गोल्डेन न्यूज संवाददाता
लालुपाते टोल विकास संस्था पोखरा–६, बैदामले टोलमा ध्वनि प्रदुषण र असामाजिक गतिविधि बढेको भन्दै त्यसलाई रोक्न माग गरेको छ। संस्थाले सोमबार ध्वनि प्रदुषण र असामाजिक गतिविधि रोक्न माग गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णराज रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ। संस्थाका अध्यक्ष मिरा अधिकारी, सल्लाहकार गोविन्दराज पहारी, उपाध्यक्ष दीपक त्रिपाठी, निवर्तमान अध्यक्ष खिमबहादुर ढकाल, सचिव स्थानेश्वर अधिकारीलगायतले रेग्मीलाई ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमा टोलमा सञ्चालित केही डान्सबारले राति अवेरसम्म आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको र साउण्ड प्रुफ नगर्दा टोलवासी, पर्यटकलाई पनि नकारात्मक असर परेको उल्लेख छ। डान्सबारहरूले विगतमा पटक–पटक साउण्ड प्रुफ बनाउने र असामाजिक गतिविधि बन्द गर्ने सम्झौता गरी समय तोकिए पनि कार्यान्वयन हुन नसक्दा आफूहरू समस्यामा परेको अध्यक्ष अधिकारीले बताइन्।
यी विषयमा पटक–पटक सरोकारवाला निकायको ध्यानकर्षण गराउँदा पनि समस्या समाधान नभएको संस्थाका सल्लाहकार गोविन्दराज पहारीले बताए । राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजकसमेत रहेका पहारीले यस्ता क्रियाकलापले पर्यटकको आवागमन र समाजको अमनचयनमा पनि असर पर्ने उल्लेख गरे। ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले समस्या समाधानका लागि आफूले पहल गर्ने बताए। उनले चाडै नै कार्यालयले साउण्ड प्रुफ बनाएरमात्र बार, रेष्टुरेन्टहरू सञ्चालन गर्न निर्देशन दिने बताएका थिए।
Post a Comment