0
गोल्डेन न्यूज संवाददाता
मुडिकुवा गाविस–३ अम्बोटका ३२ वर्षीय अशोक कुँवरले जिल्लामै पहिलोपटक अनारको व्यावासायिक खेती सुरु गरेका छन्। रामेछापबाट प्रति बिरुवा रु १०० मा खरिद गरेर  उनले आफ्नोबारीमा अनारखेती सुरु गरेका हुन्। कुँवरले अहिले कोदो र मकै उत्पादन हुने १५ रोपनी जमिनमा अनारका ४५० बिरुवा रोपेका छन्। “अहिले अनारका बिरुवा रोपेको जमिनमा १५ मुरी मात्र कोदो उत्पादन हुने गथ्र्यो” उनले भने। थप बिरुवा लगाउनका लागि अनारको छुट्टै नर्सरीसमेत स्थापना गरेको कुँवरले बताए। आफू शिक्षक पेसामा भए पनि बाँकी रहेको समय अनारखेतीमा खर्च गर्ने गरेको उनी बताउछन्। अहिलेसम्म रु चार लाख लगानी गरिसकेको र दुई वर्ष अघि लगाएका बिरुवा अहिले हुर्कँदो अवस्थामा रहेको उनले बताए। दुई वर्षपछि फल दिनेमा उनी ढुक्क छन्।  एउटा बोटले सामान्यतया ५० देखि १५० किलोसम्म फल दिने कुँवरको भनाइ छ। “वार्षिक रु १० लाख कमाई हुने अनुमान छ” कुँवरले भने। अहिले बजारमा अनार प्रतिकिलो रु ३०० मा पाइन्छ। उनले मृदुला जातको अनारका बिरुवा लगाएका छन्। सिँचाइका लागि उनले प्लास्टिक पोखरीसमेत निर्माण गरेका छन्।



Post a Comment

 
Top