0
गोल्डेन न्यूज संवाददाता
पोखरा २३ कार्तिक ।
लायन्स क्लब अफ पोखरा सेती गण्डकीको दाजुभाई क्लब लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी बीच सामूहिक भाईटिका कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सेतीगण्डकीका दिदिबहिनीहरुले गोल्डेन चौतारीका दाजुभाईहरुलाई भाईटिका र सयपत्र फूलका माला लगाईदिएका थिए । साँस्कृतिक पर्वका रुपमा परिचित दीपावलीले दाजुभाई तथा दिदीबहिनीहरु बीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासका साथ भाईटिका कार्यक्रम गरिएको क्लबकी अध्यक्ष मिलन थापाले बताए । उनले भाईटिकाको दिन सबै आ–आफ्नो घरमा ब्यस्त हुने हुँदा तिहारको शुरुमै कार्यक्रम गरिएको जानकारी गराइन । याथै यस्ता कार्यक्रमले लायन्स क्लबका सदस्यहरु बीच भावानात्मक  सम्बन्ध थप बिस्तार भई संस्कार र संस्कृतिको जगेर्नामा समेत टेवा पुग्ने अध्यक्ष थापाको विश्वास छ ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका महिला सदस्यहरुले गोल्डेन चौतारीका दाजुभाईहरुलाई टिका, माला तथा सगुन दिएका थिए । कार्यक्रममा बोल्दै लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी वान नेपालका गर्भनर धु्रबबहादुर थापाले भाईटीका कार्यक्रम उदाहरणीय भएको भन्दै तिहारको महत्वलाई कार्यक्रमले थप उजागार गरेको स्पष्ट पारे । उनले तिहार दाजुभाई तथा दिदीबहिनीहरुको सम्बन्धलाई दिगो र पवित्र बनाई राख्ने महत्वपूर्ण पर्व भएकोले यस पर्बले सबैलाई सामाजिक उत्तरदायित्व बहन गर्ने प्रेरणा प्रदान गरोस भन्दै शुभकामना प्रकट गरे ।  डिष्ट्रिक्ट एडभाइजर विमला श्रेष्ठले रगतको नाता भन्दा भावनाको नाता अझ गाढा हुन्छ भन्ने कुरा कार्यक्रमले प्रमाणित गरेको भन्दै आयोजकलाई बधाई एवं आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिइन । कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष प्रमिला श्रेष्ठ, कार्यक्रम संयोजक देवकुमारी हिराचन, पिएमसिसि पे्रमबहादुर श्रेष्ठ, दिपक श्रेष्ठ, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका अध्यक्ष राजेश्वर आचार्य लगायतले तिहार र भाइटीकाको महत्वबारे आ–आफ्ना भनाइ राखेका थिए । लायन बर्ष १३–१४मा तत्कालिन अध्यक्ष प्रीति श्रेष्ठको पालादेखि भाईटीका कार्यक्रम शुरु भएको हो । पोखरामा पर्यटकीय क्षेत्र लेकसाईडमा पनि पर्यटकहरुका लागि भाईटिकाकै दिन बिभिन्न पर्यटकीय संस्थाहरुले भाईटिका कार्यक्रम गर्दै आएका छन् । क्लबका अध्यक्ष मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक देवकुमारी हिराचनले स्वागत तथा सचिब कल्पना थापाले सञ्चालन गरेकी थिइन ।

Post a Comment

 
Top