलाकार बुद्धि गुरुङले भने । प्रदर्शनीमा राखिएका चित्रहरू बिक्रि नगरिने कलाकार आलेले बताए । ‘आफ्नो कला पोखरेलीमा प्रस्तुत गर्नका लागि मात्र प्रदर्शनी गरेको हुँ,’ उनले भने । तनहुँको दुलेगौंडामा जन्मिएका आले हाल बेलायतमा बस्दै आएका छन् । उनले बेलायतको व्यस्त जीवन शैलीका कारण रातिमा आफ्नो सुत्ने समय कटाएर चित्र बनाउने गरेको सुनाए । बेलायतमा बसे पनि उनका कलामा प्रशस्त नेपालीपन भेटिएको फिल्मी कलाकार गुञ्ज गुरुङले बताए ।
Post a Comment